लगातार प्राकृतिक विपद्को सामना गरिरहेको नेपालमा विदेशी पर्यटक आगमन भने बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को सेप्टेम्बरमा ८८ हजार २ सय ४८ पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२.१ प्रतिशत बढी हो।
पर्यटक आगमनमा वृद्धि भए पनि बजारगत अवस्था भने मिश्रित छ। दक्षिण एसियाबाट आउने पर्यटक २३.९ प्रतिशत बढेर ३० हजार ८५ पुगेका छन्। अघिल्लो वर्ष यस क्षेत्रबाट २४ हजार २ सय ८५ पर्यटक आएका थिए।
अन्य एसियाली मुलुकबाट आगमन ५८ प्रतिशत बढेर १९ हजार ८ सय ८८ पुगेको छ। यसमा चीनको वृद्धि उल्लेख्य छ। गत वर्ष सेप्टेम्बरमा ५ हजार २ सय ३७ चिनियाँ पर्यटक आएकोमा यस वर्ष ११ हजार २ सय १२ पुगेका छन्। चीनबाट पर्यटक आगमन ११४.१ प्रतिशत बढेको हो।
भारतबाट १७ हजार ४ सय २५, श्रीलंकाबाट ७ हजार १ सय ८ र बंगलादेशबाट ३ हजार ९ सय ६४ पर्यटक नेपाल आएका छन्। जापानबाट आउने पर्यटक पनि ४५।४ प्रतिशत बढेर २ हजार ६६ पुगेका छन्।
यता युरोपबाट पर्यटक आगमन ८.७ प्रतिशत घटेर १५ हजार १ सय ४८ मा झरेको छ। बेलायतबाट आउने पर्यटक २५।२ प्रतिशत घटेर ३ हजार ७ सय २५ पुगेका छन्।
अमेरिकी महादेशबाट आउने पर्यटक पनि १२.३ प्रतिशत घटेर १० हजार १ सय ७ मा सीमित भएका छन्। अमेरिकाबाट मात्रै ८ हजार २ सय ९९ पर्यटक आएका छन्।
यसबीच मध्यपूर्वबाट आउने पर्यटक भने ११.९ प्रतिशत बढेका छन्। समग्र तथ्यांकले प्राकृतिक विपद्को चुनौतीका बाबजुद एसियाली बजारको वृद्धिले नेपालको पर्यटक आगमनलाई माथि उकासेको देखाएको छ।