बुधबार जोर्डनस्थित अमेरिकी सैन्य आधारमा तेहरानले गरेको आक्रमणको बदलामा अमेरिकी सेनाले रातभर इरानका दर्जनौँ निसानामा प्रहार गर्यो । इरानको ‘इस्लामिक रिभोलुस्नरी गार्ड कोर्प’ले अमेरिकी आक्रमणको जवाफ दिने चेतावनी दिएको छ ।
यसले केही दिन रोकिएको इरान र अमेरिकी आक्रमणको शृंखला पुनः सुरु हुने संकेत गरेको छ । साथै इरान र अमेरिकाबिचको युद्ध रोक्न भित्री रूपमा चलिरहेको कूटनीतिले कुनै परिणाम दिने आशा अहिले मत्थर भएको छ । पछिल्लो आक्रमणअघि मध्यस्थकर्ताले अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयास तीव्र बनाएका थिए ।
पाँच दिन आक्रमण रोकिएपछि भएको गत रातको अमेरिकी आक्रमण राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डनमा रहेका अमेरिकी सेनाको आधार शिविरमाथिको इरानी आक्रमणविरुद्ध ‘अत्यन्त कठोर’ प्रहार गर्ने वाचा गरेको केही घण्टापछि भएको हो ।
अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानमाथि रातको समय दुई घण्टासम्म ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’सम्बन्धित दर्जनौँ निसानामा प्रहार गरेको बताएको छ । उता अमेरिका र इरानबिच तनाव चर्क्रिएसँगै मध्यपूर्वका अन्य देशमा पनि आक्रमण भएको छ ।
जोर्डनले लगातार दोस्रो दिन आफ्नो भूमिमा मिसाइल हानिएको जनाएको छ भने कुवेतले इरानमाथि आफ्ना भवनलाई निसाना बनाएको आरोप लगाएको छ । दुवै आक्रमण अमेरिकी आक्रमणविरुद्ध इरानले गरेको प्रतिशोधात्मक प्रतिक्रिया भएको विश्वास गरिन्छ ।
उता बुधबार नै अमेरिकाले साउदी अरबसँग मिलेर संयुक्त रूपमा इराकका इरान समर्थित मिलिसियामाथि आक्रमण गर्यो । आक्रमणमा कम्तीमा २० लडाकु र ६ जना इरानी सल्लाहकार मारिएका छन् । इराकी मिलिसियाले आफ्नो तेल संयन्त्रमाथि ड्रोन प्रहार गरेकाले जवाफी कारबाहीमा उत्रनुपरेको साउदी अरबले जनाएको छ ।