मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २२ मंगलबार ०९:२८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युरोकप २०२० को पहिलो सेमिफाइनल आज : अपराजित इटालीविरुद्ध सुधारिएको स्पेन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार २२ मंगलबार ०९:२८:००

स्पेन र इटालीले अहिलेसम्म ३६ पटक प्रतिस्पर्धा गर्दा स्पेनले १२ खेलमा जित हात पारेको छ भने इटालीले ११ खेल जितेको छ, बाँकी १३ खेल बराबरीमै टुंगिएको छ 

सन् २०१२ को युरोकप फाइनलमा स्पेन र इटाली भिडेका थिए । स्पेनले इटालीलाई ४–० ले पराजित गर्दै उपाधि जित्यो । स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो एकछत्र राज गरेको समय थियो त्यो । स्पेनले त्यसअघि सन् २००८ को युरोकप र सन् २०१० को विश्वकप पनि जितेको थियो ।

‘टिकी टाका’ शैलीमा जमेको स्पेन त्यो समय कुनै पनि टोलीका लागि मुस्किल थियो । तर, त्यसपछि स्पेनले आफ्नो त्यो लय गुमाएको छ । झन्डै पाँच वर्षअघि सन् २०१६ को युरोकपको प्रिक्वार्टरफाइनल चरणमै भेट हुँदा स्पेनलाई २–० ले पराजित गर्दै इटालीले बदला लिएको थियो । युरोकपको पछिल्ला तीन संस्करणको नकआउट चरणमा प्रतिस्पर्धा गरेका यी दुई टोली जारी युरोकपमा पनि सेमिफाइनल चरणमै भेट्दै छन् । 

इंग्ल्यान्डको वेम्बली स्टेडियममा मंगलबार राति हुने खेलमा युरोपियन फुटबलमा यी दुई परम्परागत प्रतिद्वन्द्वीले फेरि एकपटक भिड्नेछन् । यी दुई टोली फेरि एकअर्काविरुद्ध मैदानमा उत्रदा विगतको प्रतिद्वन्द्विताको झल्को त देखिने नै छ, उपाधितर्फ अघि बढ्न उनीहरूले वर्तमानमा आफ्नो उत्कृष्टता पनि प्रस्तुत गर्ने प्रयास गर्नेछन् । 

इटाली आफ्नो पछिल्लो १३ खेलमा लगातार जितको नतिजासहित प्रतियोगिताको सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्न तयार भएको छ । आफ्नो पछिल्लो ३२ खेलमा अपराजित इटाली क्वार्टरफाइनल चरणको खेलमा फिफाको विश्व वरीयताको शीर्ष स्थानको टोली बेल्जियमलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । 

त्यसको तुलनामा स्पेनले भने जारी प्रतियोगिताको सुरुवातमै जितका लागि निकै संघर्ष गरेको छ । स्पेन पनि जारी प्रतियोगिताको अपराजित टोली हो । यद्यपि, समूहगत चरणको सुरुवाती दुई खेलमा स्पेन स्विडेन र पोल्यान्डसँग बराबरीमै रोकिएको थियो । 

समूहगत चरणको अन्तिम खेलमा स्लोभाकियालाई ५–० ले पराजित गरेको स्पेनले लगभग प्रतियोगिताबाट बाहिरिसकेको अवस्थाबाट अन्तिम १६ को यात्रा तय गर्‍यो । त्यसपछि नकआउट चरणको खेलमा निरन्तर जित हात पार्दै स्पेनले प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरेको हो । स्पेनले प्रिक्वार्टरफाइनलमा विश्वकपको साविक उपविजेता टोली क्रोएसियालाई अतिरिक्त समयमा ५–३ ले पराजित गरेको थियो । साथै स्पेन युरोकप इतिहासमा लगातार दुई खेलमा पाँच गोल गर्ने पहिलो टोली पनि हो । त्यसैले यो खेललाई अपराजित इटालीविरुद्ध सुधारिएको स्पेनबीचको खेल मानिएको छ । 

दुवै टोलीमा राम्रा खेलाडी छन् । विशेषगरी इटालीको रक्षापंक्ति बलियो छ । बलियो रक्षापंक्तिकै कारण इटालीले जारी प्रतियोगिताको पाँच खेलमा दुई गोल मात्रै व्यहोरेको छ । स्पेनको खेलमा अहिले पनि टिकी–टाका शैलीको प्रभाव देखिएको छ । उनीहरूले जारी प्रतियोगितामा बल पोसेसन राखेर खेलेका छन् । प्रतियोगितामा सहभागी टोलीमध्ये कुनै पनि खेलमा स्पेनकै बल पोसेसन प्रतिशत बढी छ । 

यी दुई टोलीबीचको इतिहास पनि लगभग उस्तै छ । स्पेन र इटालीले अहिलेसम्म ३६ पटक प्रतिस्पर्धा गर्दा स्पेनले १२ खेलमा जित हात पारेको छ भने इटालीले ११ खेल जितेको छ । बाँकी १३ खेल बराबरीमै टुंगिएको छ । यद्यपि इटालीले ४३ गोल गरेको छ भने स्पेनले ४० गोल मात्रै गर्न सकेको छ । यी दुई टोलीले मंगलबारको खेलमा ३७ पटक प्रतिस्पर्धा गर्दा यो आँकडामा परिवर्तन आउनेछ । 

इटालीका प्रशिक्षक रोबर्टाे मान्सिनी भन्छन्, ‘हामीले बेल्जियविरुद्ध दुई गोल गर्‍यौँ, तर त्यो खेलमा हामीले अझै धेरै गोल गर्न सक्थ्यौँ । हामी यो जितका लायक थियौँ । अब स्पेनसँग खेल्दै छौँ । तर, सत्य कुरा यही हो कि प्रतियोगितामा हामी जति अघि बढ्छौँ, प्रतिस्पर्धा त्यति नै मुस्किल हुने गर्दछ ।’

स्पेनका प्रशिक्षक लुइस एन्रिक भन्छन्, ‘हामी अहिलेसम्मको यात्रामा गर्व गर्छौं । सेमिफाइनलका चारवटै टोलीले उत्कृष्ट प्रदर्शन गरेका छन् । यी चारै टोली उत्कृष्ट छन् । चारै टोली जितका लायक छन् । हामीमध्ये सबै टोली सेमिफाइनल र फाइनल जित्दै उपाधिसम्म पुग्ने लक्ष्यमा छौँ ।’

प्लेयर्स टु वाच

अल्भारो मोराटा :  फर्वाड, स्पेन

मोराटा स्पेनिस टोलीका मुख्य फर्वाड हुन् । जारी युरोकपमा स्पेनले खेलेको पाँचमध्ये पाँचै खेलमा उनले टोलीको मुख्य फर्वाडका रूपमा खेलेका छन् । यद्यपि, प्रतियोगितामा उनीबाट आशा गरिएजति गोल भने सम्भव हुन सकेको छैन । समूहगत चरणको खेलमा पोल्यान्डविरुद्ध र प्रिक्वार्टरफाइनलमा क्रोएसियाविरुद्ध उनले एक–एक गोल गरेका छन् । प्रतियोगितामा स्पेनले थप महत्वपूर्ण खेलका लागि तयार हुँदा उनले टोलीका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछन् ।

लोरेन्जो इन्सिग्ने : विंगर, इटाली

इन्सिग्ने जारी युरोकपमा इटालीको अग्रपंक्तिका मुख्य खेलाडीका रूपमा देखिएका छन् । इटालियन क्लब नापोलीका विंगर इन्सिग्ने जारी प्रतियोगितामा इटालीलाई अघि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेका छन् । लोरेन्जो स्पिनाज्जोलाले चोटका कारण प्रतियोगिताका बाँकी खेल गुमाएपछि इटालीको अग्रपंक्तिको बायाँतर्फको जिम्मेवारी अब पूर्ण रूपमा उनीमाथि नै निर्भर रहेको छ । टोलीको आगामी प्रतिस्पर्धामा उनको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

एजेन्सीकाे सहयाेगमा