फिटनेस
दैनिक जिम सेन्टर जान्छु । समय मिलेसम्म चार घन्टासम्म जिममा बिताउँछु । जिम गर्न थालेको १५ वर्ष भइसक्यो । शारीरिक रूपमा फिट हुन, खाना पचाउन र राम्रो निद्राका लागि पनि जिमले सहयोग पुर्याउँछ । साथै, जिमले मांसपेशी बलियो र तन्दुरुस्त राख्न सहयोग गर्छ ।
तर, एक्सरसाइजका लागि जिम सेन्टर नै जानुपर्छ भन्ने चाहिँ होइन । तपाईंसँग जिम जाने समय छैन भने घरमै पनि वर्कआउट गर्न सक्नुहुन्छ । योगा पनि गर्न सकिन्छ । एक्सरसाइजले मस्तिष्क र शरीरलाई सन्तुलनमा राख्ने भएकाले कुनै न कुनै रूपमा तपाईं सक्रिय हुन भने जरुरी छ ।
अर्को धेरैमा जिम गएपछि आफैँ शरीर बन्छ भन्ने भ्रम पनि हुन्छ, जो गलत हो । शरीरलाई आकर्षक बनाउन जिमको भूमिका जति हुन्छ, त्यति नै सन्तुलित निद्रा र भोजनको छ । तपाईंले समयमै उठ्ने र सुत्ने तथा सन्तुलित भोजन गर्ने बानी बसाल्नुपर्छ । अर्थात्, अनुशासनमा बस्नुपर्छ ।
हरेक मिठो खानेकुरा स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । त्यसकारण, मिठोभन्दा पनि स्वास्थ्यवद्र्धक खानेकुरा खान जरुरी छ । जिम नियमित जाँदा अन्डा, गेडागुडी, माछा–मासु, दही, फलफूल सबै मिलाएर खान्छु । म अत्यधिक चिल्लो र जंकफुड तथा फास्टफुड खान्नँ । म कम्तीमा आठ घन्टा सुत्छु । स्वास्थ्य रहन निद्रा पुग्नैपर्छ ।