नक्कली सवारी लाइसेन्स प्रकरणमा मुख्य ठानिएका यातायात व्यवस्था विभागका पूर्वकरारका कर्मचारी हरिश भट्टलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भट्टलाई पक्राउ गरेको हो।
भट्ट नक्कली लाइसेन्स प्रकरणका प्रमुख आराेपित मानिएका छन्। नक्कली सवारी लाइसेन्स जारी प्रकरणमा अनुसन्धानका क्रममा सिआइबीले उनलाई नियन्त्रणमा लिएको हो। भट्ट यसअघि नक्कली लाइसेन्स प्रकरणमै अख्तियारबाट प्रतिवादी कायम भइसकेका व्यक्ति हुन्। तर, उनले पछि अदालतबाट सफाइ पाएका थिए। उनी दशकभन्दा बढी समयदेखि विभागमा करारमा कार्यरत छन्।
विभागको छानबिनले एक लाखभन्दा बढी फर्जी लाइसेन्स जारी भएको तथ्य सार्वजनिक गरेको थियो। त्यसैमाथि किर्तेमा अनुसन्धान गर्न सिआइबीलाई विभागले पत्राचार गरेको थियो। लामो समयपछि सिआइबीले आरोपितलाई पक्राउ गर्ने तहमा पुगेको हो। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ।