भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका प्राकृतिक विपतकाे अध्ययन तथा अनुगमन गर्न राष्ट्रिय सभाले संसदीय विशेष समिति गठन गरेको छ । बिहीबारको बैठकले गठन गरेको समितिले विपतका कारण, जोखिम र दीर्घकालीन प्रभावको अध्ययन गर्दै जोखिम न्यूनीकरण, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक उपाय सिफारिस गर्नेछ ।
समितिले जलवायु परिवर्तनको प्रभाव, पूर्वसूचना प्रणाली, पुनर्निर्माण तथा नयाँ बस्ती बसाउँदा सुरक्षित स्थान पहिचानलगायतका विषयमा अध्ययन गर्नेछ । साथै, विपत प्रभावित छिमेकी मुलुकसँग सूचना, प्रविधि र स्रोतसाधन आदानप्रदानको सम्भावनासमेत अध्ययन गर्नेछ ।
समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य छन् । समितिको कार्यावधि ०८३ पुस मसान्तसम्म रहनेछ ।
यसअघि प्रतिनिधिसभाले पनि भोटेकोशी बाढीलगायत प्राकृतिक विपतकाे अध्ययनका लागि संसदीय विशेष समिति गठन गरिसकेको छ ।