मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ४ आइतबार
  • Sunday, 20 September, 2026
२o८३ असोज ४ आइतबार २o:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुर कांग्रेसमा औपचारिक रूपमा दुई समूहमा विभाजितः देउवा पक्षले वसन्त बस्नेतलाई जिल्ला संयोजक तोक्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज ४ आइतबार २o:o२:oo

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका वेला उदयपुर कांग्रेसमा विवाद सतहमै आएको छ । जिल्ला सभापति हिमाल कार्की नेतृत्वको आधिकारिक जिल्ला कार्यसमिति एकातिर रहेकै अवस्थामा शेरबहादुर देउवा पक्षले छुट्टै अधिवेशन आयोजक समिति गठन गरेपछि जिल्लामा कांग्रेस औपचारिक रूपमा दुई समूहमा विभाजित भएको हो । 

देउवा पक्षले त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतको संयोजकत्वमा ३१ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको जनाएको छ ।

आइतबार गाईघाटमा आयोजना गरिएको नेता–कार्यकर्ता भेला तथा अन्तर्क्रियापछि बस्नेतलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो । बस्नेतले आफूलाई जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला संयोजकको जिम्मेवारी दिइएको बताए। ‘हामीले औपचारिक रूपमा उदयपुर कांग्रेसमा दुई समूह गठन गरेका छौँ । साथीहरूले जिल्ला अधिवेशन सम्पन्न गर्न मलाई जिल्ला संयोजकमा चयन गर्नुभएको छ,’ उनले भने ।

देउवा पक्षले असोज १५ गतेदेखि वडा, पालिका हुँदै जिल्ला तहका अधिवेशन प्रक्रिया अघि बढाउने तयारीस्वरूप नेता–कार्यकर्ता भेला आयोजना गरेको जनाएको छ । भेलामा कांग्रेसका केन्द्रीय सदस्य नारायणबहादुर कार्की, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामकुमार खत्रीलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

कार्यक्रममा ‘नेपाली कांग्रेस उदयपुर कार्यकर्ता भेला तथा अन्तर्क्रिया कार्यक्रम’ लेखिएको ब्यानर राखिएको थियो । आयोजक पक्षका नेताहरूले पार्टीभित्र देखिएको विभाजनलाई अन्ततः एकतामै लैजानका लागि कार्यकर्ता भेला आयोजना गरिएको दाबी गरेका छन् । 

उदयपुरमा कांग्रेसको अधिवेशन प्रक्रिया सुरु हुनुअघि नै दुई पक्षबिच विवाद देखिएको थियो । जिल्ला सभापति हिमाल कार्कीले आफ्नो नेतृत्वमा रहेको जिल्ला कार्यसमिति नै आधिकारिक भएको दाबी गरेका छन् । उनका अनुसार उदयपुरका ७५ वटै वडामा अधिवेशन प्रक्रिया अघि बढिसकेको छ र अब पालिका अधिवेशनको तयारी भइरहेको छ । ‘हामीले ७५ वडामा वडा अधिवेशन सकेका छौँ । अब पालिका अधिवेशनको तयारीमा जुटेका छौँ,’ कार्कीले भने ।

देउवा पक्षले आयोजना गरेको छुट्टै भेलाबारे भने आफूलाई औपचारिक जानकारी नभएको उनले बताए । ‘भेला भएको भन्ने सुनेको छु, तर आधिकारिक रूपमा जानकारी छैन । हामी मात्र आधिकारिक कांग्रेस हौँ,’ उनले भने ।

यसअघि पनि उदयपुर कांग्रेसमा विभिन्न गुटबिच नेतृत्वलाई लिएर प्रतिस्पर्धा हुँदै आएको थियो । अहिलेको विवाद भने महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भइसकेको समयमा समानान्तर रूपमा अधिवेशन अघि बढाउने तयारीसम्म पुगेको छ।