२० वर्ष जागिर खाएका र ५५ वर्ष उमेर कटेका कर्मचारीलाई स्वेच्छिक अवकासको कानुनी व्यवस्था खुलाइएको छ । निजामती विधेयकको दफा ६० मा यसबारे व्यवस्था छ ।
विधेयकमा निजामती कर्मचारीले जुनसुकै बखत राजीनामा दिई स्वेच्छिक अवकास लिन सक्ने भनिएको छ । निवृत्तिभरण पाउने अवस्था र ५५ वर्ष उमेर पूरा भएका कर्मचारीले स्वेच्छिक अवकास पाउनेबारे विधेयकमा व्यवस्था छ । यसका लागि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्ने र सूचनामा उल्लिखित सर्तको अधिनमा रही स्वेच्छिक अवकास लिन सक्ने व्यवस्था गरिएको छ ।
स्वेच्छिक अवकास लिने कर्मचारीको ६० वर्षे उमेर ननाघ्नेगरी बढीमा पाँच वर्षसम्म सेवाअवधि थप गरी निवृत्तिभरणका लागि जम्म सेवाअवधि कायम गर्नुपर्ने प्रबन्ध गरिएको छ ।
तर, फाजिलमा परेका वा सरकारलाई आवश्यक नभएका पदमा कार्यरत् कर्मचारीका हकमा छुट्टै सर्त र सुविधा तोकी राजपत्रमा सूचना प्रकाशन गरी स्वेच्छिक अवकासका लागि निवेदन माग गर्न सकिने उल्लेख छ ।