१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएफपी
२०७७ पौष २ बिहीबार १६:४०:००
Read Time : < 1 मिनेट
विश्व

युरोपमा कोभिड– १९ विरुद्धको भ्याक्सिन अभियान थाल्न दबाब 

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ पौष २ बिहीबार १६:४०:००

युरोपेली युनियन (इयू) मा आबद्ध मुलुकहरूमा यस वर्षको अन्त्यअघि नै कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन थाल्ने प्रतिबद्धता युरोपेली नेताहरूले व्यक्त गरेका छन् ।  युरोपमा कोभिडको दोस्रो लहरले जनजीवन अस्तव्यस्त बनाउन थालेसँगै जतिसक्दो चाँडो भ्याक्सिन लगाउनुपर्ने दबाब बढेको हो । यही अवस्थालाई मध्यनजर गरी जर्मनीले आगामी २७ डिसेम्बरदेखि नै भ्याक्सिनेसन सुरु गर्ने जनाएको छ । 

यही दिनदेखि सम्भवतः युरोपेली युनियनमा आबद्ध सबै मुलुकमा भ्याक्सिन लगाउन सुरु हुनेछ । फ्रान्सले सन् २०२० को अन्त्यसम्ममा ११ लाख ६० हजार डोज भ्याक्सिन प्राप्त हुने जनाएको छ । अर्को महिनाभित्र अरू २३ लाख डोज भ्याक्सिन फ्रान्सले प्राप्त गर्दै छ ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घन्टामा संयुक्त राज्य अमेरिकामा मात्र तीन हजार सात सयभन्दा बढीको मृत्यु भएको छ भने दुई लाख ५० हजारभन्दा बढी नयाँ संक्रमित देखिएका छन् । यो तथ्यांकले युरोपमा देखिएका कोरोना संक्रमितको संख्यालाई पनि ओझेलमा पारेको छ । 

डेनमार्क, फ्रान्स, टर्की र नेदरल्यान्ड्सले प्रतिबन्धहरूलाई अझ कडाइ गरेका छन् भने स्पेनका प्रधानमन्त्रीले आफ्नो मुलुकमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच, युरोपेली आयोगकी प्रमुख उर्सुला भोन लियेनले कोरोना महामारीबाट छुटकारा पाउन कम्तीमा ७० प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाउनुपर्ने बताएकी छिन् । 

बेलायत र संयुक्त राज्य अमेरिकाले खोप लगाउन थालेसँगै युरोपेली मुलुकमा पनि खोप लगाउन दबाब बढेको छ । बेलायत र अमेरिकाले फाइजर र बायोन्टेकले विकास गरेको भ्याक्सिन लगाएका छन् । अमेरिकी अर्को कम्पनी मोडर्नालाई पनि अमेरिकी नियामक निकायले अनुमति दिनेबारेमा परामर्श गरिरहेको छ । 

बेलायत सरकारले हालसम्म एक लाख ३७ हजारभन्दा बढी व्यक्तिले पहिलो डोज भ्याक्सिन लगाइसकेको जनाएको छ ।