गृह मन्त्रालयका ७० कर्मचारीको सरुवा
गृह मन्त्रालयले नासु, कम्प्युटर अपरेटर र खरिदार गरेर ७० जनाको सरुवा गरेको छ। शुक्रबारका निर्णयहरू लामो समय एउटै कार्यालयमा बस्दै आएका कर्मचारीको सरुवा भएको हो।
त्यस्तै, गृहले सिराहाका सिडिओ सुरेन्द्र पौडेललाई जिम्मेवारीबाट हटाइएको छ। त्यस्तै, मन्त्रालयमा रिक्त रहेको प्रशासन महाशाखामा सुरेश न्यौपाने तथा नीति योजनामा दिनेशसागर भुसाललाई जिम्मेवारी दिइएको छ।
यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको डिएनए परीक्षण तथा बेपत्ता भई परिवारले आशा मारिसकेका व्यक्तिहरूको मृत्यु प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया शीघ्र अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
‘बाढीमा परी ज्यान गुमाएका, तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डिएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिहरूको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंगोमा पुऱ्याई पीडित परिवारलाई राहत तथा सुविधा प्रदान गर्न बैठकले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ,’ निर्णयमा भनिएको छ।
काठमाडौं उपत्यकामा ६ रुटमा ३० वटा रात्रिकालीन बस सञ्चालन
काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै ६ वटा रुटमा ३० वटा बस सञ्चालन गरिने भएको छ।
काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा सञ्चालन भइरहेको रात्रिकालीन बस सेवालाई थप व्यवस्थित र दिगो बनाउन उपत्यकाका ९ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका हुन्।
संविधान दिवसका अवसरमा स्थानीय तहका प्रमुख तथा साझा यातायातबiच रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका वेला उदयपुर कांग्रेसमा विवाद सतहमै आएको छ । जिल्ला सभापति हिमाल कार्की नेतृत्वको आधिकारिक जिल्ला कार्यसमिति एकातिर रहेकै अवस्थामा शेरबहादुर देउवा पक्षले छुट्टै अधिवेशन आयोजक समिति गठन गरेपछि जिल्लामा कांग्रेस औपचारिक रूपमा दुई समूहमा विभाजित भएको हो ।
देउवा पक्षले त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतको संयोजकत्वमा ३१ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको जनाएको छ ।
सिआइबीको छानबिनमा एन्फा, कोषाध्यक्षसहित दुई पक्राउ
अखिल नेपाल फुटबल संघ(एन्फा)का गतिविधि र आर्थिक कारोबारमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले विस्तृत अनुसन्धान थालेको छ। एन्फाका कोषाध्यक्ष र लेखापाललाई पक्राउ गरी सिआइबीले अनुसन्धान थालेको हो।
शुक्रबार पक्राउ परेका कोषाध्यक्ष रवीन्द्र जोशी तथा लेखापाल सञ्जीव पाण्डेलाई थुनामा राख्न सिआइबीले आइतबार अदालतबाट म्याद लिएको छ। ठगी मुद्दामा चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद प्राप्त भएको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए।
ज्ञानेन्द्र मल्ललाई रास्वपाको युवा खेलकुद विभाग उपप्रमुखको जिम्मेवारी
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय स्वतन्त्र पार्टीले युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखको जिम्मेवारी दिएको छ। आइतबार बसेको पार्टीको बैठकले मल्ललाई सो जिम्मेवारी दिएको हो।
क्रिकेटर मल्ल यसअघि रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा पनि समावेश थिए।
किन पक्राउ परे विश्लेषक भरत दाहाल ?
राजनीतिक विश्लेषक एवं त्रिमूल पार्टीका अध्यक्ष भरत दाहाल आइतबार बिहानै पक्राउ परे। दाङको तुलसीपुर उपमहानगरपालिका– ८ घर भई हाल काठमाडौं बस्दै आएका दाहाल मोरङको सुन्दरहरैँचा नगरपालिका– ८ स्थित सलकपुरबाट पक्राउ परेका हुन्।
बिहान पसलमा चिया खाँदै गरेको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले नियन्त्रणमा लिएको थियो। दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारकारको कडा आलोचना गर्दै आएका छन्।
२०औँ एसियाली खेलकुद : एरिका पनि पदकविहीन
जापानको नागोया–आइचीमा चलिरहेको २०औँ एसियाली खेलकुदमा स्वर्ण पदकको आशा गरिएकी कराँतेकी एरिका गुरुङ पनि पदकविहीन भएकी छिन्। आइतबार तोयोहासी जिम्यासिंउम हलमा भएको ६८ केजीमाथिको कांस्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मोस्तफा दिना अहमदसँग ८–७ ले पराजित भइन्।
एक मिनेटसम्म अग्रता बनाए पनि एरिका मोस्तफासँग पराजित हुन पुगेकी हुन्। मोस्तफाले अन्तिम समयमा दुई अंक हासिल गर्दै एरिकालाई पराजित गरेर कांस्य पदक प्राप्त गरिन्।
नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (इडिएलभिआरएस)मार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको हो।
क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञ सेवा लिन ‘क्षेत्रगत विज्ञहरूको सूची (रोस्टर) तयार गर्ने भएको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै योग्यता र अनुभव पुगेका इच्छुक नेपाली नागरिकलाई असोज ८ गतेसम्म आवेदन दिन आह्वान गरेको हो।