नियमित योग गर्दा शरीर न्यानो हुन्छ । रोगप्रतिरोधी क्षमता बढ्छ र भाइरसले आक्रमण गर्न सक्दैनन् । जाडोमा रक्तसञ्चार पनि कम हुन थाल्छ र पुराना चोटहरू फेरि बल्झन सक्छन् । यदि तपाईं जाडोमा फिट र स्मार्ट रहन चाहनुहुन्छ भने योगलाई नियमित तालिकामा समावेश गर्नुपर्छ । तपाईंले दैनिक ३० मिनेट मात्रै योग गर्नुभयो भने पनि शरीरमा ताजगी आउनेछ । त्यस्तै, तौल नियन्त्रण हुनेछ ।
फोक्सो स्वस्थ राख्छ
बढ्दो प्रदूषण र धुलोधुवाँका कारण फोक्सो कमजोर भइरहेको हुन्छ । फोक्सोलाई स्वस्थ राख्न नियमित व्यायाम आवश्यक हुन्छ । तर, जाडो मौसममा बाहिर मर्निङ वाक निस्कन वा जिम सेन्टर जान पनि धेरैलाई अप्ठेरो भइरहेको हुन्छ । अर्कोतर्फ, सबेरै बाहिर निस्कँदा उल्टै चिसोले असर गर्न सक्छ । तपाईंले घरमै योग गर्न सक्नुहुन्छ । यस्तो गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ र फोक्सो पनि राम्ररी फैलन पाउँछ । यसले तपाईंको शरीरलाई आवश्यक ऊर्जा पनि प्रदान गर्छ । तपाईंले भुजंगासन, त्रिकोणासन, नौकासान, गोमुखासन, अर्धमत्स्येन्द्रासनलगायत योगाभ्यास र नाडीशोधन (अनुलोम विलोम) प्राणायामले फोक्सो स्वस्थ राख्न सहयोग गर्छ ।
छाला चम्किलो हुन्छ
जाडोमा नुनको कमीका कारण छाला सुक्खा हुन थाल्छ । योगले शरीरमा रक्तसञ्चार सुधारेर कोषिकाहरूलाई आवश्यक पर्ने पोषक तत्व प्रदान गर्न सहयोग गर्छ र शरीरका विकारहरूलाई बाहिर निकाल्छ । यसले गर्दा छाला स्वस्थ रहन्छ । धनुरासन, हलासन, अधोमुख श्वानासन, उत्तानासन, सर्वांगासन,त्रिकोणासन, शवासनलगायत योगाभ्यासले छालालाई चम्किलो बनाउँछन् ।
हाडजोर्नी दुखाइ कम गर्छ
जाडोमा रक्तसञ्चार राम्ररी हुन नपाउँदा शरीरमा तापक्रम कम भइरहेको हुन्छ । यसकारण हाडजोर्नी तथा मांसपेशी दुख्ने समस्या देखिन्छ । योगले कोषिकाहरूमा रक्तसञ्चार बढाउँछ र शरीरलाई तातो राख्छ । विभिन्न योगासनको अभ्यास गर्दा शरीर लचकदार भएर जान्छ । तपाईंले आफूलाई हलुंगो महसुस गर्नुहुनेछ । काममा सक्रियता बढ्नेछ ।
तनावबाट मुक्ति
जाडोमा मौसम धुम्म हुँदा मानिसमा उदासीपन बढिरहेको हुन्छ । मुड बिग्रने, अल्छी लाग्नेलगायत विभिन्न समस्या देखिन्छन् । यसलाई सिजनल अफेक्टिभ डिसअर्डर वा विन्टर डिप्रेसन पनि भनिन्छ । मस्तिष्कको ग्रन्थिले मेलाटोनिन नामक हर्मोन बनाउने काममा कमी हुँदा यस्तो समस्या देखिन्छ । योग वा केही समय ध्यान गर्दा यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।
तौल नियन्त्रण
अल्छीपनका कारण अधिकांश मानिसले यस समय व्यायाम गर्न छाडेका हुन्छन् । जसकारण, तौल बढेर जान्छ । अन्य समयमा व्यायामका लागि जिम जानेहरूले पनि यस समय घरमै योग गर्नु राम्रो हुन्छ । पेट घटाउनका लागि कपालभाँती, चक्की चालनासन, बालासन, धनुरासन, चक्रासन, पश्चिमोत्तानासनलगायत योगाभ्यास गर्न सकिन्छ ।