आप्रवासी कानुनमा कडाइ गर्दै बेलायत

सोमबार, २२ फागुन, २०७९
डिजिटल संस्करण

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीलाई चेतावनी दिँदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताएका छन्। 

बेलायतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीको निरन्तर दबाब सामना गरिरहेको वेला प्रधानमन्त्री सुनकले आइतबार यस्तो कडा टिप्पणी गरेका हुन्। 

सुनक सरकारले यस हप्ताको अन्त्यमा अवैध अध्यागमनलाई कडाइ गर्ने कानुनलाई अगाडि बढाउने अपेक्षा गरिएको  फक्स न्युजले उल्लेख गरेको छ।

‘अवैध आप्रवासन बेलायती करदाताका लागि उचित छैन, कानुनी रूपमा यहाँ आउनेहरूका लागि यो उचित छैन र अपराधी गिरोहलाई उनीहरूको अनैतिक गतिविधि जारी राख्न दिनु उचित होइन। म  अवैध आप्रवासीका डुंगाहरू रोक्ने मेरो वाचा पूरा गर्न कटिबद्ध छु, ’ उनले भनेका छन्। 
 
बेलायतमा गैरकानुनी आप्रवासीलाई सीमा पार गरेपछि त्यहाँ शरण लिनका लागि दाबी गर्न अनुमति दिने कानुन छ। सामान्यतया, आप्रवासीलाई उनीहरूको मुद्दा चलिरहेको वेलामा बस्न अनुमति दिइन्छ, तर नयाँ कानुनले त्यस्ता आप्रवासीलाई शरण दाबी गर्नबाट रोक्ने बताइएको छ। 
 
लामो समयदेखि फ्रान्सबाट जोखिमपूर्ण बाटो भएर बेलायत पुग्ने शरणार्थीको संख्या बढ्दै गएको छ।

सुझावित समाचार