मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस काठमाडौं
२०७८ भदौ २२ मंगलबार १८:१३:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पपुवान्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी

Read Time : > 1 मिनेट
रासस काठमाडौं
२०७८ भदौ २२ मंगलबार १८:१३:००

पपुवान्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । नेपालले पपुवान्युगिनीलाई दुई विकेटले पराजित गरेको हो । 
    
ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवान्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्नुपरेको थियो । पपुवान्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर एक सय ३४ रन बनायो । नेपालले एक सय ३५ रनको विजयी लक्ष्य ३९ दशमलव तीन ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे । 

नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । उनले ६५ बल खेल्दै दुई चौका प्रहार गरे । 

यस्तै, प्रारम्भिक ब्याट्सम्यान आशिफ शेखले ३० रनको योगदान दिए । उनले ४६ बलमा चार चौका प्रहार गरे । 

नेपाली टोली संकटमा परेको समयमा ब्याटिङ गर्न आएका सोमपाल कामीले ३२ बलमा २२ रन बनाए । सो क्रममा उनले एक छक्का र एक चौका प्रहार गरेका थिए । 

यस्तै कुशल भुर्तेलले १५ रन बनाए ।  बलिङतर्फ पपुवान्युगिनीका गौडी टोकाले तीन, डामिन राभु र चाड सोपरले दुई–दुई तथा नोसिना पोकानाले एक विकेट लिए । 

यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पपुवान्युगिनीका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । उनले कसिलो बलिङ गर्दै चार विकेट लिए । लामिछानेले १० ओभर बलिङ गर्दै ३५ रन खर्चिए । 

पपुवान्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाए । 

बलिङतर्फ नेपालका विक्रम सोब र कुशल मल्लले दुई–दुई विकेट लिए । आजको खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीबाट डेब्यु गरेका सोबले पहिलो बलमै विकेट लिएका थिए । उनले पपुवान्युगिनीका प्रारम्भिक ब्याट्सम्यान टोनी उरालाई पेभेलियन फर्काएका थिए । यस्तै, सोमपाल कामीले एक विकेट लिए । 

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवान्युगिनीसँग दुई एकदिवसीय खेल खेल्न लागेको हो ।  दोस्रो एकदिवसीय खेल शुक्रबार हुनेछ ।