
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । सोमबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नियुक्त गरेको जनाएको हो ।
पूर्वप्रशिक्षक पुबुदु दासानायकेले कार्यकाललाई ७ महिनामा नै टुंग्याएपछि क्यानले नयाँ प्रशिक्षक खोजिरहेको थियो । नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका प्रभाकरले भारतीय टिमबाट ३९ टेस्ट र एक सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । प्रभाकरले अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरू दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसिएसनको प्रशिक्षण सम्हालेका छन् ।
‘नेपालमा रहेको क्रिकेटप्रतिको लगाव, उनीहरूको प्रतिभा र कौशलता देख्दा म नेपाललाई क्रिकेटको शक्तिको रूपमा विकास गर्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमसँग सहकार्यका लागि तयार छु,’ प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरको भनाइलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।
५९ वर्षीय प्रभाकर सन १९८४ देखि १९९६ सम्म भारतको राष्ट्रिय क्रिकेट टिमबाट खेलेका थिए । पूर्वप्रशिक्षक पुबुदु दासानायकेले स्कटल्यान्ड भ्रमणपछि राजीनामा दिएसँगै नेपाली टोली प्रशिक्षकविहीन थियो ।