मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
२o८३ श्रावण १६ शनिबार o९:४o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

२४ वर्षपछि दक्षिण अफ्रिकी देशमा विश्वकप फर्किँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार o९:४o:oo
  • अफ्रिका महादेशले सन् २००३ मा एकदिवसीय विश्वकप आयोजना गरेको थियो । आगामी वर्ष हुने प्रतियोगितामा दक्षिण अफ्रिका, जिम्बावे र नामिबिया आयोजक राष्ट्र रहेको आइसिसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले दक्षिण अफ्रिका महादेशमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताका १२ वटा भेन्यु सार्वजनिक गरेको छ । यससँगै आधिकारिक रूपमा दक्षिण अफ्रिका महादेशमा २४ वर्षपछि एकदिवसीय विश्वकप फर्कन लागेको हो । आइसिसीले अफ्रिका महादेशमा सन् २०२७ को ४ अक्टोबरदेखि २१ नोभेम्बरसम्म विश्वकप आयोजना गर्ने खेलतालिका बनाएको छ ।

दक्षिण अफ्रिकाले सन् २००३ मा विश्वकप आयोजना गरेको थियो । त्यसवेला मुख्य आयोजक दक्षिण अफ्रिका, सहआयोजकका रूपमा केन्या र जिम्बावे थिए । अस्ट्रेलियाले भारतलाई एकपक्षीय फाइनलमा एक सय २५ रनले हराउँदै उपाधि जितेको थियो । आइसिसीका अध्यक्ष जय शाहले अफ्रिका महादेशमा विश्वकप फर्किनुलाई ऐतिहासिक भएको बताएका छन् । ‘एक प्रकारले यो ऐतिहासिक कदम हो । २४ वर्षपछि पुनः क्रिकेटको महाकुम्भ दक्षिण अफ्रिका महादेशमा फर्कन लागेको छ,’ शाहले भने, ‘यसले क्रिकेट जगत्मा एउटा कोसेढुंगा थप्ने काम गर्ने विश्वास लिएको छु ।’ 

दुई दशकको अन्तरमा अफ्रिकामा धेरै परिवर्तन आएको र सहभागी टोलीले पनि यसको अनुभव गर्न अवसर पाउने अध्यक्ष शाहले बताए । ‘सन् २००३ र २०२७ को एकदिवसीय विश्वकपमा धेरै परिवर्तन आएको अनुभव गर्नेछन् । खेलाडी, समर्थक तथा अफिसियलले अफ्रिका महादेशको विकास प्रत्यक्ष देख्न पाउनेछन्,’ शाहले भने, ‘हामी सबै आइसिसी परिवार आगामी संस्करणको प्रतीक्षामा छौँ ।’ आगामी एकदिवसीय संस्करणमा कुल ५४ खेल हुनेछन् । 

दक्षिण अफ्रिकाका आठ सहरमा हुने आइसिसीले जनाएको छ । दक्षिण अफ्रिकाका जोहानेसबर्ग, सेन्चुरियन पार्क, डर्बान, गेबेरा, कुगोम्पो सिटी, केप टाउन, पार्ल र ब्लुमफोन्टेनमा हुनेछन् । विश्वकपको फाइनल खेल जोहानेसबर्गको केप टाउनको न्युल्यान्ड्स’ रंगशालामा हुनेछ । जिम्बावेका हरारे, बुलावायो र भिक्टोरिया फल फल्समा धेरैमा १० र कममा सात खेल आयोजना हुनेछन् । आइसिसीले जिम्बावेमा कति खेल गराउने भन्ने पछि निर्णय गर्नेछ । नामिबियाको विन्डहोक सहरले कम्तीमा तीनवटा खेल आयोजना गर्नेछ । 

आइसिसीले जिम्बावेको भिक्टोरिया फल फल्सलाई सुरुवातमा राखेको थिएन । यस रंगशालामा १० हजारमाथि दर्शक अटाउने गरी निर्माणकार्य भएपछि आइसिसीले यस मैदानमा पनि समावेश गरेको हो । ‘भिक्टोरियामा १० हजार दर्शक क्षमताको नयाँ रंगशाला बन्दै छ । जुन यसै वर्षको अन्त्यसम्म सकिनेछ,’ आइसिसीले उल्लेख गरेको छ, ‘सन् २०२७ को जनवरीमै यहाँ अन्तर्राष्ट्रिय खेल आयोजना हुनेछ ।’ आइसिसीले अभ्यास खेल तथा विश्वकप क्वालिफायर खेलका लागि फरक मैदान प्रयोग गर्ने भएको छ । सन् २००३ मा दक्षिण अफ्रिका, जिम्बावे र केन्याले संयुक्त रूपमा एकदिवसीय विश्वकप आयोजना गरेका थिए । त्यसयता दक्षिण अफ्रिकाले सन् २००७ को टी–२० विश्वकप, २०२३ को महिला टी–२० विश्वकपजस्ता प्रतियोगिताहरू आयोजना गरिसकेको छ । नामिबियाका लागि भने यो पहिलो सिनियर आइसिसी विश्वकप प्रतियोगिता हुनेछ । एकदिवसीय विश्वकप इतिहासमा अहिलेसम्म एकपक्षीय फाइनल र सर्वाधिक दर्शक उपस्थिति भएको संस्करण नै २०२३ हो । भारतले आयोजना गरेको विश्वकपको फाइनल नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा भएको थियो । जहाँ एक लाख घरेलु दर्शक अगाडि भारत फाइनलमा अस्ट्रेलियासँग नराम्रोसँग पराजित भएको थियो ।

अफ्रिका अनुभवी आयोजक राष्ट्र
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को नजरमा दक्षिण अफ्रिका अनुभवी आयोजक राष्ट्र हो । अफ्रिकाले पहिलोपटक सन् २००३ मा एकदिवसीय विश्वकप सफलतापूर्वक आयोजना गरेको थियो । त्यसवेला आइसिसीमा आबद्ध अन्य क्रिकेट राष्ट्रहरूले अफ्रिकामा एकदिवसीय विश्वकप असफल हुने दाबी गरेका थिए । तर, अफ्रिकाले एकदिवसीय विश्वकप भव्य रूपमा गर्‍यो । यसबाट प्रभावित भएर आइसिसीले आफ्ना विभिन्न ठुला प्रतियोगिता यहाँ गराउँदै आएको छ । सन् २००७ मा आइसिसीले नयाँ फर्म्याटमा टी–२० विश्वकपको पहिलो संस्करण नै अफ्रिकामा गर्‍यो । जहाँ भारतले छिमेकी राष्ट्र पाकिस्तानलाई हराउँदै पहिलो संस्करण जित्यो । सन् २०२० र २०२४ मा यहाँ दुईपटक गरी आइसिसी यू–१९ विश्वकप क्रिकेट भएको थियो । जिम्बावे पनि सन् २००३ को एकदिवसीय विश्वकपको सहआयोजक थियो । 

नामिबिया पनि पहिलोपटक क्रिकेटको विश्वकप आयोजक राष्ट्र बन्न लागेको हो । नामिबिया र जिम्बावे पछिल्लो समय आइसिसी यू–१९ विश्वकप सहआयोजक बनेका थिए । 

एकदिवसीय विश्वकपको फर्म्याट परिवर्तन
आइसिसीले एकदिवसीय विश्वकपको प्रतियोगिता संरचनामा व्यापक परिवर्तन गरेको छ । नयाँ ढाँचाअनुसार १४ टोलीको सहभागिता कायम राख्दै विश्वकप अब तीन चरणमा सञ्चालन हुने भएको छ । आइसिसीले विश्वकपलाई रोमाञ्चक बनाउने उद्देश्यका साथ नयाँ संरचना कार्यान्वयनमा ल्याएको हो । 

नयाँ ढाँचाअनुसार सबैभन्दा पहिले विश्वकप खेल्ने १४ टोलीमध्ये १२औँ, १३औँ र १४औँ स्थानका टोलीबिच ‘सुपर सिरिज’ हुनेछ । राउन्ड रोबिन आधारमा हुने यस चरणको विजेता मात्र १२औँ टोलीका रूपमा मुख्य समूह चरणमा प्रवेश गर्नेछ । दोस्रो चरणमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहमा समान ६ टोली रहनेछन् । दुवै समूहका शीर्ष तीन टोलीसँगै समग्रमा उत्कृष्ट अर्को एक टोली ‘सुपर सात चरणमा पुग्नेछ । 

यस चरणमा सातै टोलीले एक–अर्काविरुद्ध राउन्ड रोबिन खेल्नेछन् । यस चरणको शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल पहिलो र चौथो टोलीबिच हुनेछ । दोस्रो सेमिफाइनल दोस्रो र तेस्रो स्थानको टोलीबिच हुने आइसिसीले जनाएको छ । पहिलो र दोस्रो सेमिफाइनलका विजेताबिच फाइनल हुनेछ । यसअघिका विश्वकपमा १४ टोलीलाई दुई समूहमा विभाजन गरी शीर्ष तीन–तीन टोली ‘सुपर सिक्स’ चरणमा पुग्ने व्यवस्था थियो । ‘सुपर सिक्स’का दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्थे । आइसिसीको नयाँ संरचनाले प्रतियोगिताको सुरुको चरणदेखि प्रतिस्पर्धा कडा हुने विश्वास लिएको छ ।