एमालेको स्पष्टीकरण : एम.अधिकारी गभर्नर महाप्रसाद होइनन् (पत्रसहित)

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण

नेकपा (एमाले)ले एम. अधिकारी विवादमा मुख खोलेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा पत्र लेख्दै एमालेले पार्टीको अर्थ तथा योजना विभागमा उल्लेखित एम.अधिकारी फरक व्यक्ति रहेको स्पष्टीकरण दिएको हो।

कार्यालय सचिव डा. भीष्म अधिकारीले बुधबार लेखेको पत्रमा पार्टीको सो विभागमा उल्लेखित एम. अधिकारी, खोटाङ सदस्य राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ। ‘हाम्रो कमिटी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारणा गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था छैन। तसर्थ, उक्त विभागमा उल्लेखित एम. अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु,’ पत्रमा भनिएको छ।

बुधबार गभर्नर अधिकारीले एमालेलाई पत्र लेख्दै एम. अधिकारीबारे भ्रम सिर्जना भएकाले स्पष्ट पार्न आग्रह गरेका थिए। ‘राजनीतिक पार्टीमा आबद्ध नरहेको तथा गभर्नर जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति कुनै पार्टी विशेषको कुनै समितिमा रहने, बस्ने भन्ने कल्पनाबाहिरको विषय हुँदाहुँदै यस प्रकारको भ्रम उक्त समिति गठनले सिर्जना गरेको हुँदा सो विषयमा स्पष्ट पारी मलाई समेत जानकारी उपलब्ध गराई दिनुहुन अनुरोध छ,’ अधिकारीले एमालेलाई लेखेको पत्रमा भनिएको छ।

एमालेले एम. अधिकारी गभर्नर अधिकारी होइनन् भने पनि ती व्यक्ति को हुन् भन्ने प्रस्ट पारेको छैन। मंगलबार एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा अर्थ तथा योजना विभाग सदस्यमा एम. अधिकारी, खोटाङ नाम पाइएपछि गभर्नर अधिकारी विवादमा तानिएका छन्।

यस्तो छ गभर्नर–एमालेको पत्र आदानप्रदान

सुझावित समाचार