१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:११:oo
Read Time : > 3 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

नेपालमा रेमडेसिभिरको प्रयोग कति प्रभावकारी ?

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:११:oo

चिकित्सकहरू भन्छन्, जटिल खालका कोरोना लक्षण देखिएका बिरामीको स्वास्थ्यमा सुधार ल्याउन रेमडेसिभिर केही हदसम्म फलदायी

कोरोना भाइरसको भ्याक्सिन र औषधि तयार नहुँदासम्म आपत्कालीन अवस्थामा प्रयोगमा ल्याइएको रेमडेसिभिर (एन्टिबाइल) नामक औषधि गत सातादेखि नेपालमा पनि संक्रमितमा प्रयोग हुन थालेको छ । औषधि व्यवस्था विभागका अनुसार अमेरिका, बेलायत, बंगलादेश, चीन, भारत, पाकिस्तानलगायतका मुलुकमा क्लिनिकल परीक्षणका रूपमा प्रयोग भइरहेको रेमडेसिभिरलाई नेपालमा पनि ‘क्लिनिकल ट्रायल’का लागि ११ अगस्टमा प्रयोगमा ल्याउन स्विकृति दिइएको छ । विभागका प्रवक्ता सन्तोष केसीले रेमडेसिभिर नेपाल आयात गर्न तीनवटा भारतीय औषधि कम्पनी (सिप्ला, हेटेरो र माइलन)ले अधिकार पाएको जानकारी दिए । जसमध्ये हाल माइलन कम्पनीमार्फत आयात गरिएको औषधि नेपालमा प्रयोगमा आउन थालेको छ । अन्य दुई कम्पनीले औषधि पठाउने तयारी गरिरहेको उनी बताउँछन् । 

विभिन्न मुलुकमा कोरोनाको लक्षण देखिएका बिरामीमा रेमडेसिभिर औषधिको प्रयोगबाट सामान्यभन्दा निकै समयअगाडि बिरामीको स्वास्थ्य अवस्थामा सुधार आएको भन्दै आपत्कालीन अवस्थामा प्रयोग भइरहेको छ । विभिन्न अध्ययनहरूले छोटो समयमै संक्रमण निको पार्न सहयोगी भएकाले प्रयोगमा ल्याउन सकिने देखाएपछि नेपालमा पनि ट्रायलकै रूपमा प्रयोगमा ल्याउन औषधि व्यवस्था विभागले मान्यता दिएको हो । 

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन कोभिडका बिरामीको उपचार गरिरहेका काठमाडौंका ठूला अस्पतालले प्रयोगमा ल्याइसकेको बताउँछन् । भन्छन्, ‘भर्खरै मात्र प्रयोगमा ल्याइएकाले नेपालमा रेमडेसिभिर औषधि कति प्रभावकारी हुन्छ भन्ने अहिले नै यकिनसाथ भन्न सकिन्न । तर, कोभिडविरुद्ध प्रयोग भइरहेका अन्य औषधि र उपचार पद्धतिभन्दा बढी प्रभावकारी मानिएकाले केही हदसम्म सहयोगी हुन्छ भन्ने आश छ ।’ 

रेमडेसिभिर कोरोना संक्रमितको उपचारमा राम्रो विकल्प बन्न सक्छ

पछिल्लो समय लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएकाले रेमडेसिभिर (एन्टिबाइल) औषधि अहिलेको समयका लागि राम्रो विकल्प बन्न सक्ने बताउँछन्, डा.असरफ हुसेन । भन्छन्, ‘नेपालमा अहिले कोरोनाविरुद्धका लागि प्लाज्मा थेरापी र रेमडेसिभिर मात्र प्रयोगमा आइरहेको छ । केही व्यक्तिमा प्लाज्मा थेरापी गरिए पनि सबैमा गर्न सम्भव छैन । जटिल खालका लक्षण देखिएका बिरामीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन रेमडेसिभिरमाथि आस जागेको छ ।’

रेमडेसिभिर कोरोनाको मुख्य औषधि भने होइन । यसले सबै व्यक्तिमा एक किसिमको प्रभाव पार्छ भन्ने कुनै आधार नभएको बताउँछन्, डा. हुसेन । भन्छन्, ‘यो अन्य औषधिभन्दा केही बढी प्रभावकारी हुन्छ भन्ने मात्रै हो, तर रेमडेसिभिर सबै बिरामीमा प्रयोग गर्न भने मिल्दैन । अहिले पनि ट्रायलकै रूपमा प्रयोग भइरहेकाले शतप्रतिशत नतिजा दिन्छ भन्ने पनि छैन ।’ 

नेपालका अस्पतालले प्रयोेगमा ल्याइसकेपछि मात्र यो औषधिको प्रभावकारिताबारे अनुमान गर्न सकिने उनी बताउँछन् । हुुसेनका अनुसार यसको प्रभावकारिता थाहा पाउन अझै एक महिनाजति समय लाग्न सक्छ । प्लाज्मा थेरापी र रेमडेसिभिरजस्ता औषधि कोरोना रोकथाम र नियन्त्रणको वैकल्पिक उपाय मात्र भएकाले शतप्रतिशत नतिजा ल्याउन जीवनशैलीमा ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् । ‘अहिलेका लागि मास्क लगाउने, कम्तीमा २० सेकेन्ड हात धुने र भौतिक दूरी कायम राख्नु नै कोरोनाबाट बच्ने शतप्रतिशत माध्यम हो,’ डा.हुसेन भन्छन् ।

सरकारी अस्पतालमा रेमडेसिभिर नि:शुल्क पाइने

रेमडेसिभिर औषधि सरकारी अस्पतालमा नि:शुल्क उपलब्ध गराइने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सरकारी अस्पतालले रेमडेसिभिर किनेर बिरामीलाई निःशुल्क दिनुपर्ने र त्यसको भुक्तानी स्वास्थ्य मन्त्रालयले दिने जानकारी दिए । तीनवटा भारतीय कम्पनीमार्फत नेपाल आयात गरिएको रेमडेसिभिर औषधि अब नेपालका सबै सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क पाइनेछ । औषधिको सहज उपलब्धताका लागि सरकारले सरकारी अस्पतालमा नि:शुल्क गरेको हो । निजी अस्पतालमा भने रेमडेसिभिरको मूल्य सात हजारदेखि आठ हजार रुपैयाँ तिर्नुपर्नेछ । 

कति पर्छ मूल्य ?
औषधि व्यवस्था विभागका अनुसार रेमडेसिभिरको मूल्य कम्पनीअनुसार फरक हुन्छ । यो औषधि बिरामीको स्वास्थ्य अवस्थाअनुसार लगातार पाँच दिनसम्म इन्जेक्सनमार्फत ६ देखि ११ वटा भाइल दिन सकिन्छ । विभागका प्रवक्ता सन्तोष केसीका अनुसार, प्रत्येक भाइलको मूल्य भारतमा बिक्री वितरण भइरहेकै मूल्यमा उपलब्ध गराइने सहमति भएको छ । हाल प्रयोगमा आइरहेको माइलन नामक कम्पनीले उपलब्ध गराइरहेको औषधि प्रतिभाइल सात हजार ६ सय रुपैयाँ पर्छ । यसरी एक विरामीको कम्तीमा ४२ हजारदेखि ७७ हजार रुपैयाँसम्म खर्च हुन्छ । 

के हो रेमडेसिभिर ?
रेमडेसिभिर अमेरिकी कम्पनी ‘गिलिड साइन्सेस’ले उत्पादन गर्छ । हेपाटाइटिस सीका बिरामीका लागि सन् २००९ मा यसको उत्पादन थालिए पनि पछिल्लो समय इबोला, सार्स र मर्स भाइरसका संक्रमितमा पनि यो औषधि प्रयोगमा ल्याइएको थियो । विश्वमै रेमडेसिभिरलाई कोरोना भाइरसविरुद्ध प्रभावकारी औषधि मानिएको र तत्काल कोरोना संक्रमितमा प्रयोग गर्न मिल्ने प्रभावकारी एन्टिबाइल मानिएको छ । 

अमेरिका, भारत, जापान, अस्ट्रेलिया, बेलायतलगायत मुलुकमा यो औषधिको क्लिनिकल ट्रायल भइरहेको छ । नेपालमा पनि दुई साताअगाडि औषधि व्यवस्था विभागले क्लिनिकल ट्रायलका लागि मान्यता दिएको छ । हाल नेपालमा पनि केही अस्पतालले संक्रमितमा रेमडेसिभिर प्रयोग गरिरहेका छन् ।

नेपालमा पनि सिकिस्त बिरामीमा रेमडेसिभिर औषधि दिँदा सामान्यभन्दा निकै समयअगाडि बिरामीको स्वास्थ्य अवस्थामा सुधार आएको पाइएकाले प्रयोगमा ल्याउन अनुमति दिइएको बताइएको छ । 

गत असारमै अमेरिकामा क्लिनिकल परीक्षणपछि इन्जेक्सनमार्फत कोभिडका बिरामीलाई यो औषधि दिँदा चाँडै निको भएको भन्दै प्रयोगमा ल्याउन सुरु गरिएको थियो । 

कोरोना भाइरसको खोप र औषधि तयार नहुँदासम्म रेमडेसिभिरलाई विकल्पका रूपमा प्रयोग गर्न मान्यता दिइएको छ । यो औषधि नेपाल ल्याउन औषधि व्यवस्था विभागले तीनवटा भारतीय औषधि कम्पनीलाई मान्यता दिएको छ । हालसम्म माइनल नामक कम्पनीमार्फत यो औषधि नेपाल आयात भइरहेको छ । कोभिडको उपचार गरिरहेका ठूला अस्पतालमा गत बिहीबारदेखि प्रयोगमा ल्याउन थालिएको छ । 

ad
ad