१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अयोध्यापुरीमा रामसीताको मूर्ति स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:३८:oo

कोरोना महामारी बढेका वेला अपनाइएन स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड, मन्त्री उपस्थित कार्यक्रममा हजारौँको भिड

चितवनको अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको छ । प्रधानमन्त्री केपी ओलीले आफ्नै खर्चमा बनाएका ती मूर्तिहरू रामनवमीको दिन पारेर बुधबार प्राणप्रतिष्ठा गरिएको हो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा वैदिक अनुष्ठानअनुसार पूजा गरी रथमार्फत मूर्ति चितवन पठाइएको थियो।

बुधबार बिहानै देवघाटमा कालीगण्डकी र त्रिशूली नदीको जलमा मूर्तिहरू अभिषेक गरी ब्राह्मणबाट स्वस्तिवाचन र मन्त्रोच्चारणसहित मूर्ति माडी लगिएको थियो । मूर्तिहरूलाई माडी पुर्‍याउनुअघि माडीकै स्थानीय रेवानदी (रिउ खोला) मा पनि परशुराम कुण्डको जल अभिषेक गरिएको थियो । भरतपुरदेखि झन्डै ४५ किलोमिटर दक्षिण–पश्चिममा रहेको माडी नगरपालिका–९ स्थित गणेशगुञ्ज क्षेत्रमा अस्थायी मन्दिर बनाई ती मूर्ति राखिएको छ । पत्थरमा कुँदिएका मूर्तिलाई क्रेनले उचालेर मन्दिरभित्र राखिएको थियो । हनुमानको मूर्तिलाई भने मन्दिरको बाहिर राखिएको छ ।

हजारौँको भिड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मूर्ति स्थापना कार्यक्रमको व्यवस्थापन गरेको थियो । फूलले सजाइएका ट्रकमा राखेर शोभा रथयात्रासहित मूर्तिहरू कडा सुरक्षाबीच माडी लगिएको हो । मूर्ति स्थापना कार्यक्रममा सहभागी हुन पर्यटनमन्त्री भानुभक्त ढकाल मंगलबार नै चितवन आएका थिए । चितवन ल्याउने क्रममा चार मूर्तिलाई छुट्टाछुट्टै ट्रकमा राखिएको थियो । ब्यान्डबाजासहितको टिम ट्रकपछाडिका गाडीमा सवार थिए । शोभायात्रामा पञ्चेबाजासहित भजनमण्डलीसमेत थिए ।

सीताराम शोभा रथयात्रा नाम दिइएको पदयात्रामा वृद्धवृद्धा र गुरुकुलमा अध्ययनरत विद्यार्थी सहभागी थिए । सहभागी अधिकांशले मास्क लगाएका थिएनन् । सामाजिक दूरीको पालना पनि थिएन । कोरोना संक्रमणको चौतर्फी सन्त्रासबीच सरकार आफैँले बनाएको नियमविपरीत हजारौँको सहभागितामा मूर्ति स्थापनाको कार्यक्रम गरेको थियो । कार्यक्रममा बाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराज, प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, राष्ट्रिय सभा सदस्य दिलकुमारी रावललगायत सहभागी थिए । अयोध्यापुरी व्यवस्थापन समितिका संयोजक तीर्थराज भुसालका अनुसार मूर्ति स्थापनाका लागि आयोजित समारोहमा तीन सयभन्दा बढी सवारीसाधन र चार हजारभन्दा बढी मानिसको उपस्थिति थियो । बुधबारका लागि अयोध्याधाममा दुई हजारजनालाई खानाकोे व्यवस्था गरिएको भुसालले बताए ।

११ दिनमै बन्यो मूर्ति राख्ने अस्थायी मन्दिर
वर्षौंदेखि माडीका चेपाङहरूको घर निकुञ्जले बनाउन दिएको छैन । तर, शिलान्यासको ११ दिनभित्रै मूर्ति राख्ने अस्थायी मन्दिर बनाइएको छ । अयोध्यापुरीमा मूर्ति राख्नकै लागि प्रदेश सरकारले उपलब्ध गराएको ११ लाख रुपैयाँ खर्च गरेर अस्थायी मन्दिर तयार गरिएको थियो । बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले माडीलाई धार्मिक पर्यटकीयस्थल बनाएर विश्वमाझ चिनाउने सुनौलो अवसर आएको बताए । अयोध्याधाम निर्माण भएपछि माडीसँगै देशलाई नै फाइदा हुने भन्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले बताए ।

पर्यटनमन्त्री ढकालले रामको जन्मभूमि नेपालमै रहेको विषयले नयाँ बहस सिर्जना गरेको बताए । उनले यो बहसलाई सरकारले सत्य पुष्टि गर्ने दाबी पनि गरे । रामको जन्मभूमिको विषय भारतमा समेत विवादित रहेको भन्दै उनले भने, ‘सरकारले यसको तथ्य पत्ता लगाउँछ । नेपालमै रामको जन्मभूमि रहेको तथ्य प्रमाणित हुन्छ । यसले अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको कीर्ति फैलिनेछ ।’ मन्त्री ढकालले यस क्षेत्रको चेपाङको समस्या भूमि आयोगले हल गर्नेसमेत बताए । 

ad
ad