१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ९ आइतबार ०९:५०:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गौरिका र मन्देकाजी वर्ष खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ९ आइतबार ०९:५०:००

पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले प्रदान गरेको वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । मध्यपुर थिमीको दुई पोखरीमा शनिबार आयोजित १५औँ एनएनआइपिए स्पोर्टस् अवार्डमा गौरिका महिलातर्फ र मन्देकाजी पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । 

पुसमा सम्पन्न पल्सर एनएसजेएफ स्पोर्टस् अवार्डमा पनि यी दुवै खेलाडी वर्षका उत्कृष्ट खेलाडी बनेका थिए । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग–०७६) मा समावेश २६ खेलका संघको सिफारिसमा एनएनआइपिएले उत्कृष्ट खेलाडीलाई सम्मानित गरेको जनाएको छ । १३औँ सागमा गौरिकाले चार स्वर्ण पदक जितेकी थिइन् ।

साग इतिहासमा नेपालबाट एकै संस्करणमा चार स्वर्ण पदक जित्ने गौरिका पहिलो नेपाली खेलाडी हुन् । गौरिकाले सागमा दुई सय मिटर फ्री स्टायल, दुई सय मिटर ब्याक स्ट्रोक, चार सय मिटर फ्री स्टायल र सय मिटर फ्री स्टायलमा स्वर्ण पदक जितेकी थिइन् । 

उनले ५० र सय मिटर ब्याक स्ट्रोकमा रजत पदक पनि जितेकी थिइन् । यसैगरी, गौरिकाले टिम इभेन्ट्समा तीन कास्य पदक जितेकी थिइन् । गौरिकाले सहभागिता जनाएको सबै इभेन्ट्समा नेपाललाई पदक दिलाएकी थिइन् । यसैगरी, ०७६ सालमै नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा गौरिकाले १२ इभेन्टमा स्वर्ण जित्दै कीर्तिमान बनाएकी थिइन् । उनले ०६५ सालमा काठमाडौंमा आयोजित पाँचौँ राष्ट्रिय खेलकुदमा करिश्मा कार्कीले बनाएको कीर्तिमान (१० स्वर्ण) भंग गरेकी थिइन् । 

मन्देकाजी एनएनआइपिएको पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी घोषित भए । उनले १३औँ सागमा दुई स्वर्ण जितेका थिए । उनी सागमा करातेबाट पुरुषतर्फ दुई स्वर्ण जित्ने पहिलो खेलाडी हुन् । उनले आठौँ राष्ट्रिय खेलकुदमा एकल कातातर्फ स्वर्ण पदक जितेका थिए । मन्देकाजीले गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पनि टिम कातामा स्वर्ण र एकल कातातर्फ कास्य जितेका थिए ।

पुरुष तथा महिलातर्फका वर्ष उत्कृष्ट खेलाडीले जनही एक लाख रुपैयाँ प्राप्त गरेका छन् । यसपटकबाट थप भएको राइजिङ प्लेयर अफ दी इयर अवार्ड विधामा पुरुषतर्फ गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामी चयन भएका छन् । १३औँ सागमा सुवासले ऐतिहासिक रूपमा नेपाललाई दुई स्वर्ण दिलाएका थिए । नेपालले सागमा गल्फमा पहिलोपटक स्वर्ण जितेको हो । यस विधामा उत्कृष्ट भएका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यता, प्रतिभावान् खेलाडी अवार्ड पुरुषतर्फ फुटबलका सुजल श्रेष्ठ र महिलातर्फ तेक्वान्दोकी आयशा शाक्यले प्राप्त गरेका छन् । दुवै खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । १३औँ सागमा आयशाले दुई स्वर्ण पदक जितेकी थिइन् । सागको एकै संस्करणमा तेक्वान्दोतर्फ दुई स्वर्ण जित्ने आयशा एक्ली महिला खेलाडी हुन् ।

सुजलले आफ्नो कप्तानीमा नेपाललाई १३औँ सागमा स्वर्ण पदक दिलाएका थिए । नेपालले फाइनलमा भुटानलाई हराएको थियो । यसैगरी, नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकबर शाह सम्मानित भएका छन् । 

पारा एथ्लेटिक अवार्ड टेबलटेनिसका केशव थापाले जितेका छन् । एनएनआइपिए पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका रोशनसिंह राउत सम्मानित भएका छन् । एनएनआइपिएका मानार्थ अध्यक्ष दीपक विष्टको संयोजकत्वमा रहेको छनोट समितिले प्रतिभावान् खेलाडीको छनोट गरेको थियो ।