मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
उद्धव अधिकारी
२o८३ श्रावण १६ शनिबार o८:५३:oo
Read Time : > 4 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भविष्यको भरोसा : कोदो

कोदो ‘गरिबको अन्न’ होइन, ‘भविष्यको अन्न’ हो

Read Time : > 4 मिनेट
उद्धव अधिकारी
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार o८:५३:oo

सरकारले धान, मकै, गहुँ र कोदोलाई मुख्य खाद्यान्न बालीका रूपमा स्वीकार गरे पनि कोदोलाई सीमान्त वा उपेक्षित र कम उपयोगमा आएको बालीको वर्गमा राख्ने गरेको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपाललगायत संघ–संगठनले झन्डै एक दशक लामो पैरवी गरेपछि नेपाल सरकारले कोदो बालीलाई महत्व दिएर साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ मनाउने निर्णय गरेको थियो । यो स्वागत योग्य निर्णय हो । यद्यपि, कृषि जैविक विविधताको क्षयीकरण कम गर्न र जलवायु परिवर्तनबाट सिर्जित समस्यासँग जुध्न कोदोलगायत लोप हुँदै गरेका पर्यावरणमैत्री र पोषणयुक्त बालीसमेत समावेश हुने गरी ‘कोदोजन्य बालीको दिवस’ घोषणा भएको भए धेरै मानेमा अर्थपूर्ण हुने थियो।

कोदो दिवस मनाइरहँदा हामी यसको चर्चा गर्छौं । साना–ठुला कार्यक्रम हुन्छन्, भाषण हुन्छन्, सामाजिक सञ्जालमा शुभकामना सन्देश आदान–प्रदान हुन्छन् । तर, एउटा गम्भीर प्रश्न भने अझै बाँकी नै छ– के हामी कोदोको वास्तविक मूल्य बुझिरहेका छौँ ? कि केवल एक दिन सम्झेर बाँकी वर्ष बिर्सिरहेका छौँ ?

तथ्यांक भन्छ– जनसंख्याको १३ प्रतिशत, अर्थात् ४६ लाख जनसंख्या कुनै न कुनै रूपमा खाद्य असुरक्षाको समस्या भोगिरहेका छन् । त्यसमध्ये झन्डै १० प्रतिशत घरपरिवार गम्भीर खाद्य असुरक्षाको चपेटामा छन् । ७७ जिल्लामध्ये ४२ जिल्ला खाद्य असुरक्षाको उच्च जोखिममा छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार पाँच वर्षमुनिका २५ प्रतिशतमा पुड्कोपन, १९ प्रतिशतमा कम तौल आठ प्रतिशतमा ख्याउटेपन र एक प्रतिशतमा अधिक तौल छ । यसैगरी, ग्लोबल हंगर इन्डेक्स २०२५ अनुसार नेपालको जनसंख्याको ५.३ प्रतिशत जनता कुपोषित या अल्पपोषित छन् । अझ गरिब परिवारमा, कर्णाली र मधेशमा यो प्रतिशत ५५ सम्म रहेको देखिएको छ ।

सरकारले सन् २०३० सम्म कुपोषणको दरलाई घटाउने र सबै नागरिकका लागि पोषण सुनिश्चित गर्ने प्रतिबद्धतासहित संयुक्त राष्ट्र संघीय दस्ताबेज दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने भनेको छ । तर, यसको कार्यान्वयनको अवस्था निकै कमजोर छ । स्वास्थ्य मन्त्रालयमार्फत पोषण पुर्‍याउने तरिकालाई यथावत् राख्दै पोषणयुक्त कृषि उपजको उत्पादन, वितरण पहुँच र उपलब्धताले यसलाई कम गर्न सकिन्छ । जसका लागि कोदो तथा कोदोजन्य बाली महत्वपूर्ण विकल्प बन्न सक्छन् ।

कोदो केवल एउटा बाली होइन । यो नेपाली सभ्यताको जीवन्त इतिहास हो । यो हाम्रा पुर्खाको पसिनाले सिँचेको विश्वास हो । यो पहाडका गरामा अडेस लागेर उभिएको आत्मनिर्भरताको प्रतीक हो । यो विपन्न किसानको भकारीको भरोसा हो, श्रमिकको शक्ति हो, आमाको माया हो र प्रकृतिसँगको सहअस्तित्वको जीवनदर्शन पनि हो । आज विश्व जलवायु परिवर्तन, खाद्य संकट, पोषण असन्तुलन र जैविक विविधताको क्षयसँग जुधिरहेको छ । यस्ता चुनौतीबिच विज्ञानले समेत कोदोको महत्व पुनः स्वीकार गर्न थालेको छ । जुन बालीलाई हामीले ‘गरिबको अन्न’ भनेर बेवास्ता गर्‍यौँ, त्यही बालीलाई आज संसारले ‘भविष्यको अन्न’ भन्न थालेको छ । विडम्बना के छ भने संसारले सम्मान गर्न थालेको सम्पदालाई हामी आफैँले बिस्तारै बिर्सिँदै गएका छौँ ।

कोदो नेपालको पहाडी भूगोलसँग अत्यन्तै अनुकूल बाली हो । कम पानीमा पनि राम्रो उत्पादन दिन सक्छ । उब्जाउ शक्ति कम भएको जमिनमा पनि हुर्कन सक्छ । रासायनिक मल र विषादीको अत्यधिक प्रयोगविनै खेती गर्न सकिन्छ । यही कारणले कोदो वातावरणमैत्री खेती प्रणालीको महत्वपूर्ण आधार हो ।

आज कृषि क्षेत्रमा सबैभन्दा ठ्लुो चुनौती माटोको उर्वराशक्ति घट्दै जानु हो । रासायनिक मल र विषादीमा आधारित उत्पादन प्रणालीले माटो, पानी र जैविक विविधतालाई गम्भीर असर पुर्‍याइरहेको छ । यस्तो अवस्थामा कोदो केवल उत्पादनको विकल्प होइन, प्रकृतिसँग पुनः सम्बन्ध जोड्ने माध्यम पनि हो । कोदोको खेतीले स्थानीय बिउ, स्थानीय ज्ञान र स्थानीय जैविक प्रणालीलाई जोगाइराख्न मद्दत गर्छ ।

कोदो पोषणका दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण अन्न हो । यसमा क्याल्सियम, फलाम, फाइबर, प्रोटिन तथा विभिन्न सूक्ष्म पोषकतत्व प्रशस्त पाइन्छन् । मधुमेह, मोटोपन, रक्तचाप तथा हड्डीसम्बन्धी समस्यामा यसको उपयोगिता वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेका छन् । आधुनिक जीवनशैलीजन्य रोग बढिरहेका वेला कोदो स्वास्थ्यको प्राकृतिक साथी बनेर उभिएको छ । तर प्रश्न उठ्छ, यति गुणकारी बाली हुँदाहुँदै पनि किन यसको खेती घटिरहेको छ ? यसका पछाडि धेरै कारण छन् । कृषि नीतिहरू लामो समयसम्म धान, गहुँ र मकैजस्ता सीमित बालीमा केन्द्रित भए । अनुसन्धान, विस्तार सेवा, बजार व्यवस्थापन, प्रशोधन उद्योग र मूल्य अभिवृद्धिका कार्यक्रम पनि कोदोतर्फ पर्याप्त उन्मुख हुन सकेनन् । अर्कोतर्फ, आधुनिकताको नाममा परम्परागत खानालाई हीन भावना र आयातित खाद्य संस्कृतिलाई प्रतिष्ठासँग जोड्ने सामाजिक प्रवृत्तिले पनि कोदोको उपभोग घटायो ।

ग्रामीण क्षेत्रबाट युवाको पलायनले पनि कोदो खेती प्रभावित भएको छ । गराहरू बाँझा हुँदै गएका छन् । बिउ हराउँदै गएका छन् । खेतीसँग जोडिएका परम्परागत ज्ञान, सिप र संस्कृतिसमेत संकटमा परेका छन् । यदि यही अवस्था जारी रह्यो भने हामी केवल एउटा बाली होइन, एउटा सभ्यता नै गुमाउने जोखिममा हुनेछौँ ।

यद्यपि आशाका किरण पनि देखिन थालेका छन् । स्वास्थ्यप्रति सचेत उपभोक्ताको संख्या बढ्दै गएको छ । कोदोबाट बनेका परिकार, बिस्कुट, कुकिज, नुडल्स, सेलरोटी, ढिँडो, रोटी, पेयपदार्थ तथा अन्य मूल्य अभिवृद्धियुक्त उत्पादनको माग बिस्तारै बढिरहेको छ । यसले किसान, उद्यमी र उपभोक्ताबिच नयाँ सम्भावनाको ढोका खोलिरहेको छ ।

अब आवश्यक कुरा केवल उत्पादन बढाउनु मात्र होइन । उत्पादनदेखि प्रशोधन, ब्रान्डिङ, बजार, अनुसन्धान र उपभोगसम्मको समग्र मूल्य शृंखला विकास गर्नु हो । स्थानीय सरकारले आफ्नो क्षेत्रका रैथाने बाली संरक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ । विद्यालयको दिवा खाजा, अस्पतालको पोषण कार्यक्रम, होटल तथा पर्यटन उद्योगमा कोदोका परिकारलाई प्राथमिकता दिन सकिन्छ । सार्वजनिक खरिद प्रणालीमा पनि स्थानीय उत्पादनलाई स्थान दिन सकिन्छ ।

कोदो दिवस केवल औपचारिक समारोहमा सीमित हुनुहुँदैन । यो राष्ट्रिय कृषि नीतिमा रैथाने बालीलाई सम्मानजनक स्थान दिलाउने अभियान बन्नुपर्छ । किसानलाई गुणस्तरीय बिउ, प्राविधिक सहयोग, उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउनुपर्छ । अनुसन्धान संस्थाहरूले स्थानीय जातको संरक्षण र सुधारमा थप लगानी गर्नुपर्छ । विश्वविद्यालयले रैथाने बालीसम्बन्धी अध्ययनलाई प्राथमिकता दिनुपर्छ ।

कोदोको संरक्षण केवल कृषिको विषय होइन । यो संस्कृति, स्वास्थ्य, वातावरण, अर्थतन्त्र र राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय हो । आफ्ना रैथाने बाली जोगाउन नसक्ने राष्ट्रले खाद्य सार्वभौमिकताको सपना पनि पूरा गर्न सक्दैन ।

हाम्रा पुर्खाले कोदोलाई केवल अन्नका रूपमा होइन, जीवनका रूपमा जोगाए । अब त्यसलाई आधुनिक ज्ञान, वैज्ञानिक अनुसन्धान र दूरदर्शी नीतिसँग जोडेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । राष्ट्रिय कोदो दिवसले हामीलाई यही सन्देश दिन्छ । भविष्य खोज्न धेरै टाढा जानुपर्दैन, कहिलेकाहीँ भविष्य आफ्नै खेतका गरामा, आफ्नै पुर्खाले जोगाइदिएको एउटा सानो बिउभित्र लुकेको हुन्छ ।

आज विज्ञानले कोदोलाई सुपर फुड भनेको छ । विश्व समुदायले कोदोलाई कुअन्नबाट श्रीअन्नमा रूपान्तरण गरिसकेको छ । भात खान सुगम ठाउँमा झरेका लाखौँ मानिसलाई एकपछि अर्को गर्दै नसर्ने रोगले मरणासन्न हुने गरी हिर्काइसकेपछि पुनः कोदोको खोजीमा सहरबजारका पसलतिर भौँतारिरहँदा हामी भने खेतबारी बाँझै छाडेर त्यही कोदो विदेशबाट आयात गर्नतिर लागिरहेका छौँ । यो विपरीत यात्राबाट सही गन्तव्यतर्फ फर्कन अब ठुलै बल लगाउनुपर्ने देखिन्छ ।

कोदोको भविष्य केवल किसानको हातमा छैन । त्यो राज्यको नीति, उपभोक्ताको रोजाइ र समाजको चेतनामा पनि निर्भर छ । यदि नेपालले आफ्ना रैथाने अन्नबालीलाई बचाउन सकेन भने उसले केवल एउटा बाली गुमाउनेछैन, आफ्नै इतिहास, संस्कृति, पोषण र आत्मनिर्भरताको एउटा महत्वपूर्ण आधार पनि गुमाउनेछ ।

त्यसैले, आजको आवश्यकता कोदो दिवस मनाउनु मात्र होइन, कोदोलाई राष्ट्रिय कृषि पुनर्जागरणको अभियान बनाउनु हो । जबसम्म कोदो किसानको खेतमा, उपभोक्ताको भान्सामा र राष्ट्रको नीतिमा सम्मानका साथ स्थापित हुँदैन, तबसम्म राष्ट्रिय कोदो दिवसको सार्थकता पूर्ण रूपमा प्राप्त भएको मान्न सकिँदैन 

(अधिकारी ‘खाद्यका लागि कृषि अभियान’का संयोजक हुन् ।)