बझाङको मत परिणाम र इलामको मतगणनालाई कसरी हेर्नुभएको छ ?
दुवै स्थानका उपनिर्वाचनको मत परिणामबाट दुइटा विषय प्रस्ट रूपमा अगाडि आएका छन् । एउटा, मतदाताहरू अझै पनि पुराना र ठुला भनिएका दलहरूप्रति नै सम्मोहित छन् । अर्को, संविधानले तय गरेका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता मुख्य खम्बाहरू थप मजबुत भएका छन् ।
नयाँ दल र पहिचानवादीलाई यो उपनिर्वाचनमार्फत मतदाताले कस्तो सन्देश दिएका छन् ?
यस उपनिर्वाचनको मत परिणामपछि पहिचानवादीले थप संगठित हुनुपर्ने देखिएको छ । साथै, नयाँ दल विशेष गरी रास्वपाले आफ्ना नेताहरूमाथि लागेको आरोपको चित्तबुझ्दो जवाफ जनतालाई दिन सक्नुपर्छ । अन्यथा जनताले छिट्टै र सजिलै विश्वास गरिहाल्ने अवस्था देखिन्न ।
उपनिर्वाचन परिणामले पुराना दलहरूलाई थोरै नै भए पनि राहत दिएको हो ?
कुनै स्थानविशेषको परिणामकै आधारमा सबैतिर यस्तै हुन्छ त भन्न सकिन्न । तर, भातको भाँडाबाट एक–दुई सिता छामेर पूरै भातको अवस्था अनुमान लगाएजस्तो भने गर्न सकिन्छ । राज्यका संरचनाहरूमा ठूला दलहरूको प्रभाव र वर्चस्व हुन्छ । पहिचानको आन्दोलनमा लाग्नेहरूले पनि निर्वाचनको समयमा संरक्षण खोजेर ठूला दलहरूमाथि नै समर्थन गर्न सक्छन् । तर, यसो भन्दाभन्दै पनि दलहरूले पहिचानको मुद्दालाई ‘इग्नोर’ गर्न सक्ने अवस्था छैन भन्ने संकेत यो उपनिर्वाचनको मतले देखाएको छ । साथै, दलहरूले अब युवालाई उपेक्षा गर्न मिल्दैन भन्ने पनि यसले देखाएको छ । पहिचान र युवाका लागि ढोका बन्द गरेर पुराना र ठूला भनिएका दलहरूको राजनीति अब अघि बढ्न कठिन देखिन्छ ।