मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी बेइजिङ
२०७७ पौष २७ सोमबार १५:०९:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना भाइरस उत्पत्तिको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका विज्ञ आगामी बिहीबार चीन आइपुग्ने  

Read Time : < 1 मिनेट
रासस/एएफपी बेइजिङ
२०७७ पौष २७ सोमबार १५:०९:००

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का दशजना वैज्ञानिक कोभिड– १९ को उत्पत्तिबारे अनुसन्धान गर्न बिहीबार चीन आइपुग्दै छन् । चीनले कोरोना भाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका वेला कोरोना महामारी फैलिएको एक वर्षपछि डब्ल्युएचओका वैज्ञानिकलाई चीन भ्रमणको अनुमति दिएको हो । 

कोरोना भाइरस संक्रमणबाट विश्वलाई नै अत्याइरहेको अवस्थामा यसको अनुसन्धानका लागि चीनको अनुमतिको ठूलो राजनीतिक महत्व रहेको छ । कोभिड– १९ बाट हालसम्म करिब २० लाखजनाको मृत्यु भइसकेको छ भने विश्व अर्थतन्त्रलाई तहसनहस बनाएको छ । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा डब्ल्युएचओको टोलीले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर कोभिड– १९ को उत्पत्तिबारे संयुक्त अनुसन्धान गर्ने जनाइएको छ । यसै महिनाको सुरुमा पनि यस मिसनबारे चीन र डब्ल्युएचओबीच असमझदारी उत्पन्न भएको थियो । डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले चीनले वैज्ञानिक टोलीको प्रवेशमा अवरोध गरेकामा आपत्ति जनाएका थिए । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चनयिङले आफूहरुरूलाई डब्ल्युएचओको टोलीको भ्रमणप्रति कुनै आपत्ति नरहेको र पछिल्लो समय उत्पन्न गतिरोध असमझदारीका कारण मात्र भएको स्पष्ट गरेका छन् । 

डब्ल्युएचओका विज्ञहरूले चीनमा दुई साता क्वारेन्टिनमा बस्नुपर्नेछ । उनीहरूले सन् २०१९ को अन्त्यतिर पहिलोपटक कोभिड– १९ देखिएको वुहान सहरको भ्रमण गर्नेछन् । 

संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाले भाइरसको उत्पत्तिबारे स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । बेइजिङमाथि पारदर्शिताको प्रश्न उठाएर अन्तर्राष्ट्रिय स्तरबाटै आलोचना भइरहेको छ, तर देशभित्र कोरोना भाइरसको संक्रमण रोक्न चीन सरकारले गरेको प्रयत्नको प्रशंसा गरेको छ ।