मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
२o८३ श्रावण १६ शनिबार o७:१६:oo
Read Time : > 5 मिनेट
फिचर प्रिन्ट संस्करण

‘पुर्खाको स्वाद’ सखाप पार्दै हाइब्रिड बिउ

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार o७:१६:oo
  • ‘हामीले रैथाने बिउ जोगाउन सकेनौँ भने अन्न मात्रै होइन, हाम्रो इतिहास र पुर्खाको स्वाद पनि सधैँका लागि हराउनेछ’ 

मलाई कोदोको ढिँडो, कागुनोको खिर र फापरको रोटी खान पाए अरू केही चाहिँदैन । तर, अहिले ती खानेकुरा खोजेर पनि पाइँदैनन् । पहिले हाम्रो घरमा वर्षमा १०–१५ मुरी कोदो फल्थ्यो, अहिले मुस्किलले १०–१५ पाथी पनि हुँदैन । जे उत्पादन हुन्छ, त्यो पनि घरमा खानुभन्दा बजारमा बेचिन्छ ।’ 

कटारी नगरपालिका– ११ का ८३ वर्षे वृद्ध किसान कुलबहादुर राउत विगत सम्झँदै यसरी आफ्नो दुःख पोख्छन् । उनको स्वरमा एउटा वृद्ध किसानको पीडा मात्र होइन, उदयपुरको बदलिँदो कृषि संस्कृति, हराउँदै गएको खाद्य परम्परा र पुस्तौँदेखि जोगिँदै आएको जीवनशैलीको कथा झल्किन्छ । ‘नातिनातिनाले ढिँडो खानै मान्दैनन्,’ उनी थप्छन्,‘कोदो, कागुनो, फिलुङे, जुनेलोजस्ता हाम्रा धेरै पुराना (रैथाने) बाली हराए । पाउन मुस्किल पर्छ ।’ 

राउतकै जस्तो अनुभव उदयपुरगढी गाउँपालिका– १ का ७९ वर्षे रत्नबहादुर खत्रीको पनि छ । उनी भन्छन्, ‘बाउबाजेले लगाउँदै आएको बालीको बिउ पाउनै मुस्किल छ । पाइहाले पनि खेती गर्न छाडियो । खेती नै नगरेपछि खान कहाँ पाउनु ? फापरको रोटी र कागुनोको खिरको त सम्झना मात्रै बाँकी छ ।’

पछिल्लो समय रैथाने बाली लोप हुँदा खाद्य संस्कृति पनि परिवर्तन हुँदै गएको छ । गाईघाट बजारमा १५ वर्षदेखि तरकारी बेच्दै आएकी त्रियुगा नगरपालिका–१२ की ५० वर्षे देवतीदेवी चौधरीको अनुभव पनि खत्री र राउतको जस्तै छ । उनी भन्छिन्, ‘म गाउँ–गाउँबाट तरकारी ल्याएर गार्ईघाट बजारमा बेच्छु । तर, १० वर्षअघिसम्म गाउँघरकै बिउबाट उत्पादन भएको तरकारी हुन्थ्यो । स्वाद पनि मिठो हुन्थ्यो । अहिले ती सबै हराए । बिउ किनेर रोप्नेहरू धेरै भेट्छु ।’

यी तीन प्रतिनिधि पात्रका अनुभव केवल व्यक्तिगत स्मृति मात्र होइनन् । यी त उदयपुरमा हराउँदै गएको कृषि सभ्यता, खाद्य संस्कृति र पुर्खाको स्वादका जीवित प्रमाण हुन् ।

तीन दशकमा बदलिएको तस्बिर
करिब तीन दशकअघिसम्म उदयपुरका महाभारत र चुरे क्षेत्रका अधिकांश गाउँ रैथाने बालीले भरिभराउ हुन्थे । महाभारत क्षेत्रमा पोखरेली, जर्नेली, शोभरा, मन्सरा जस्ता रैथाने धान झुल्थे भने चुरे क्षेत्रमा बासमती, पंकज, र अनदीजस्ता स्थानीय धान फल्थे । बारीभरि सेतो तथा कालो कोदो, कागुनो, चिनो, जुनेलो, फिलुङे, मिठे र तिते फापर, सानी मकै, सानो भट्ट, स्थानीय सिमी, गहत, मुसुरो, रहर र रैथाने गोल्भेँडा लहलहाउँथे ।

‘त्यतिवेला किसानले बजारबाट बिउ किन्नुपर्दैनथ्यो,’ राउत सम्झिन्छन्, ‘आफ्नै खेतमा उत्पादन भएको बिउ पुस्तौँसम्म सुरक्षित राखिन्थ्यो । अहिले त्यो परम्परा हराइसक्यो । रोप्ने वेला बजारकै बिउ किन्नुपर्छ ।’

त्यसवेला अधिकांश परिवार वर्षभरिको खाद्यान्न आफ्नै खेतबारीबाट जुटाउँथे । बिहान कोदोको ढिँडो, बेलुका रैथाने धानको भात तथा चाडपर्वमा फापरको रोटी, कागुनोको भात र चिनोको खिर अनिवार्यजस्तै हुन्थ्यो । रैथाने बालीको उत्पादन उन्नत वा हाइब्रिड जातको तुलनामा कम भए पनि स्वाद, पौष्टिकता, रोग प्रतिरोधात्मक क्षमता र स्थानीय हावापानीसँगको अनुकूलताका कारण यसको महत्व उच्च छ । तर, किसान थोरै समयमा धेरै उत्पादन हुने नगदे बालीतर्फ आकर्षित हुन थालेपछि परम्परागत रैथाने बाली क्रमशः खेतबारीबाट विस्थापित हुँदै गएका छन् ।

पछिल्ला वर्षमा कृषि क्षेत्रमा हाइब्रिड बिउको प्रयोग, बजारमुखी उत्पादन प्रणाली र व्यावसायिक खेतीको विस्तार बढेको छ । कृषि ज्ञान केन्द्र उदयपुरको तथ्यांकले पनि यो भयावह चित्रलाई पुष्टि  गर्छ । उदयपुरको कुल क्षेत्रफल २ लाख ६ हजार ३ सय हेक्टरमध्ये २२ हजार २१० हेक्टरमा खेती हुन्छ । जस्तै फापरखेती हाल जिल्लाभरि मात्र १८ हेक्टर क्षेत्रफलमा सीमित छ । जौखेती, मात्र २३ हेक्टर क्षेत्रफलमा खुम्चिएको छ । कोदोखेती हाल ५ हजार ४ सय ५३ हेक्टर क्षेत्रफलमा भइरहेको अभिलेख भए पनि यसको क्षेत्रफल निरन्तर घट्दो क्रममा छ ।

कोदो फल्ने जमिनमा अहिले अदुवा, खुर्सानीजस्ता नगदेबाली लगाउन थालिएको छ । कागुनो, जुनेलो र घैया धानबालीको अवस्था त ज्ञान केन्द्रको वार्षिक प्रगति तथा तथ्यांक प्रतिवेदनमा समेत समेटिन छाडेको छ ।

कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार रैथाने बाली कति मात्रामा लोप भए भन्ने यकिन सरकारी अभिलेख छैन, तर स्थानीय जातका धेरै बाली हराइसकेका छन् । ‘यो समस्या उदयपुरमा मात्र सीमित छैन, देशभरि नै रैथाने बाली संकटमा छ,’ उनले भने, ‘मैले बाल्यकालमा खाएको घैया धानको स्वाद अहिले भेट्टाउनै मुस्किल छ । हाइब्रिड बिउका कारण फलफूल, तरकारी र खाद्यान्नका रैथाने बिउ लोप हुँदै छन् ।’ 

पुस्तान्तरणको अभाव र बदलिँदो जीवनशैली
कटारी नगरपालिका–४ का ५० वर्षे धनबहादुर कटुवाल पनि कृषिमा आएको यो परिवर्तनका साक्षी हुन् । ‘पहिले हाम्रा परिवारले धेरै कोदो र फापर लगाउँथे । अहिले धान र मकैबाहेक अरू बाली लगाउने किसान भेट्नै मुस्किल छ । बजारमा चामल किन्न सजिलो भएपछि नयाँ पुस्ता रैथाने बालीतिर फर्किएन,’ उनले भने,‘पहिले गाउँमा कसैसँग बिउ नभए अर्को घरबाट मागिन्थ्यो, अहिले गाउँमा बिउ जोगाएर राख्ने मान्छे नै भेटिँदैनन् ।’

नयाँ पुस्ताले रैथाने परिकारभन्दा चाउचाउ, बिस्कुट, तयारी खाद्यवस्तु (जंकफुड) र बजारिया खानालाई बढी प्राथमिकता दिन थालेका छन् । बहुदलीय व्यवस्थाको आगमनसँगै बढी फल्ने नयाँ बिउ भित्रिएपछि जर्नेली, पोखरेली, शोभरा र मन्सरा जस्ता सुगन्धित धान बिस्तारै हराए । अहिले तिनको ठाउँ राधा–१२, खुमल–४ र रञ्जितजस्ता धानले लिएका छन् भने स्थानीय सेतो र पहेँलो मकैको ठाउँ देउती, मनकामना–२ र रामपुर कम्पोजिटलगायतले ओगटेका छन् । भान्सामा कोदोको ढिँडोको सट्टा हाइब्रिड धानको चामल पुगेको छ । फापरको रोटी, भुटेको जुनेलो र कागुनोको भातको ठाउँमा मम, चाउमिन र तयारी खाना आएका छन् । नयाँ पुस्ताका लागि रैथाने स्वादको परिकार एका देशको कथाजस्तै बनेको छ ।

गाउँमा हराउँदै, सहरमा माग बढ्दै
एकातिर गाउँमा रैथाने बाली हराउँदै छन् भने अर्कोतिर सहरमा यस्ता उत्पादनको माग र आकर्षण बढ्दो छ । मधुमेह, उच्च रक्तचाप र मोटोपनजस्ता नसर्ने रोगहरू बढेसँगै पोषणयुक्त तथा कम प्रशोधित खाद्यान्नप्रति मानिसहरूको चासो बढेको छ । यहीकारण अहिले कोदो, फापर, चिनो र कागुनोलाई ‘सुपरफुड’का रूपमा हेरिन्छ । ‘होटेल बेलका बिच’ रिसोर्टका सञ्चालक रमन भट्टराई भन्छन्,‘पाहुनाहरूले कोदो, फापर, कागुनो र जुनेलोका परिकार खोज्छन् । तर, बजारमा पाउनै मुस्किल छ । भारतबाट आयातीत अन्न प्रयोग गर्नुपर्ने अवस्था छ ।’

कुनै समय गाउँमा सस्तो मूल्यमा पनि बिक्न गाह्रो हुने कोदो अहिले सहरमा प्रतिकिलो दुई सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । इटहरीकी रीता खत्री भन्छिन्,‘घरमा मधुमेहका बिरामी भएकाले कोदो, फापर र रैथाने मकै खोज्छौँ । तर, पैसा तिर्न तयार हुँदा पनि ओरिजिनल रैथाने उत्पादन पाइँदैन ।’

उदयपुरका आठ स्थानीय तहमध्ये उदयपुरगढी गाउँपालिकाले सेतो र कालो कोदो संरक्षणका लागि केही सीमित कार्यक्रम सञ्चालन गरेको छ । यता त्रियुगा नगरपालिकाले अन्डी धानको संरक्षण गरेको छ । तर, अन्य बालीका हकमा भने कुनै प्रभावकारी योजना छैन । उदयपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख पारसमणि फुयाँल भन्छन्, ‘हाम्रो पालिकाले सेतो कोदोको बिउ संरक्षणमा काम गरिरहेको छ, तर एउटा कोदो मात्रै जोगाएर पुग्दैन । रैथाने बाली नै हराएपछि भावी पुस्ताले पुर्खाको स्वाद कसरी चिन्ने ?’

सरकारले ‘रैथाने बाली प्रवर्द्धन तथा संरक्षण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५’ जारी गरे पनि यसको कार्यान्वयन पक्ष निकै फितलो छ । ज्ञान केन्द्रका प्रमुख यादव भन्छन्, ‘कार्यविधिले लोपोन्मुख रैथाने बालीको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणमा सहयोग गर्ने भनेको छ । तर, केही हिमाली र कर्णालीका क्षेत्रबाहेक उदयपुरमा यसको प्रभाव देखिएको छैन । अब हामी नयाँ कार्यक्रम बनाउने योजनामा छौँ ।’

नेपाल कृषि अनुसन्धान परिषद्मातहत रहेको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक)मा कार्यरत कृषि वैज्ञानिक प्रदीप थापाका अनुसार देशभर करिब ६० प्रतिशत रैथानेबाली लोप हुने अवस्थामा छन् । जिन बैंक देशभरबाट संकलित तीन सयभन्दा बढी बालीका करिब १२ हजार प्रजातिका नमुना सुरक्षित राखिए पनि त्यसबारे धेरै किसान अनभिज्ञ छन् । हामीसँग माग्न आउने किसानलाई उपलब्ध गराइरहेका छौँ । संरक्षणमा देशका तीन तहका सरकारले प्रभावकारी नीति बनाउँदै पर्याप्त बजेट विनियोजन गरे मात्र संरक्षण अझ प्रभावकारी हुनु सक्छ ।’

रैथाने बाली जोगाउनु भनेको केही पुराना बिउ बचाउनु मात्र होइन । नेपालको कृषि सभ्यता, जैविक विविधता, खाद्य संस्कृति, स्थानीय पहिचान र पुर्खाले छाडेर गएको जीवनदर्शन जोगाउनु पनि हो ।

पोषणविद् डा. उमा कोइरालाले रैथाने बालीको लोप हुनु जनस्वास्थ्य, पोषण र खाद्य संस्कृतिका लागि चिन्ताको विषय भएको बताइन् । उनका अनुसार चामलको सहज उपलब्धता, रैथाने बालीको श्रमसाध्य प्रशोधन, बजार अभाव तथा हाइब्रिड बिउको विस्तारले कोदो, फापर, चिनो, कागुनोजस्ता बाली क्रमशः हराउँदै गएका छन् । उनले भनिन्, ‘हाइब्रिड बिउ पनि कुन प्रयोग गर्ने ? कुन नगर्ने राज्यको नीति छैन ।’ 

डा. कोइरालाले रैथाने बाली पोषणका दृष्टिले महत्वपूर्ण भएकाले राज्यले उत्पादन र उपभोग दुवैमा प्रोत्साहन गर्नुपर्ने, उचित बजार र मूल्य सुनिश्चित गर्नुपर्ने तथा कृषकलाई रैथाने बाली संरक्षणमा आकर्षित गर्ने स्पष्ट नीति आवश्यक रहेको बताइन् । स्थानीय बुद्धिजीवी बोधकुमार घिमिरे रैथाने बाली जोगाउन उत्पादनसँगै संरक्षणलाई प्राथमिकता दिने नीति, किसानलाई प्रोत्साहन र नयाँ पुस्तामा सचेतना फैलाउनु आवश्यक रहेको बताउँछन् । उनि भन्छन्, ‘रैथाने बालीमा अनुदान र बिमामा स्थानीय तहले ग्यारेन्टी गर्नुपर्छ । विद्यालयको स्थानीय पाठ्यक्रममा रैथाने बाली र स्थानीय खाद्य संस्कृतिबारे सामग्री समावेश गरी नयाँ पुस्तालाई सचेत गराउन सकिन्छ ।’

कोशी प्रदेशका पूर्वपर्यटन, वन तथा वातावरणमन्त्री नारायण बुर्जामगरका अनुसार रैथाने बालीलाई कृषि पर्यटन, स्थानीय होटेल, होमस्टे र अर्गानिक बजारसँग जोडेर ब्रान्डिङ गर्नुपर्छ । उनले भने, ‘मेरो अनुभवमा तीन तहका सरकारबाट ठोस नीति र योजना बनाउन सकेको जस्तो लाग्दैन ।’

उदयपुरका धेरै गाउँमा अहिले पनि केही वृद्ध किसानले पुर्खाबाट पाएको बिउ डोको, भकारी वा माटोको भाँडोमा सम्हालेर राखेका छन् । उनीहरूका लागि त्यो बिउ केवल खेती गर्ने साधन मात्र होइन, पुस्तौँको इतिहास हो । उनै कुलबहादुर राउतको यो भनाइले वर्तमानको तितो यथार्थलाई छर्लंग पार्छ, ‘हामीले रैथाने बिउ जोगाउन सकेनौँ भने अन्न मात्रै होइन, हाम्रो इतिहास र पुर्खाको स्वाद पनि सधैँका लागि हराउनेछ ।’