१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
०७२ को भूकम्पपछि जीर्ण बनेको राष्ट्रिय खेलकुद परिषद्को हाताभित्र रहेको स्विमिङ पुलमा थुपारिएको कवाडी सामग्री। तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ ८ मंगलबार १६:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

स्विमिङ पुल मासेर खेलकुद कम्प्लेक्स बनाइँदै

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १६:१o:oo

पहिलो र आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गरेको त्रिपुरेश्वरस्थित स्विमिङ पुलको संरचना मासिने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो हाताभित्र रहेको स्विमिङ पुल मासेर सोही स्थानमा खेलकुद कम्प्लेक्स बनाउने योजना ल्याएको छ।

सन् १९८४ र १९९९ मा भएको साफ खेलकुदअन्तर्गत यसै स्विमिङ पुलमा पौडी इभेन्ट्स भएको थियो। आठौँ साफमा यसै स्विमिङ पुलमा नेपाली महिला स्विमिङ टोलीले पहिलोपटक स्वर्ण जितेको थियो। यहाँ पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो। ०७२ सालको भूकम्पले स्विमिङ पुल पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो।

त्यसपछि यो डम्पिङ साइटजस्तै बनेको छ। सातदोबाटोमा हिटिङ प्रणालीसहितको स्विमिङ पुल बनेपछि त्रिपुरेश्वरको स्विमिङ पुललाई बेवास्ता गरिएको थियो। ०७२ को भूकम्पछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पौडी प्रतियोगिता सातदोबाटोकै स्विमिङ पुलमा आयोजना भइरहेको छ। यसैकारण, आफ्नो छुट्टै इतिहास बोकेको राखेपको हाताभित्र रहेको स्विमिङ पुल ओझेलमा परेको हो।

राखेप सदस्यसचिव टंकलाल घिसिङले संरचना मासिने र नयाँ संरचना बस्ने जानकारी दिएका छन्। ‘त्रिपुरेश्वरस्थित पुरानो स्विमिङ पुल अब नयाँ बन्दैन। यहाँ अन्य खेलकुद संरचना बन्नेछ,’ घिसिङले भने, ‘हामीले त्यसका लागि गृहकार्य गरिरहेका छौँ।’ सातदोबाटोको स्विमिङ पुलमा पौडी खेलाडीको प्रशिक्षणसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहेकाले राखेपभित्रको स्विमिङ पुलको आवश्यक नभएको उनले बताए। ‘अहिले खेलाडीहरूले सातदोबाटोमा प्रशिक्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइराखेका छन्, त्यसकारण यहाँ अब यो पुल आवश्यक नभएको हो,’ उनले भने। 

भूकम्पपछि राखेपले आफ्नो परिषद् हाताभित्रका दशरथ रंगशालामा, कभर्ड हलको पुनर्निर्माण गरेको थियो। सन् २०१९ नेपालमै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत फुटबल, एथलेटिक्सका विभिन्न प्रतिस्पर्धा र भलिबल कभर्ड हलमा भएका थिए। 

तर, राखेपले पुलको विषयमा केही निर्णय नै लिएन। ‘राखेपभित्र भत्किएका अन्य संरचना बन्दा स्विमिङ पुल बन्न सकेन । राखेपले यो पुललाई मास्नुभन्दा पनि पुनर्निर्माण गनुपर्ने थियो,’ पौडी प्रशिक्षक शंकर कार्कीले भने, ‘यसको आफ्नै इतिहास छ। हामीले नै यो इतिहास जोगाउने हो ।’ उनले पहिलो साफ र पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको स्विमिङ पुलबाट राम्रा खेलाडी उत्पादन भएको बताए। 

डम्पिङ साइटमा परिणत

भूकम्पपछि परिषद्भित्र विभिन्न संरचनाको पुनर्निर्माण हुँदा राखेपले इतिहास बोकेको स्विमिङ पुलमै कच्चा पदार्थ तथा पुराना सामग्री राख्नेस्थलको रूपमा प्रयोग गरेको थियो। 

त्यसपछि यहाँ राखेप हाताभित्र काम नलाग्ने सामग्री राख्ने स्टोरझैँ भयो। दशरथ रंगशालाको मैदान, सेन्थेटिक ट्र्याक, प्यारापिट, कभर्ड हल बनाउँदाका फलाम, जस्तापाता पुराना गाडी सबै यही पुलमा अझै छन्। नयाँ कम्प्लेक्स बन्ने भएपछि राखेपले अहिले डम्पिङ साइट बनेको पुलमा सामान हटाउने काम सुरु गरेको छ। राखेपले यसै महिनाबाट कवाडीलाई सामान दिएको छ। ‘कवाडीलाई झन्झट हुँदा प्रक्रिया पु¥याएर बल्ल पुल खाली गराउन थालेको हो,’ सदस्यसचिव घिसिङले भने। 

नेसनल ट्रेनिङ सेन्टरमा जोड

राखेपले ऐतिहासिक पुललाई मासेर नेसनल ट्रेनिङ सेन्टर बनाउने योजना बनाएको छ । राखेपले नयाँ आर्थिक बजेटमा यसलाई अगाडि बढाउने प्रक्रिया बढाएको छ। ‘०८१ मा हामीले नेसनल टे«निङ सेन्टर स्थापनालाई जोड दिएका छौँ । यो भनेको प्राथमिकतामा परेको खेलहरूलाई तालिम केन्द्रको रूपमा लिइन्छ,’ सदस्यसचिव घिसिङले भने, ‘सबैको इच्छा, आवश्यकता, बास्तविकता र महत्वाकांक्षाको बीचमा धेरै खाडल भए। मैले राष्ट्रिय टोलीको ३६५ दिन नै अभ्यास गर्ने एनटिसीको आवश्यकता देखेको छु। यो दशरथ रंगशालावरपर नै बन्छ,’ उनले भने। 

प्रयोगमा सातदोबाटोका दुई पुल

राखेपले खेलाडी प्रशिक्षण सातदोबाटोस्थित पुलमा गर्दै आएको छ। सातदोबाटोमा अहिले दुई पुल छन्। जाडो महिनामा प्रतियोगिता र अभ्यासका लागि हिटिङ पुलको व्यवस्था छ। १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता यही पुलमा आयोजना भएको थियो। हिउँदमा प्रतियोगिता भएका कारण सँगै रहेको आडट डोर पुलमा खेल हुन सकेन। 

हाल आउट डोर पुलमा प्रतियोगिता तथा छनोट खेल आयोजना गराउँदै आएको छ। सदस्यसचिव घिसिङकै पहलमा अहिले सर्वसाधारणले अनलाइन टिकट लिएर पुल प्रयोग गर्न पाउँछन्। ‘हामीसँग सातदोबाटोमा दुई पुल छन्। खेलाडी प्रशिक्षणसँगै प्रतियोगिता गर्न दुवै तयार छन्। काठमाडौंमा दुई पुल भए पनि यो संरचना नरहने भएको हो,’ उनले भने। ‘सर्वसाधारणले पनि टिकट लिएर यसको प्रयोग गर्न पाउँछन्।’

ad
ad