कांग्रेसले गठबन्धनमा धेरै जोड गर्‍यो, दुर्भाग्यवश प्रचण्डजीले तोडेर जानुभयो

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण
कांग्रेसले गठबन्धनमा धेरै जोड गर्‍यो, दुर्भाग्यवश प्रचण्डजीले तोडेर जानुभयो

डा. शेखर कोइराला

अन्तर्वार्ता

कांग्रेसको हातबाट सरकारको नेतृत्व फुत्कियो । पहिलो पार्टी प्रतिपक्षमा बस्ने अवस्था आयो । सरकार गठनमा आएको फेरबदललाई कसरी हेर्नुभएको छ ?
मैले त चुनावअघि नै पटकपटक भन्दै आएको हो, निर्वाचनपछि गठबन्धन गरौँ भनेर । हाम्रो सिद्धान्त, विचार कम्युुनिस्टसँग नमिल्ने भएकाले त्यसो भनेको थिएँ । तर, गठबन्धन गरेर जाँदा सिट पनि धेरै ल्याउने र कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भन्ने अधिकांश साथीको धारणाअनुसार नै पार्टीले निर्णय गरेपछि हामी पनि मानेर हिँड्यौँ । दुर्भाग्यवश आज प्रचण्डजीले कांग्रेसलाई धोका दिएर गठबन्धन तोडेर जानुभयो । प्रचण्डजीलाई केको हतारो थियो, भोलि इतिहासमा लेखिएला । अब कांग्रेसले यसलाई मानसपटलमा राखेर आफूलाई मजबुद बनाएर आफ्नै खुट्टामा उभिनुको विकल्प छैन । कसैको बैसाखी टेकेर, कसैको सहारा लिएर गठबन्धन गरेर निर्वाचनमा जानुहुँदैन । 

यसलाई प्रचण्डको धोका मात्रै मान्ने कि कांग्रेस नेतृत्वको असफलता पनि ?
प्रचण्डजी र शेरबहादुरजीबीच के छलफल भयो, हामीलाई थाहा हुने कुरा भएन । पार्टीमा पनि यसबारे छलफल भएको थिएन । कांग्रेस कार्यसम्पादन समिति बैठकमा पहिलो पार्टी भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भनेका थियौँ । यसमा कांग्रेसका वरिष्ठ साथीहरू बसेर छलफल पनि गर्नुभयो होला । सभापतिजीले पनि छलफलका लागि जिम्मा दिनुभयो होला । उहाँहरूले के गर्नुभयो अहिले नै थाहा हुने कुरा भएन, केही दिनमा बाहिर आउला । पार्टीको केन्द्रीय समितिमा पनि यसबारे छलफल हुनेछ । यसमा हामीहरूको पनि कमजोरी नभएको होइन, तर प्रचण्डजीले गलत गर्नुभयो । त्यसमा कुनै दुईमत छैन ।

कसरी भत्कियो गठबन्धन नेतृत्वमा सरकार बन्ने सम्भावना ?
कांग्रेसका सबै साथीले भेट्न जाँदा प्रचण्डजीले पहिला प्रधानमन्त्री म नै लिन्छु भनिरहनुभएको थियो । त्यसलाई हाम्रा साथीहरूले सिरियस्ली लिएनन् कि भन्ने प्रश्न ममा छ । म संवाद गर्ने टिममा नभएकाले मलाई यसबारे जानकारी छैन । उहाँले पहिलेदेखि नै प्रधानमन्त्री पहिला म नै लिन्छु भनिरहनुभएको थियो । उहाँहरूबीचमा त्यस्तो केही सहमति थियो–थिएन मलाई थाहा भएन । राजनीतिमा लिखित हुँदैमा त्यसले अर्थ राख्दैन । राजनीति नैतिकता, संस्कार र विश्वासमा हुने कुरा हो । विश्वास नै गुमाइसकेपछि के लाग्यो र ? पार्टीभित्रको पनि कमजोरी छ, हामीले नसक्नु पनि त कमजोरी हो । हामीले त कार्यसम्पादन समिति बैठक बसेर कांग्रेस नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो । नेतृत्वलाई मात्रै पनि दोष दिने कुरा छैन । नेतृत्वबाहेकका त्यो टिममा रहेका साथीहरू पनि यसको जिम्मेवार हुनुपर्छ । उहाँहरूले पनि त गर्न सक्नुभएन । 

पहिलो कार्यकाल प्रधानमन्त्री र राष्ट्रपति दुवै छाड्न नहुने पार्टीभित्रको दबाबले अन्ततः सबै गुमाएको भन्ने सत्य हो ? 
यो पाँच वर्षमा हामीले सेरेमोनियल राष्ट्रपति भन्यौँ, तर संवैधानिक राष्ट्रपति अर्थात् संविधानभित्रको राष्ट्रपति हो । तर, कतिपय अवस्थामा राष्ट्रपतिले संविधानविपरीतका कामहरू गर्नुभयो । त्यसैले अहिले राष्ट्रपतिको पद महत्वपूर्ण छ भन्ने स्विकारेका छौँ । सभामुख पनि त्यत्तिकै महत्वपूर्ण छ । प्रधानमन्त्री त कार्यकारी पद हो । कांग्रेसका अधिकांश साथीको भनाइ प्रधानमन्त्री र राष्ट्रपति लिनुपर्छ भन्ने नै थियो । तर, हामीले माओवादीलाई राष्ट्रपति लिनुहोस्, प्रधानमन्त्री हामीलाई छाड्नुहोस् भनेको भए पनि प्रचण्डजीले नमान्ने अवस्था थियो । त्यो तपाईंहरूले पनि देख्नुभयो । उहाँले प्रधानमन्त्री नै खोज्नुभएको थियो । कांग्रेसले प्रधानमन्त्री माओवादीलाई छाडेर गठबन्धन जोगाउन सक्थ्यो कि भन्ने कुरा पनि नचलेको होइन । तर, मूर्तरूपमा काम हुन सकेन । तर, यो जे भएको छ, ठीक भएको छ । जे हुँदै छ ठीक हुँदै छ भन्ने गीताको श्लोकजस्तो भएको छ । कांग्रेस कमजोर छैन, संगठनलाई बलियो बनाइयो भने पाँच वर्ष भनेको राजनीतिमा कुनै ठूलो अवधि होइन । 

नेतृत्वको राजीनामा र विशेष महाधिवेशनको आवाज पनि उठ्न थालेको छ, यसको समीक्षा हुन्छ ? के गर्नुहुन्छ ?
समीक्षा गर्छौँ । आवाज नउठाउने भन्ने हुँदैन । यसमा हामीले गम्भीर ढंगले समीक्षा गर्न किन जरुरी छ भने हामीले सिद्धान्त नमिल्ने पार्टीहरूसँग पनि गठबन्धन गर्दै जाने र सिट छाड्दै जाने हो भने कांग्रेस संगठन र वैचारिक रूपमा पनि कमजोर हुन्छ । राजीनामा र विशेष महाधिवेशनको विषयमा म अहिले केही पनि बोल्दिनँ ।

अब प्रतिपक्षमा पुगेको कांग्रेसको राजनीति के हुन्छ ?

कांग्रेस संसद्मा पहिलो पार्टी छ । हामी गलत कुराविरुद्ध संसद् र सडकमा आवाज उठाउँछौँ ।

पहिलो पार्टीले त जनमतको आधारमा पनि सरकारको नेतृत्व गर्नुपर्ने थियो । गठबन्धन नमिलेको अवस्थामा एमालेसँगै मिलेर भए पनि सरकार बनाउने प्रयत्न गर्नुपर्थेन र ?
यो विषयमा पनि कुरा त भएको होला । हामीले पनि एमालेका साथीहरू र शीर्ष नेताहरूसँग छलफल गरेका हाँै । गठबन्धनलाई नै धेरै जोड गर्नु हाम्रो कमजोरी भयो । गठबन्धनमै जोड गर्नु स्वाभाविक पनि हो, तर केही कुरा प्रचण्डजीले स्वीकार गर्नुभएन । गठबन्धनमा तलमाथि भए पनि तोडेरै अर्को पार्टीसँग सरकार बनाउन लाग्नुहुन्छ भनेर हाम्रा साथीहरूले सोच्नुभएको थिएन होला । तर, मलाई भने असम्भव लागेको थिएन । यो हुन सक्छ भन्नेमा मेरो ध्यान गएको थियो । नेतृत्वसँग यस विषयमा मैले कुराकानी पनि गरेको हो । 

गठबन्धन भत्किँदा कांग्रेसलाई राजनीतिक रूपमा के हानि र के फाइदा भयो ? 
साथीहरूलाई लागिरहेको होला– सरकार नबन्दा हामीले सबै कुरा गुमायौँ । साथीहरूलाई प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, संवैधानिक निकायका पदाधिकारी, मुख्यमन्त्री गुमायौँ भन्ने लागेको होला । तर, पाँच वर्षअघिको कांग्रेसलाई हेरौँ न, केही पनि थिएन, तर कांग्रेस त बाँचेकै थियो त । हाम्रो संगठन बाँचेको थियो, सिद्धान्त थियो । राष्ट्रियता, प्रजातन्त्र, समाजवादका सवाललाई हामीले जनतामा लिएर जान सक्नुपर्छ । त्यसबाहेक पनि दण्डहीनता बढेको छ । सुशासन, भ्रष्टाचारका कुरालाई हामीले जनतामा लिएर जानुपर्छ । यसरी जान सक्याँै भने पाँच वर्ष भनेको राजनीतिक पार्टीका लागि धेरै होइन । साथीहरू आत्तिहाल्नुपर्ने अवस्था पनि छैन । सरकारको गुण र दोषका आधारमा निरन्तर सदन र सरकारमा खबरदारी गर्यौँ र जनतालाई बुझ्न सक्यौँ भने कांग्रेस मर्दैन । सधैँ कांग्रेसको भविष्य छ । कांग्रेस पहिला पनि धेरैपटक प्रतिपक्षमा बसेको छ । तर, संगठन बलियो बनाएर जितेकै थियौँ, बाँचेकै थियौँ ।

सुझावित समाचार