Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १९ आइतबार ०८:००:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : धनगढी शीर्ष स्थानमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १९ आइतबार ०८:००:००

आजको खेल

पोखरा थन्डर्सविरुद्ध ललितपुर सिटी एफसी
समय : ५ः३० बजे (दशरथ रंगशाला)

धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबारको खेलमा एफसी चितवनलाई ३–० गोलको भारी अन्तरले पराजित गर्दै धनगढीले शीर्ष स्थान लिएको हो ।

लिग चरणमा सबैभन्दा बढी चार खेल खेलेको धनगढीका लागि यो जितले ठूलो अर्थ राख्नेछ । दुई जितबाट सात अंक जोडेको धनगढीले आफूले भन्दा एक खेल कम खेलेको बुटबल लुम्बिनी एफसीलाई दुई अंकले दोस्रो स्थानमा धकेलेको छ । 

दशरथ रंगशालामा खेलको पहिलो हाफमा दुई प्रहार क्रसबारमा लागेर फर्कंदा एफसी चितवन अभागी ठहरियो । खेलको २३औँ मिनेटमा जर्ज प्रिन्स कार्कीको भली सट क्रसबारमा लागेर फर्कियो । खेलको ३६औँ मिनेटमा जर्ज प्रिन्सले नै झन्डै ३० यार्ड दूरीबाट गरेको सशक्त प्रहारमा फेरि क्रसबार बाधक बन्यो । 

खेलको दोस्रो हाफमा धनगढीले लगातार तीन गोल निकाल्यो । खेलको ६३औँ मिनेटमा निशान खड्काको क्रसमा गोल गर्दै निशान लिम्बूले धनगढीलाई १–० ले अघि बढाए । त्यसको ६ मिनेटपछि लिम्बूको क्रसमा अफ्रिकी खेलाडी ओलाडिपो ओलावाले अफिजले हेडिङ गोलमार्फत धनगढीको अग्रता दोब्बर बनाए । खेलको निर्धारित समय सकिनु १० मिनेटअघि बुद्धबल तामाङले धनगढीको जित ३–० ले निश्चित गरेका थिए । 

पराजयका बाबजुद चितवनका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको बताए । ‘अघिल्लो दुई खेलको तुलनामा आज धेरै राम्रो प्रदर्शन गरेको हो । यद्यपि, यही खेलमा पराजित भयौँ,’ उनले भने, ‘पहिलो हाफमा दुई प्रहार क्रसबारमा लागेर फर्कनु दुर्भाग्य बन्यो ।’

धनगढीका प्रशिक्षक टोपे फुजाले विपक्षी टोलीको गल्तीको फाइदा उठाएको बताए । ‘हामीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्‍यौँ । खासमा हामीले उनीहरूको गल्तीको फाइदा उठाएका हौँ,’ उनले भने । 

उत्कृष्ट खेलमा गुमेको अवसर
प्रतियोगिताअन्तर्गत शनिबारको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसीले रोमाञ्चक खेल खेल्यो । दुवै टोलीले उत्कृष्ट गोल पनि गरे । तर, खेल २–२ गोलको बराबरीमा टुंगिएपछि दुवै टोलीले अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर खेर फालेका छन् । 

खेलमा बुटवलले छैटौँ मिनेटमै अग्रता बनाएको थियो । विपक्षी रक्षकले राम्रोसँग क्लियर गर्न नसकेको बललाई डी बक्सभित्रबाट गोलमा परिणत गर्दै नाइजेरियन रक्षक ओमोलाजा नुरेन करिमले बुटवललाई अघि बढाएका थिए । यद्यपि, खेलको ४२औँ मिनेटमा पेद्रो जेभियर मान्जिक्रुजले डी बक्स लाइनबाहिरबाट सशक्त प्रहार गर्दै विराटनगरलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ६८औँ मिनेटमा बुटवलले फेरि अग्रता बनायो । विलियम ओपोकु असिदूको उत्कृष्ट क्रसमा अनमार्क रहेका लक्ष्मण रुचालले भली सटमार्फत गोल गरे । तर, बुटवलले फेरि यो अग्रतालाई जोगाउन सकेन । 

रेफ्रीको आलोचना

शनिबारको खेलपछि बुटवल र विराटनगरका प्रशिक्षकले रेफ्रीको आलोचना गरे । उनीहरूले रेफ्रीले सही निर्णय गर्न नसकेको प्रतिक्रिया दिए । विराटनगरका भारतीय प्रशिक्षक यान लले रेफ्रीका कारण प्रतियोगिताको स्तर खस्किएको आरोप लगाए । ‘मलाई इन्डियन सुपर लिगको पनि अनुभव छ, जहाँ एसियाली स्तरका रेफ्री हुन्छन् । रेफ्रीले नै खेल राम्रो बनाउने हो । तर, यहाँ रेफ्रीले नै हाम्रो खेल बिगारिरहेका छन्,’ उनले भने, ‘एनएसएल नेपाली फुटबलको राम्रोका लागि गरिएको हो । प्रतियोगिता अहिलेसम्म धेरै दृष्टिकोणबाट राम्रो पनि भइरहेको छ । तर, रेफ्रीकै कारण प्रतियोगिताको स्तर खस्कँदो छ ।’

बुटवलका प्रशिक्षक सनोज श्रेष्ठले पनि त्यसमा सही थपे । उनले रेफ्रीकै गलत निर्णयका कारण आफ्नो टोलीले गोल व्यहोर्नुपरेको बताए । ‘रेफ्रीको निर्णय सन्तोषजनक छैन,’ उनले भने, ‘हामीले अन्तिम गोल रेफ्रीकै गलत निर्णयका कारण व्यहोरेका हौँ । रेफ्रीको निर्णयबाट हामी मात्रै हैन, अरू टोली पनि असन्तुष्ट छन् ।’