
मानिसमा पोस्ट डेंगु संक्रमण भएको कसरी थाहा पाउने ?
इन्फ्लुएन्जाको मौसम पनि सुरु भएकाले धेरैजसोमा निमोनियाको समस्या पनि देखिन थालेको छ । तर, डेंगु संक्रमण भइसकेपश्चात् अधिकांशमा कमजोरीपन, निन्द्रा नलाग्ने, खाना नरुच्ने, शरीर तातो हुने तर ज्वरो नदेखिने, एन्जाइटी बढ्ने, केही प्रतिशतमा आत्महत्याको सोच आउनेजस्ता लक्षण लिएर बिरामी अस्पताल पुग्ने गरेका छन् । संक्रमणपश्चात् थकान र कमजोरीपन देखिएमा पोस्ट डेंगुको शंका गर्न सकिन्छ ।
पोस्ट डेंगुले स्वास्थ्यमा दीर्घकालीन असर निम्त्याउने सम्भावना कत्तिको छ ?
डेंगु संक्रमण पिकमा गएको अहिले जम्मा ६÷७ साता भएको छ । त्यसैलै यसको दीर्घकालीन असरबारे अहिले नै यकिनसाथ भन्न सकिँदैन । तर, रगतको माध्यमबाट सर्ने भाइरल भएकाले ६ देखि ८ सातापछि यसको प्रभाव घट्दै जाने अनुमान गर्न सकिन्छ । एउटै व्यक्तिमा फरक सेरोटाइपले पुनः संक्रमण हुँदा जोखिम बढेको देखिन्छ । चार–पाँच सातासम्म निन्द्रा नलाग्ने, खान मन नहुनेजस्ता लक्षणले साइकोसिस (मानसिक समस्या) निम्त्याइरहेको छ, जसले जोखिम बढाएको छ ।
इन्फ्लुएन्जाले पोस्ट डेंगुलाई प्रभावित गर्छ कि गर्दैन ?
इन्फ्लुएन्जा संक्रमणले रुघाखोकी, ज्वरो, टाउको दुख्ने, बान्ता आउनेजस्ता समस्या निम्त्याउँछ । डेंगु संक्रमणका कारण कमजोरीपनको समस्या भोगिरहेका व्यक्तिमा इन्फ्लुएन्जा देखिएमा संक्रमण गम्भीर हुने जोखिम बढ्छ । डेंगु प्रभावितमा इन्फ्लुएन्जा संक्रमण भएमा लक्षण लामो समयसम्म रहन सक्छन् ।