सर्लाहीको लालबन्दीमा पौडी खेल्न पोखरीमा पसेका एक किशोर डुबेर बेपत्ता भएका छन्।
आइतबार दिउँसो लालबन्दी नगरपालिका–१२, जियाजोरस्थित पोखरीमा पौडी खेल्न पसेका लालबन्दी नगरपालिका–११ निवासी देवेन्द्र ठाकुरका छोरा १५ वर्षीय राजु ठाकुर डुबेर बेपत्ता भएका हुन्।
किशोर पोखरीमा डुबेको खबर पाएलगत्तै पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले साँझसम्म खोजी गरेका थिए। तर, किशोर फेला नपरेको प्रहरीले जनाएको छ।
गहिरो र लेदो माटोमा किशोर फसेको हुन सक्ने अनुमान गरिएको छ। दिउँसो अबेरसम्म किशोर फेला नपरेपछि आजका लागि खोजी कार्य स्थगित गरिएको वडाध्यक्ष दुर्गाबहादुर आलेले जानकारी दिए। ‘‘रात परेकोले आजका लागि खोजी कार्य स्थगित गरिएको छ। भोलि बिहानैदेखि फेरि खोजी गर्ने कुरा भएको छ,’’ उनले भने।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनाको पुष्टि गर्दै भोलि बिहानदेखि प्राविधिक टोलीको समेत मद्दतमा फेरि खोजी गरिने जानकारी दिए।
घटनापछि बेपत्ता किशोरको गाउँ शोकमा डुबेको छ।