प्रधानमन्त्री र विभागीय मन्त्रीले ब्रान्ड प्रवर्द्धन गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)को व्यापारले गति लिएको छ । पछिल्ला तीन महिनामै संस्थानको समग्र कारोबार ३५ प्रतिशतले बढेको छ भने आम्दानीमा समेत सुधार देखिएको छ । व्यापार विस्तारसँगै लामो समयदेखि भुक्तानीको प्रतीक्षामा रहेका दुग्ध किसानले पनि राहत पाउन थालेका छन् ।
प्रधानमन्त्री बालेन साहले २ जेठमा फेसबुकमार्फत एक पोस्ट सेयर गर्दै डिडिसीको याक चिजको प्रवर्द्धन गरेका थिए । प्रधानमन्त्री शाहको साथ पाएपछि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले २६ जेठको मन्त्रिपरिषद् बैठकबाटै डिडिसीको प्रवर्द्धन गरेकी थिइन् । मन्त्री चौधरीले सबै मन्त्रीलाई डिडिसीका उत्पादन दिएर ‘ब्रान्डिङ’ गरेकी थिइन् । डिडिसीका महाप्रबन्धक डा. शरण पाण्डेले प्रधानमन्त्री र विभागीय मन्त्रीको साथले उत्साह थपिएको र व्यापारमा वृद्धि भएको बताए । ‘ब्रान्डिङसँगै व्यापारमा समेत सुधार आएको छ । तीन महिनायता व्यापारमा ३५ प्रतिशतले वृद्धि भएको छ । व्यापारमा भएको वृद्धिले आम्दानीमा समेत सुधार भएको छ,’ उनले नयाँ पत्रिकासँग भने ।
डिडिसीको योजना, मानव संशोधन तथा बजार व्यवस्थापन विभागमा कार्यरत अर्थविज्ञ अञ्जन अधिकारीका अनुसार आव ०८२/८३ को अन्तिम तीन महिना (वैशाख, जेठ र असार)मा अघिल्लो आव ०८१/८२ को सोही अवधिसँग तुलना गर्दा दुई करोड रुपैयाँ बढीको कारोबार भएको छ । गत आवको अन्तिम तीन महिनामा ९९ करोड रुपैयाँको कारोबार भएको उनले जानारी दिए । ‘अघिल्लो आवको सोही अवधिमा ९७ करोडको व्यापार भएको थियो । समीक्षा अवधिमा दुई करोड बढीको कारोबार भएको हो,’ उनले भने, ‘डिडिसीसँग थोरै मूल्यको निश्चित उत्पादन मात्रै भएकाले व्यापारमा ठुलो अंकको सुधार आउन समय लाग्छ,’ उनले भने, ‘यसपालि देखिएको सुधारलाई आगामी दिनमा निरन्तरता दिने योजनाका साथ काम गरिरहेका छौँ ।’
प्रधानमन्त्री शाहले बालुवाटारबाटै याक चिजको प्रवर्द्धन गरेपछि भने याक चिजको खुद्रामा माग बढ्न थालेको छ । अधिकारीका अनुसार ०८२/८३ को अन्तिम तीन महिनामा १५ हजार किलो याक चिज बिक्री भएको छ । त्यसअघि, ०८१/८२ को अन्तिम तीन महिनामा ११ हजार किलो मात्र बिक्री भएको थियो । ‘समीक्षा अवधिको बिक्री तुलना गर्दा चार हजार किलो याक चिजको खपत बढेको छ,’ उनले भने ।
व्यापारमा आएको सुधारसँगै डिडिसीले किसानको बक्यौता घटाउन थालेको र दुध खरिद पनि बढाएको छ । ‘प्रधानमन्त्री र मन्त्रीज्यू नै डिडिसीको गरिमा बढाउन क्रियाशील भइरहका वेला दुग्ध किसानको बक्यौतालाई चाँडो टुंग्याउनुपर्छ भनेर प्रयास गरिहेका छौँ । बक्यौता भुक्तानीमा उल्लेख्य सुधार पनि भएको छ,’ उनले भने, ‘चार महिनाअघि ६५ करोड रहेको बक्यौता भुक्तानीलाई अहिले १२ करोडमा झारिएको छ । थप रकम पनि चाँडै भुक्तानी हुन्छ,’ उनले भने, ‘देशभरका करिब डेढ लाख किसानबाट दुध संकलन गरिरहेका छौँ । किसानको भरोसा जगाउने गरी सात सय दुग्ध सहकारीमार्फत किसानले उत्पादन गरेको दुध दैनिक रूपमा संकलन भइरहेको छ ।’
महाप्रबन्धक पाण्डेले दुध बेचेर परिवारको खर्च धान्ने किसानको संख्या धेरै रहेकाले नियमित भुक्तानी र बक्यौता चुक्तालाई सँगसँगै कार्यान्वयन गरिरहेको बताए । ‘दुध बेचेर परिवारको खर्च धान्ने साना किसान हामीसँग धेरै जोडिएका छन् । जसले बिहान–बेलुका दुई–तीन लिटर दुध जम्मा गर्दै आएका छन्,’ उनले भने, ‘त्यसैले यस्ता किसानको पैसा धेरै समय राख्नुहुँदैन भनेर अहिले दुध खरिदबापतको भुक्तानीलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छौँ ।’
डिडिसीले किसानको भुक्तानीलाई नियमितता दिएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले पनि पुष्टि गरेका छन् । ‘डिडिसीको सबै बक्यौता त सकिएको छैन, तर अहिले नियमित रूपमा थोरै–थोरै भए पनि पैसा दिइरहेको छ,’ उनले भने, ‘पहिलेजस्तो पैसा दिन बन्द भएको छैन । चाँडै बक्यौता चुक्ता गरिसक्ने डिडिसी व्यवस्थापनले प्रतिबद्धता पनि जनाएको छ । पैसा पाइरहँदा दुध संकलनमा पनि सुधार भएको छ ।’ डिडिसीको व्यापारमा आएको सुधारबाट किसान पनि खुसी भएको संघ अध्यक्ष कुँवरले बताए । ‘डिडिसीले व्यापार वृद्धि गरेको सुन्दा खुसी लागेको छ । डिडिसीको व्यापार जति बढी हुन्छ, दुध संकलन पनि बढ्ने र हामीले नियमित रूपमा भुक्तानी पनि पाउने स्थिति बन्छ,’ दुग्ध किसानसमेत रहेका संघ अध्यक्ष कुँवरले बताए ।
डिडिसीले व्यापार बढ्न थालेपछि किसानलाई दिने भुक्तानी रकमसमेत वृद्धि गरेको छ । तीन प्रतिशत चिल्लो र आठ प्रतिशत ठोस पदार्थ भएको दुधको प्रतिलिटर मूल्य ६५ रुपैयाँ रहेकोमा १ असारदेखि बढाएर ६६ रुपैयाँ पुर्याइएको छ । डिडिसीले दुधको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएर किसानलाई दिने भुक्तानी मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको छ ।
डिडिसीले सबैभन्दा बढी बागमती प्रदेशका किसानबाट दुध संकलन गर्दै आएको छ । काभ्रे, सिन्धुपाल्चोक, चितवन, मकवानपुरलगायत धेरै दुध उत्पादन हुने जिल्ला भएकाले बागमतीमा मात्रै समग्र दुध संकलनको ५० प्रतिशत हिस्सा रहेको डिडिसीले जनाएको छ । त्यसपछि कोशी प्रदेशबाट २० प्रतिशत, लुम्बिनी प्रदेशबाट १५ प्रतिशत र मधेश प्रदेशबाट पाँच प्रतिशत दुध संकलन भइरहेको डिडिसीको तथ्यांक छ । कोहलपुर र धनगढीस्थित कारखानाबाट पनि दुध संकलन हुने गरेको छ ।
महाप्रबन्धक पाण्डेले बजार विस्तारका क्रममा घिउ निर्यातसमेत हुन लागेको बताए । ‘मध्यपूर्वमा डिडिसीको घिउ निर्यात गर्न निजी क्षेत्रसँग सम्झौता भइसकेको छ । वार्षिक कम्तीमा ५० हजार लिटर घिउ निर्यात हुनुपर्ने सर्त राखेर सम्झौता भएको छ,’ उनले भने, ‘अहिले घिउ निर्यातका लागि आवश्यक प्रमाणीकरणको काम भइरहको छ । कम्तीमा दसैँअघिदेखि घिउ निर्यात सुरु हुने अपेक्षा छ ।’
डिडिसी घिउ यसअघि जापानमा समेत पुग्ने गरेको थियो । तर, त्यतिखेर डिडिसीको प्रत्यक्ष संलग्नता नभएको र निजी कम्पनीले आफ्नो हिसाबले निर्यात गरेका कारण अहिले रोकिएको छ । मध्यपूर्वमा भने डिडिसीको प्रत्यक्ष संलग्नतामा निर्यात हुन लागेको हो । ‘मध्यपूर्वको माग राम्रो भयो भने अन्यत्र पनि निर्यातका लागि पहल गर्छौँ,’ पाण्डेले भने ।
बढ्दो बजार माग धान्नका लागि डिडिसीले काठमाडौंमा दसैँअघिसम्म ५० वटा बिक्री केन्द्र विस्तार गर्ने भएको छ । अहिल लैनचौर, खुमलटार र सिंहदरबारमा गरी तीनवटा मात्र बिक्री केन्द्र छन् । ‘आफ्नै बिक्री केन्द्रमार्फत डिडिसीका उत्पादन बिक्री गरेर बजार बढाउन लागिएको बताए । ‘दसैँसम्म काठमाडौं उपत्यकामा मात्र ५० वटा बिक्री केन्द्र खोल्दै छौँ,’ महाप्रबन्धक पाण्डले भने, ‘साउनमा मात्र १० वटा बिक्री केन्द्र खोल्ने योजनाअनुसार ठाउँ छनोट भइसकेको छ । अब सटर भाडामा लिने काम टुंग्याउँछौँ ।’
डिडिसी पहिलोपटक अनलाइन व्यापारमा समेत प्रवेश गरेको छ । ललितपुरको एकान्तकुनामा अनलाइन व्यापारका लागि बिक्री केन्द्र सञ्चालनमा आइसकेको अर्थविज्ञ अधिकारीले बताए । ‘सातदोबाटो, भैँसेपाटी, सानेपालगायतका उपभोक्तालाई लक्षित गरी एकान्तकुनामा पसल सञ्चालन भइसकेको छ,’ उनले भने, ‘अनलाइन अर्डरका लागि केही प्राविधिक पक्षहरू मिलाइरहेका छौँ । चाँडै अनलाइन अर्डर लिएर ‘होम डेलिभरी’ सेवा सुरु गर्छौँ । अनलाइन व्यापारका लागि थप बिक्री केन्द्र पनि खोल्छौँ ।’
दुध ढुवानीका लागि ६५ र अन्य उत्पादन बिक्रीका लागि काठमाडौंमा अहिले चारवटा गाडी (डेलिभरी भ्यान) प्रयोगमा छन् । तर, बजार माग बढेकाले गाडीको संख्या थप्न लागिएको प्रशासन विभागका निमित्त प्रमुख सञ्जीव झाले बताए । ‘उत्पादनको माग बढेकाले गाडी संख्या थपेर बजारमा उपस्थिति बढाउनुपर्ने भएको छ,’ उनले भने । उनका अनुसार हाल काठमाडौं उपत्यकासहित देशभर करिब १४ सय खुद्रा विक्रेतामार्फत डिडिसीका उत्पादन बिक्री भइरहेका छन् ।
तीन हजार याक पालेर चिज उत्पादन, किसानलाई अग्रिम भुक्तानी
डिडिसीले हिमाली याकको दुधबाट उत्पादन हुने याक चिजको उत्पादन र बजारीकरण गर्दै आएको छ । रसुवा, दोलखा, रामेछाप र सोलुखुम्बुमा डिडिसीको प्रवर्द्धनमा करिब आठ सय याक गोठ सञ्चालनमा छन् । डिडिसीका प्रशासन विभागका निमित्त प्रमुख सञ्जीव झाले प्रत्येक गोठमा औसत चार–पाँचवटा याक पालिने गरेको बताए । ‘यो हिसाबले कम्तीमा तीन हजार याक डिडिसीको कार्यक्रममार्फत हिमाली क्षेत्रमा पालिँदै आएका छन्,’ उनले भने । उनका अनुसार एउटा याकले दैनिक करिब चार लिटर दुध दिन्छ ।
याक पाल्ने किसानलाई प्रोत्साहन गर्न डिडिसीले दुध खरिद गर्दा ५० प्रतिशत रकम अग्रिम भुक्तानी गर्ने व्यवस्था गरेको छ । याक पालनको लागत र जोखिम अन्य पशुपालनभन्दा बढी हुने भएकाले किसानलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको उनको भनाइ छ । ‘वैशाखदेखि असोजसम्मको गर्मीयाममा मात्रै याकले दुध दिन्छ । यो समयमा याकहरू उच्च हिमाली क्षेत्रमा चरनका लागि जाने भएकाले गोठ पनि त्यहीँ सञ्चालन गरिन्छ,’ झाले भने । उनका अनुसार चिज उत्पादन गर्ने साना प्रशोधन केन्द्र पनि गोठकै आसपास रहने भएकाले दुध दुहुनासाथ चिज उत्पादन गरिन्छ । जाडो मौसममा भने याकबाट दुध उत्पादन नहुने उनले बताए ।
हाल डिडिसीले गाई–भैँसीको दुधको प्रतिलिटर ६६ रुपैयाँका दरले खरिद गरिरहेको छ भने याकको दुधका लागि प्रतिलिटर सय रुपैयाँ भुक्तानी गर्दै आएको छ । ‘याकको दुधमा ५–६ प्रतिशतसम्म चिल्लो पदार्थ हुन्छ, जुन अन्य पशुको दुधभन्दा धेरै हो । यसको शुद्धतामा पनि कुनै सम्झौता गरिएको हुँदैन,’ झाले भने ।
उनका अनुसार डिडिसीले वार्षिक करिब ६० हजार किलो याक चिज उत्पादन गर्छ, तर यसको बजार अझै सीमित छ । ‘याक चिज मुख्यतः विदेशी पर्यटकले बढी रुचाउँछन् । त्यसैले उत्पादनस्थलमै ३०–४० प्रतिशत चिज बिक्री हुन्छ,’ उनले भने । रसुवा, दोलखा र सोलुखुम्बुजस्ता पर्यटकीय क्षेत्रमा पर्यटकको उच्च आवागमन भएकाले त्यहीँ धेरै खपत हुने गरेको उनले बताए । बाँकी उत्पादन काठमाडौंलगायत सहरी क्षेत्रका होटेल तथा रेस्टुरेन्टमार्फत बिक्री हुने गरेको छ । खुद्रा बजारमा भने याक चिजको बिक्री अझै न्यून रहेको डिडिसीले जनाएको छ ।
आधा दर्जनभन्दा बढी उत्पादन, दुधको हिस्सा मात्रै ९० प्रतिशत
डिडिसीले आधा किलोको पाउजमा चार थरी दुध बिक्री गर्दै आएको छ । सबैभन्दा बढी बिक्री हुने स्ट्यान्डर्ड मिल्कको प्रतिलिटर सय रुपैयाँ मूल्य छ । पाँच प्रतिशत चिल्लो पदार्थ भएको ‘होल्क मिल्क’ प्रतिलिटर १२६ रुपैयाँमा उपलब्ध छ । १.५ प्रतिशत चिल्लो र ९.५ प्रतिशत ठोस पदार्थ भएको ‘टी–मिल्क’ प्रतिलिटर ९० रुपैयाँ पर्छ । यो दुधबाट धेरै कप चिया बन्ने भएकाले खाजाघर र होटेल–रेस्टुरेन्टमा बढी खपत हुने गरेको छ । गाईको शुद्ध दुधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ निर्धारण गरिएको छ । यसमा ३.५ प्रतिशत चिल्लो र ७.५ प्रतिशत ठोस पदार्थ हुन्छ । पूजापाठदेखि बच्चलाई खुवाउन यो दुधको माग उच्च छ । महाप्रबन्धक पाण्डेका अनुसार कुल कारोबारमा दुधको हिस्सा ९० प्रतिशत छ । दुधपछि दहीको खपत पाँच प्रतिशत छ । पनिर, चिज, याक चिज, नौनी घिउ, घिउ, आइसक्रिम, मिठाई, रसबरी, लालमोहनलगायत उत्पादनको एकमुस्ट हिस्सा पाँच प्रतिशत रहेको महाप्रबन्धक पाण्डले बताए । उनका अनुसार डिडिसीले बजार पठाएको दुध उपभोक्ताको रुचिमा छन् । ‘त्यसैले दुध संकलन बढाएर उत्पादनसमेत बढाउने योजनाका साथ काम गरिरहेका छौँ,’ उनले भने ।
दैनिक ६५ हजार लिटर दुध संकलन, ८० हजार लिटर बिक्री
डिडिसीका अनुसार अहिले दैनिक ६५ हजार लिटर दुध संकलन भइरहेको छ । जबकि संस्थानको अर्थविज्ञ अञ्जन अधिकारीले अहिले दैनिक ८० हजार लिटर दुध बिक्री भइरहेको बताए । यसका लागि डिडिसीले पाउडर धोलेर दुध बजार पठाउने गरेको छ । ‘जाडो मौसममा संकलन धेरै हुन्छ, त्यतिवेला बजार मागभन्दा बढी दुध संकलन गरेर पाडउर, बटरलगायत बनाएर राखिन्छ,’ प्रशासन विभागका निमित्त प्रमुख सञ्जीव झाले भने, ‘जाडो मौसममा संकलन गरेर राखेको दुधबाट बनेको पाउडर अहिले पानीमा घोलेर तरल दुध बनाई बिक्री गरेका छौँ ।’ दुधपछि सबैभन्दा ठुलो हिस्सा दहीको छ । झाका अनुसार दैनिक सात हजार लिटर दही तथा घिउ हजार लिटर, चिज पाँच सय किलो, पनिर चार सय किलो र मिठाई चार–पाँच सय बट्टा बिक्री हुने गरेको छ । १० वर्षअघिसम्म बजारमा डिडिसीको हिस्सा ५० प्रतिशत थियो । अहिले घटेर २० प्रतिशतमा आएको छ । ‘चालू आव ०८३/८४ देखि पुरानो साख फर्काउने योजनाका साथ आक्रामक बजार विस्तारमा लागेका छौँ,’ झाले भने ।