ललितपुर मेयर कपमा एपिएफको ह्याट्रिक

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

कप्तान सीता रानामगरको उत्कृष्ट प्रदर्शनमा एपिएफले फाइनलमा कोसीलाई ५४ रनले हरायो 

कप्तान सीता रानामगरको लगातार उत्कृष्ट प्रदर्शनसँगै एपिएफ क्लबले ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिमाथि ह्याट्रिक गरेको छ । त्रिवि मैदानमा बिहीबार भएको फाइनलमा एपिएफले कोसी प्रदेशलाई ५४ रनले पराजित गर्यो । एपिएफ अपराजित रहँदै च्याम्पियन भएको हो । एपिएफलाई उपाधि दिलाउने क्रममा कप्तान सीताले लगातार चौथो खेलमा प्लेयर अफ दी म्याच जितिन् । उनी नै प्रतियोगिताको प्लेयर अफ दी सिरिज घोषित भइन् । एपिएफले अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई समान आठ विकेटले हराएको थियो । जितसँगै एपिएफले दुई लाख र उपविजेता कोसीले एक लाख रुपैयाँ प्राप्त गरेका छन् । 

कीर्तिमानी शतकीय साझेदारी
पहिलो ब्याटिङ गरेको एपिएफले २० ओभरमा एक विकेट गुमाएर एक सय ५४ रनको विशाल योगफल बनायो । प्रत्युत्तरमा कोसीले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय रन जोडेको थियो । एपिएफको उत्कृष्ट जितमा कप्तान सीता र इन्दु बर्माले दोस्रो विकेटका लागि कीर्तिमानी शतकीय साझेदारी गरेका थिए । दुवै खेलाडीबीचको शतकीय साझेदारीका कारण एपिएफले ललितपुर मेयर कपमा सर्वाधिक योगफल बनायो । सन् २०२१ को पहिलो संस्करणमा ललितपुर–११ ले लुम्बिनी प्रदेशविरुद्ध एक सय ४४ रन बनाएको थियो ।

सीता र इन्दुले दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गर्न सफल भए । एपिएफको पहिलो विकेट १८ रनमा झरेको थियो । सीता र इन्दुले एपिएफका लागि अन्तिमसम्म नटआउट योगदान दिए । सीताले ६८ बलमा नौ चौका र दुई छक्का प्रहार गरी ७९ रन बनाइन् । इन्दुले ४१ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ५१ रन जोडिन् । प्रतियोगिताको एकै इनिङ्समा व्यक्तिगत उच्च रन सीताको नाममा रह्यो । 

पहिलो संस्करणमा ललितपुरकी सुमन खतिवडाले लुम्बिनी प्रदेशविरुद्ध ७७ रन जोडेकी थिइन् । घरेलु महिला टी–२० खेलमा सीता र इन्दुले कुनै पनि विकेटका लागि पहिलोपटक उच्च साझेदारी गर्न सफल भए । पहिलो संस्करणमै ललितपुरकी सुमन र अस्मिना कर्माचार्यले लुम्बिनीविरुद्ध छैटौँ विकेटका लागि एक सय आठ रनको साझेदारी गरेका थिए ।

एपिएफकी कप्तान सीता प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएकी छिन् । सीताले पाँच खेलमा दुई अर्धशतकसहित दुई सय १४ रन बनाउनुका साथै आठ विकेट लिएकी थिइन् । सीताले ३० हजार नगद पुरस्कार पाइन् । कोसीकी कप्तान रुबिना उत्कृष्ट ब्याट्सम्यान र कोसीकै निशा शाह उत्कृष्ट बलर घोषित भएका छन् । 

See More On

सुझावित समाचार