Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक ५ शनिबार १०:३२:००
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवौँ राष्ट्रिय खेलकुदका चर्चित खेलाडी

Read Time : > 4 मिनेट
२०७९ कार्तिक ५ शनिबार १०:३२:००

तीन वर्षपछि कर्णाली प्रदेशमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । बिहीबार पोखरा रंगशालामा भव्यताका साथ नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भएको छ । ३९ वर्षपछि दोस्रोपटक पोखरामा बृहत् राष्ट्रिय खेलकुद आयोजना हुँदा प्रतियोगितामा सहभागी कुल ३६ खेलका तीन सय ९६ विधामा पुरुष तीन हजार चार सय १४ र महिला दुई हजार सात सय १३ गरी कुल ६ हजार एक सय २७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा चार सय चार स्वर्ण र उति नै रजत पदक समावेश थिए ।

खेलाडीले पाँच सय १२ कांस्यका लागि भिडे । एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कांस्य पदकसहित कुल तीन सय ९१ पदक प्राप्त गर्दै त्रिभुवन आर्मी लगातार तेस्रोपटक टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगिताको सुरुवातमै दुःखद घटना भयो । पाराग्लाइडिङका प्रतिभाशाली खेलाडी निसिम थापाको खेलकै क्रममा निधन भयो । राष्ट्रिय खेलकुदमा कति खेलाडीले पदक जित्ने सपना पूरा गर्न सकेनन् । केही खेलाडीले यसैबाट आफूलाई आफ्नो विधामा सर्वोत्कृष्ट खेलाडीका रूपमा स्थापित गर्न सफल भए । २८ असोज देखि ३ कात्तिकसम्म चलेको प्रतियोगिताका चर्चित खेलाडी यस्ता छन् । 

डुवाना लामा (पौडी)

गत संस्करणमा गौरिका सिंहले १२ स्वर्ण जित्दै कीर्तिमानी प्रदर्शन गरेकी थिइन् । १३औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई व्यक्तिगत चार स्वर्ण दिलाएकी गौरिकाले नवौँ राष्ट्रिय खेलकुदमा आफ्नो नाममा रहेको कीर्तिमान बराबरी गर्ने लक्ष्य राखेकी थिइन् । तर, प्रतियोगिता अवधिमै अस्वस्थ हुन पुगिन् । यसको प्रभाव खेलमा देखियो । गौरिकाले प्रतियोगितामा चार स्पर्धामा प्रतिस्पर्धा गर्न सकिनन् । यसको फाइदा डुवानाले लिइन् । पौडीकै डुवाना लामाले बृहत् राष्ट्रिय खेलकुदमा गौरिकाको रेकर्ड तोड्न नसके पनि उत्कृष्ट प्रदर्शन गरी सर्वाधिक नौ स्वर्ण जित्न सफल भइन् । 

पोखरामा डुवानाको जादु स्विमिङ पुलमा चलेको थियो । डुवानाले आफ्नो नाममा थप एक रजतसँगै कुल १० पदक हात पारिन् । फिस्टेल एकेडेमीको स्विमिङ पुलमा डुवानाले आफ्नो नाममा पाँच राष्ट्रिय कीर्तिमान राखिन् । उनले आठौँ राष्ट्रिय खेलकुदमा ६ स्वर्ण र चार रजत तिजेकी थिइन् । लगभग तीन वर्षपछि डुवानाले नेपाली पौडी खेलमा आफूलाई स्थापित गरेकी छिन् । १३औँ सागमा उनले तीन कांस्य र एकलमा दुई रजत जितेकी थिइन् ।  राष्ट्रिय खेलकुदको एउटै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान करिश्मा कार्की र गौरिकाको नाममा छ । दुवैले १२–१२ स्वर्ण जितेका थिए । करिश्माले पाँचौँ संस्करण र गौरिकाले आठौँ संस्करण कीर्तिमानी रचे । 

जयरानी थारू (एथ्लेटिक्स)

आठौँ राष्ट्रिय खेलकुदमा जयरानी खासै चलेकी महिला खेलाडी थिइनन् । यो चार वर्षको अन्तरालमा जयरानीले नेपाली एथ्लेटिक्स जगत्मा नम्बर एक खेलाडीका रूपमा चिनाउन सफल भएकी छिन् । नवौँ राष्ट्रिय खेलकुदमा जयरानी एथ्लेटिक्स विधामा उत्कृष्ट खेलाडी मात्र भइनन्, उनले तीनवटा राष्ट्रिय कीर्तिमानसमेत राखिन् । २२ वर्षीया जयरानीलाई अब नेपाली एथ्लेटिक्स खेलमा एक आशालाग्दो खेलाडीका रूपमा हेरिएको छ । आर्मीबाट प्रतिस्पर्धा गरेकी जयरानीले कुल पाँच स्वर्ण पदक जितिन् । ०७५ मा आठाँै राष्ट्रिय खेलकुदमा उनको प्रदर्शन सोचेअनुरूप भएन् । सय मिटर हर्डल्स र रिलेमा रजतसँगै उनी लङजम्पमा कांस्य पदकमै सीमित भइन् । यसपटक उनले चार सय मिटर हर्डल्स, लङजम्प, सय मिटर हर्डल्समा राष्ट्रिय रेकर्डसहित स्वर्ण जित्दा चार गुणा सय मिटर रिले र चार गुणा चार सय मिटर रिलेमा समेत आफूलाई शीर्ष स्थानमा राखिन् । 

तारादेवी पुन (भारोत्तोलन)

नेपाली महिला भारोत्तोलनमा तारादेवीको नाम नै काफी छ । सम्भवत राष्ट्रिय खेलकुद प्रतियोतिगामा धेरैपटक सहभागी हुने खेलाडीमा उनी पर्छिन् । ०७४ सालदेखि तारादेवीले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदै आएकी छिन् । सहभागितामा मात्र सीमित नभएर उनले प्रत्येक संस्करणमा स्वर्णसमेत जितेकी छिन् । 

नेपाल पुलिस क्लबकी तारादेवीले यसपटक पनि इतिहास रचिन् । लगातार ६ संस्करणमा स्वर्ण जित्ने कीर्तिमान बनाएकी तारादेवी १६ वर्षको उमेरदेखि राष्ट्रिय खेलकुद खेल्न थालेकी हुन् । पोखराको उद्योग वाणिज्य संघको हलमा भएको प्रतिस्पर्धामा तारादेवीले तीनवटा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पारिन् । उनले क्लिन एन्ड जर्कमा एक सय दुई केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमान बनाइन् । स्न्याचमा ७० केजी उचालेर अर्को राष्ट्रिय कीर्तिमान राखेकी तारादेवीले कुल एक सय ७२ केजीका साथ तेस्रो कीर्तिमान बनाइन् ।

नासिर हुसेन (पौडी) 

व्यक्तिगत स्पर्धामा पौडीका खेलाडीकै वर्चस्व रह्यो । डुवाना यसै विधामा सर्वाधिक नौ स्वर्ण जित्दा नासिरले उनलाई पछ्याए । त्रिभुवन आर्मीबाट प्रतिस्पर्धा गरेका नासिरले सात स्वर्ण, दुई रजत तथा एक कांस्यसहित कुल १० पदक आफ्नो नाममा लेखाउन सफल भए । पोखरामा नासिरले पुरुषतर्फ अन्य खेलाडीलाई नजिक नै आउन दिएनन् । उनले चार सय मिटर फ्रिस्टायलमा आफैँले राखेको कीर्तिमानसमेत तोड्न सफल भए । १३औँ सागमा चार मिनेट ३३.०५ सेकेन्डको रेकर्ड भंग गर्दै नासिरले चार मिनेट ८.६४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान राखे । यसैगरी, उनले सय मिटर बटरफ्लाईमा पनि नयाँ राष्ट्रिय कीर्तिमान रचे । २५औँ खुला राष्ट्रिय प्रतियोगितामा अनुभव सुब्बाका नाममा रहेको ५९.८६ सेकेन्डको टाइमिङलाई नासिरले ५७.७७ सेकेन्डको नयाँ रेकर्ड राखे । उनले १३औँ सागमा १५ सय मिटर फ्रिस्टायलमा आफ्नै नाममा रहेको १७ मिनेट ४९.९५ सेकेन्डको रेकर्ड तोडे । दसौँ राष्ट्रिय खेलकुदमा उनले यस विधामा टाइमिङ सुधार गरे । 

नविता श्रेष्ठ (टेबलटेनिस) 
एक दशकयता टेबलटेनिसमा नविताले एकछत्र राज गरेकी छिन् ।

नविताले लगातार चार संस्करणमा स्वर्ण हात पारेकी छिन् । राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले ०६७ सालदेखि आफू सहभागी भएको खेलमा पदकविहीन हुनुपरेको छैन ।

०६८ सालको छैटौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी नविताले ०७३ को सातौँ र ०७६ को आठौँ र नवौँ राष्ट्रिय खेलकुदको महिला एकलतर्फ स्वर्ण हात पारेकी थिइन् ।

यसपटक भने उनले आफ्नै नन्द एलिना महर्जनलाई हराउँदै स्वर्ण जितिन् । नविता र एलिना नन्द–भाउजू हुन् । एक दशकदेखिका यी दुवै टेबलटेनिसमा चिरपरिचित प्रतिद्वन्द्वीका रूपमा रहेका छन् । 

राजु राई (जिम्न्यास्टिक)

व्यक्तिगत स्पर्धामा जिम्न्यास्टिकका राजुले सात स्वर्ण हात पारे । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत जिम्न्यास्टिकमा ६ विधा व्यक्तिगत थियो । उनले सहभागिता जनाएका ६ मध्ये पाँचमा स्वर्ण र एकमा रजत जिते । आर्मीबाट खेलेका राजुले टिम र सर्वोत्कृष्ट गरी थप दुई स्वर्ण पनि हात पारे । राजुले समग्रमा आठ पदक हात पारे । ०७३ को सातौँ राष्ट्रिय खेलकुदमा पनि उनले सातैवटा स्वर्ण जितेका थिए । रमाइलो पक्ष के छ भने राजुले नवौँ राष्ट्रिय खेलकुदमा अभ्यास नगरी प्रतिस्पर्धा गरेका थिए । पोखराको जिम्न्यास्टिक हलमा पुरानै म्याटमा प्रतिस्पर्धा गर्दा धेरैजसो खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । तर, राजुले भने टालटुल पारेको म्याटमै सर्वाधिक स्वर्ण आफ्नो नाममा लेखाए । 

शिवराज पार्की (एथ्लेटिक्स)
आठौँ राष्ट्रिय खेलकुदमा एथ्लेटिक्सका शिवराजको प्रदर्शन त्यति राम्रो भएन । त्यसवेला उनी केवल एउटा रजतमै मात्र सीमित भए । पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा भने उनी एक स्टार खेलाडीका रूपमा उदय भए । प्रतिभाशाली खेलाडीमध्ये एथ्लेटिक्सका शिवराज पनि एक हुन् ।

एपिएफ क्लबका ३० वर्षीय धावक शिवराजले यसपटक स्प्रिन्टरमा आफूलाई एक नम्बर खेलाडीझैँ प्रमाणित गर्न सफल भए । उनले राष्ट्रिय खेलकुदमा सय मिटर र दुई मिटर दौडमा स्वर्ण जित्न सफल भए ।

यसैगरी, चार गुणा सय मिटर रिलेमा पनि स्वर्ण जितेका शिवराजले चार गुणा चार सय मिटर रिलेमा रजत हात पारे । नवौँ राष्ट्रिय खेलकुदमा शिवराजले तीन स्वर्ण र एक रजत गरी कुल चार पदक आफ्नो नाममा लेखाए । यसै सफलताका कारण उनी एथ्लेटिक्सको पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए ।