१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
फाइल फाेटाे ।
२o८१ बैशाख २३ आइतबार १३:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिनियाँ विदेशमन्त्री ११ चैतमा नेपाल आउने घोषणा, देउवा सरकारको पहिलो चिनियाँ पाहुना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:५३:oo

चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी ११ देखि १३ चैतमा नेपाल भ्रमणमा आउने तय भएको छ। परराष्ट्र मन्त्रालयले सोमबार चिनियाँ विदेशमन्त्रीको भ्रमण सार्वजनिक गरेको छ। नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि आउन लागेका उनी पहिलो उच्चस्तरीय पाहुना हुन्।

चीनका रक्षामन्त्री वेई फंगेले २०७७ मंसिर १४ गते नेपाल भ्रमण गरेयता नेपाल भ्रमण गर्न लागेका वाङ उपल्ला चिनियाँ अधिकारी हुन्। दुई वर्षअघि कोरोना महामारी सुरु भएयता नेपाल भ्रमण गर्न लागेका वाङ दोस्रो चिनियाँ उच्च अधिकारी हुन्। चिनियाँ विदेशमन्त्रीको भ्रमणमा नेपालले दुई वर्षदेखि बन्द रहेको चीनतर्फ निर्यात सुचारु गर्नुपर्ने विषय उठाउनेछ।

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच गत २ कात्तिकमा एक घन्टा लामो टेलिफोन कुराकानी भएको थियो। दुई परराष्ट्रमन्त्रीबीच पहिलोपटक भेट हुन लागेको हो। गत असोजमा संयुक्त राष्ट्रसंघीय महासभामा चिनियाँ विदेशमन्त्री वाङ सहभागी भएको भए परराष्ट्रमन्त्री खड्का र समकक्षी वाङबीच भेटवार्ता गर्ने तयारी थियो। तर, वाङ महासभामा सहभागी भएनन्।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रमुख दलका शीर्ष नेताहरूलाई चैत ११ देखि १३ सम्म चिनियाँ विदेशमन्त्रीको भ्रमण हुने जानकारी दिइसकेकी  छिन्। नेपालले चिनियाँ असन्तोषमाझ अमेरिकी सहायता परियोजना एमसिसी पारित गरेपछि चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन्। एक वर्षअघि चिनियाँ रक्षामन्त्री वेई तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको सम्मुखमा आइपुगेका थिए भने एमसिसी पारित भएको अवस्थामा वाङ आइपुग्दै छन्। नेपालमा एमसिसीका विषयमा अमेरिका र चीनबीच आरोप–प्रत्यारोप चलिरहेका वेला एमसिसी पारित भएपछि चीनले त्यसलाई नोट गरेको भनाइ सार्वजनिक गरेको थियो।

चिनियाँ राजदूत यान्छीले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रमणबारे जानकारी गराइसकेकी छिन्। परराष्ट्रका अनुसार द्विपक्षीय भेटघाटका कार्यक्रम १२ चैतमा हुने तय भएको छ।

स्टेट काउन्सिलर र वाङले नेपाली समकक्षी डा. खड्कासँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट हुनेछ। वाङसँग एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष  प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले भेटवार्ता गर्ने तय भएको छ।

परराष्ट्रमन्त्री डा. खड्काको निमन्त्रणामा आउन लागेका चिनियाँ विदेशमन्त्री वाङ यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण तयारीका क्रममा २२ भदौ ०७६ मा काठमाडौं आएका थिए। चिनियाँ राष्ट्रपति सीले २७ असोज ०७६ मा नेपाल भ्रमण गरेका थिए। त्यसवेला विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा आएका थिए।

यी हुन् छलफलका एजेन्डा
चिनियाँ विदेशमन्त्रीको भ्रमणमा अहिलेसम्म कार्यान्वयन हुन नसकेको बिआरआई सहकार्यका विषयमा ठोस छलफल हुने अधिकारीहरूको भनाइ छ। ‘बिआरआई कार्यान्वयन सम्झौताको मस्यौदा नेपालले पठाइसकेको छ, तर चीनबाट जवाफ आउन बाँकी छ,’ एक कूटनीतिक उच्च अधिकारीले भने, ‘नेपालले तीन वर्षअघि नै पठाएका ९ परियोजनामध्ये एउटा पनि बिआरआईअन्तर्गत कार्यान्वयन भएको छैन। नेपाल–चीन सीमापार रेलमार्ग, दमकको औद्योगिक पार्कको प्रगति शून्यप्रायः छ। यस विषयमा विदेशमन्त्रीको भ्रमणमा छलफल हुनेछ।’ सीमापार रेलको सम्भाव्यता अध्ययनका लागि आउनुपर्ने चिनियाँ प्राविधिक टोली आइसकेको छैन।

यसैगरी, नेपालतर्फ आयातमा चिनियाँ कन्टेनरको संख्या सीमा हटाउन पनि नेपाल सरकारका तर्फबाट आग्रह गर्ने तयारी छ। कोरोना महामारीको अवस्था नेपाल र चीनमा सामान्य भएको अवस्थामा अब विगतमा लगाइएका प्रतिबन्ध खुकुलो पार्नुपर्ने नेपालको प्रस्ताव हुने जानकार अधिकारीहरुको भनाइ छ।

यसैगरी नेपालले चीनमा अध्ययन गरेका विद्यार्थीलाई चीन फर्किन पाउने वातावरण बनाउन पनि आग्रह गर्ने छ। बैठकमा नेपाल–चीन सीमा प्रोटोकलसम्बन्धी बैठक बस्नुपर्नेमा पनि नेपालको जोड रहने बताइएको छ।

ad
ad