१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ कार्तिक १७ बुधबार ०७:५०:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मुख्य प्रशिक्षक अलमुताइरीको तीनवर्षे योजना

Read Time : > 3 मिनेट
२०७८ कार्तिक १७ बुधबार ०७:५०:००

अलमुताइरीको पहिलो कार्यकालमा नेपालले ११ अन्तर्राष्ट्रिय खेलमा तीन जित, दुई बराबरी र ६ हारको नतिजा निकालेको थियो, उनकै प्रशिक्षणमा नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो 

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार आफ्ना भावी तीनवर्षे योजना सुनाएका छन् । उनले अघिल्लोजस्तै दोस्रो कार्यकाल पनि सफल हुने विश्वास व्यक्त गरेका छन् । ‘पछिल्लोपटकका मेरो बोली र  योजना सफल भयो,’ दशरथ रंगशालामा मंगलबार अलमुताइरीले नेपाली खेलपत्रकारसमक्ष आत्मविश्वासी हुँदै भने, ‘नेपाल आउँदा मैले भनेको थिएँ, साफको फाइनल पुग्ने, एसियन कपको तेस्रो चरणमा स्थान बनाउने  र नेपाली टोलीको खेल्ने शैली परिवर्तन गर्ने थियो, म आफ्नो योजनामा पूर्ण रूपले सफल भएँ ।’ 

यहीकारण अबको तीनवर्षे नेपाल बसाइ तथा नेपाली टोली आफ्नो लक्ष्यमा पुग्ने आत्मविश्वास अलमुताइरीले व्यक्त गरेका छन् । ‘आशा गर्छु यो कार्यकालमा पनि मेरा योजना सफल हुनेछन्,’ उनले भने । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग गत साता तीन वर्ष नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षकका रूपमा रहने सम्झौता गरेपछि अलमुताइरी पत्रकारसमक्ष सार्वजनिक भएका हुन् । 

जुन सम्झौता सोमबारबाट लागू भएको छ । एन्फाकै आयोजनामा भएको पत्रकार सम्मेलनमा अलमुताइरीसँग सन् २०२४ सम्म सम्झौता भएको नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर तथा एन्फाका केन्द्रीय सदस्य मधुसुदन उपाध्यायले जानकारी दिए । सुरुमा सामान्य रूपमा प्रस्तुत भएका अलमुताइरी पत्रकार सम्मेलनको अन्त्यतिर केही आक्रोशित बनेका थिए । विशेष गरी उनले नेपाली टोली र खेलाडीसम्बन्धी कुनै पनि नकारात्मक समाचार सुन्न र हेर्न नचाहेको प्रतिक्रिया दिए । ‘तपाईंहरूले नेपाल र खेलाडीको समर्थन गर्नुस्, यसले भविष्यमा योभन्दा राम्रो नतिजा दिलाउनेछ,’ उनले भने, ‘कहिले कहीँ नराम्रा पक्ष लेखिँदा त्यसको असर टोली र खेलाडीमाथि निकै पर्छ, यसमा ख्याल पुर्‍याउनुपर्छ ।’ आफ्ना योजना सुनाइरहँदा उनले नेपाल आउनुको मुख्य कारण नै नेपाली समर्थक, खेलाडी तथा एन्फाका स्टाफ रहेको बताए । 

‘म पुनः नेपाल फर्कनुको कारण मलाई नेपाली समर्थकले धेरै माया गर्छन्, टोलीका खेलाडीसँग मेरो सम्बन्ध निकै राम्रो र एन्फाका सबैजसो स्टाफसँग पनि मेरो सम्बन्ध सुमधुर छ, यहीकारण म नेपाल आएको हुँ,’ नेपाली टोलीमा आफ्नो दोस्रो इनिङ्स सुरुवात गर्नुका कारणबारे उनले बताए, ‘नेपालको फुटबल विकासका लागि काम गर्न तयार छु ।’ 

एन्फासँग सम्झौता गरेपछि अलमुताइरीले नेपाली फुटबलको विकास र यसलाई कसरी अगाडि लैजाने विषयको खाका सार्वजनिक गरे । अलमुताइरीले पहिलो, दोस्रो तथा तेस्रो वर्षको कार्ययोजना सुनाए ।

२९ कात्तिकबाट दशरथ रंगशाला, एन्फा कम्प्लेक्स तथा च्यासल टेक्लिकल सेन्टर मैदानमा हुने सहिद स्माकर ए डिभिजन लिगपछि नेपाली टोलीको क्लोजक्याप सुरु गर्ने उनले जनाएका छन् । ‘जनवरीदेखि नै राष्ट्रिय टोलीका खेलाडी प्रशिक्षणमा रहनेछन्,’ उनले भने, ‘सुरुमा २६ देखि २८ खेलाडी समावेश गरी बन्द प्रशिक्षण सुरु हुनेछ ।’ सन् २०२२ को फेब्रुअरीमा एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको ड्र हुनेछ । ड्रअघि नै नेपालको वरीयता सुधार गर्नुपर्ने उनले जोड दिएका छन् । वरीयतामा सुधार गर्न सके नेपाल ड्रको तेस्रो पोट (समूह)मा रहन सक्ने उनको विश्वास छ । 

दशरथ रंगशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीको जर्सी सार्वजनिक गर्दै अलमुताइरी र एन्फाका केन्द्रीय सदस्य मधुसुदन उपाध्याय

‘अहिलेको वरीयताअनुसार नेपाल छनोटको चोथौँ पोट छ, यो बीचमा हामीले फिफा वरीयता सुधार गर्न सक्यौँ भने ड्रको तेस्रोमा पर्न सक्छौँ,’ उनले भने, ‘योजनाअनुसार अगाडि बढ्यो भने नेपालको छनोट यात्रा निकै सहज हुने म देख्छु ।’ एएफसीले एसिया कपको तेस्रो चरणको छनोट खेल जुनमा राखेको छ । 

यही अवधिमा एएफसी यु–२३ एसिया कप पनि हुनेछ । एएफसी यु–२३ एसिया कपमा सिनियर टोलीका खेलाडी हुने भएकाले एसियन कप छनोट सम्भवतः सेप्टेम्बरमा हुन सक्ने उनको भनाइ छ । सेप्टेम्बरमा हुने छनोट प्रतियोगिता सहज हुने अलमुताइरीले बताए । ‘एएफसी यू–२३ एसिया कप हुँदा त्यहाँ सहभागी टोलीका सिनियर खेलाडी पनि हुनेछन्, यसले एसिया कपको छनोट सेप्टेम्बरमा हुनेछ,’ उनले भने, ‘सेप्टेम्बरमा हुने छनोटअन्तर्गत प्रत्येक समूहमा चार टोली हुनेछन्, यसमा खेल्न सजिलो हुनेछ ।’ 

१३औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पिनयसिपमा फाइनल पुगेसँगै नेपाल एसिया कपको तेस्रो चरणमा छनोट भएको हो । नेपालको वरीयता सुधार गर्न अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने उनको योजना छ । नेपाली टोलीको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल फिफा डेमा हुन सक्ने अलमुताइरीले बताएका छन् । ‘फिफा डेमा हामीले सकेसम्म धेरै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तयारी गछौँ, यसले हाम्रो वरीयतामा सुधार हुने अपेक्षा छ,’ उनले भने । सन् २०२२ को नोभेम्बरमा कतारले फिफा विश्वकप आयोजना गर्दा कुनै पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको सम्भावना नरहेको उनले स्पष्ट पारेका छन् । यस अवधिमा उनले नेपाली टोलीलाई आन्तरिक रूपमा बलियो पार्ने पक्षमा योजना बुनेका छन् ।

सन् २०२३ मा विश्वकप र एसिया कप छनोट हुनेछन् । नेपालले यही दुई महत्वपूर्ण फुटबल प्रतियोगितामा केन्द्रित भएर काम गर्नुपर्ने उनले जोड दिएका छन् । ‘सन् २०२३ मा विश्वकप छनोट र २०२४ मा एसियन कपको छनोट हुनेछ,’ अन्तर्राष्ट्रिय खेल तालिका देखाउँदै उनले भने, ‘हामीहरूको प्रयास नै यी दुवैवटा छनोट प्रतियोगितामा उत्कृष्ट खेल देखाउने हुनेछ ।’ 

तलब सुविधामा वृद्धि
पत्रकार सम्मेलनमा उनले आफ्नो तलबको विषयमा भने स्पष्ट पारेनन् । तर, कतार फुटबल संघले आफ्नो तलब व्यहोर्ने उनले जनाए । यसअघिको कार्यकालमा एन्फाले उनलाई प्रतिमहिना दुई लाख रुपैयाँ उपलब्ध गराएको थियो । ‘पहिलाको भन्दा अहिले तलब बढेको छ, तर तलब रकम कति हो मलाई पनि थाहा छैन, तलबबाहेक खाने–बस्ने र अन्य सुविधा एन्फाले उपलब्ध गराउनेछ,’ उनले भने । 

१३औँ साफ चलिरहँदा सामाजिक सञ्जालमा समर्थकको कमेन्टका आधारमा अलमुताइरीले नेपाली मिडियामाथि फिक्सिङको आरोप लगाएका थिए । यस प्रश्नमा उनले नेपाली खेलपत्रकारसँग झर्किएर उत्तर फर्काए । अलमुताइरीको प्रशिक्षणमा आठ महिनाभित्र नेपालले ११ खेल खेल्दा तीन जित, दुई बराबरी र ६ हारको नतिजा निकालेको छ । 

यस्ता छन् अलमुताइरीका योजना
- २९ कात्तिकबाट दशरथ रंगशाला, एन्फा कम्प्लेक्स तथा च्यासल टेक्लिकल सेन्टर मैदानमा हुने सहिद स्माकर ए डिभिजन लिगपछि नेपाली टोलीको क्लोजक्याप सुरु गर्ने ।
-  २६ देखि २८ खेलाडी समावेश गरी बन्द प्रशिक्षण सुरु गर्ने । 
- एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको ड्र हुनेछ । ड्रअघि नै नेपालको वरीयता सुधार गर्ने ।
-  वरीयता सुधार गर्न बढीभन्दा बढी अन्तर्राष्ट्रिय खेलमा सहभागीता बढाउने ।
-  फिफा डेमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गराउन पहल गर्ने ।
-  सन् २०२३ मा विश्वकप छनोट र २०२४ मा एसियन कपको छनोट हुनेछ यी दुवै छनोट प्रतियोगितामा उत्कृष्ट खेल देखाउने ।