साढे ५२ लाख पेस्की लिएर ठेकेदार एक वर्षदेखि बेपत्ता

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण

खार्पु–चुवाँखोला नदीमा पक्की पुल निर्माणका  लागि स्वच्छन्द माउन्ट पुमरी जेबी नुवाकोटसँग हिल्सा–सिमकोट सडक योजनाले ०७८ साल असोज १४ सम्झौता गरेको थियो।  

उक्त सम्झौतामा ०८० चैत ३० गते मोटर गुड्ने  पक्की पुलको निर्माण कार्य सम्पन्न हुने भनिएको छ। तर,  एक वर्ष बितिसक्दा पनि यो नदीमा मोटर गुड्ने पक्की पुल त के पुल निर्माणको कामसमेत सुरु हुन सकेको छैन। 

उल्टै ठेकेदारलाई काम सुरु गर्न भन्दै साढे ५२ लाख पेस्की दिएर स्वच्छन्द माउन्ट पुमरी जेबी नुवाकोटका  प्रतिनिधि ठेकेदार हिमाल अधिकारी बेत्तपा छन्।

११ करोड ८५ लाख लागतमा निर्माण हुने खार्पु–चुवाँखोला पुल हिल्सा–सिमकोट सडक योजना हुम्ला र स्वच्छन्द माउन्ट पुमरी जेबीका प्रतिनिधि अधिकारीले पुल निर्माण कार्य अलपत्र पारेका छन्।  

खार्पु–चुवाँखोला पक्की पुल निर्माणको जिम्मा पाएका ठेकेदार अधिकारीले नयाँ पत्रिकासँग भने, ‘माटोको सोयल टेस्ट भइसक्यो। यसको रिपोर्ट एक साताभित्र आउँछ। फलामे कामको अडर दिइसकेका छौँ।  अब काम सुरु हुन्छ।’ 

सम्झौता भएको वर्ष दिन बितिसक्दा पनि हिल्सा–सिमकोट सडक योजना कार्यालय बेखबर छ।  कार्यालयले ठेकेदारलाई ताकेता नदिएपछि पक्की पुल निर्माण कार्य अलपत्र अवस्थामा छ। कार्यालय प्रमुख वीरेन्द्र यादव जिल्ला नबस्दा मुख्य समस्या भएको स्थानीयको  गुनासो छ।  

दसैँअगाडि सोयल टेस्ट र सर्भे भइसकेको हिल्सा–सिमकोट सडक योजना हुम्लाका सूचना अधिकारी इन्जिनियर  नीरज राजवंशीले जानकारी दिए। उनले भने, ‘रिपोर्ट पठाएको छ। ठेकेदारका कारण अहिले ढिलो भएको छ।’ 
  
तस्बिर : नरजन तामाङ/नयाँ पत्रिका 

सुझावित समाचार