धितोपत्र बोर्ड (सेबोन)ले नगदमा आधारित सेयर बजारको विकल्पमा तरलता प्रवाह बढाउन नयाँ उपकरण ल्याउने नीतिगत तयारी सुरु गरेको छ । विश्वव्यापी पुँजीबजारका विकासक्रम र असल अभ्यासहरूलाई पछ्याउँदै तथा बजारको पूर्वतयारी जाँच्नका लागि बोर्डले पहिलोपटक ‘नेपालको धितोपत्र बजारमा मार्जिन लेन्डिङ, धितोपत्र उधारो वा सापटी र सर्ट सेलिङका लागि गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्थासम्बन्धी अवधारणापत्र, २०८३’ सार्वजनिक गरेको छ ।
सरकारको चालू आर्थिक वर्ष ०८३/८४ को बजेट वक्तव्यमा इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभजस्ता आधुनिक उपकरण चरणबद्ध रूपमा सुरु गर्ने घोषणा गरिएको थियो । सोही घोषणा र धितोपत्र बोर्डको पुँजीबजार नीति तथा कार्यक्रममा समेटिएका कार्यक्रमलाई व्यवहारमा उतार्न यो अवधारणापत्र अघि सारिएको हो ।
गोजीमा पूरै पैसा भएपछि मात्र सेयर किन्न पाइने परम्परागत प्रणाली सुधार गर्न मार्जिन लेन्डिङ, धितोपत्र उधारो वा सापटी र सर्ट सेलिङको अवधारणा ल्याएको बोर्डले जनाएको छ । बोर्डले सापटी नै नलिई देखावटी रूपमा सेयर बेच्ने अनावृत सर्ट सेलिङ (नेकेड सर्ट सेलिङ)ले भने ठगी र जोखिम बढाउने भएकाले पूर्ण रूपमा प्रतिबन्ध लगाउने स्पष्ट प्रस्ताव गरेको छ ।
नयाँ नीति ६ चरणमा लागू हुने बोर्डले जनाएको छ । मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त सर्ट सेलिङसम्बन्धी नियमावलीहरू जारी गर्ने, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङलाई प्राविधिक रूपमा सक्षम बनाइने, धितोपत्र व्यवसायीको क्षमता अभिवृद्धि र लगानीकर्ता सचेतना अभिवृद्धि, मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन, धितोपत्र सापटी तथा उधारो सेवा सुरु र सर्ट सेलिङ नीति व्यावहारिक रूपमा लागू हुने प्रक्रिया छन् ।
पुँजीबजार सुधारका लागि अघि सारिएका तीन सेवा
पहिलो सेवा : मार्जिन लेन्डिङ
मार्जिन कारोबारमा योग्य लगानीकर्ताले आफूसँग भएको तोकिएको प्रारम्भिक पैसा वा सेयर राखेर ब्रोकरमार्फत थप वित्तीय स्रोत वा ऋणको उपयोग गरी धितोपत्रमा लगानी गर्ने अवसर पाउनेछन् । यसबाट लगानीकर्ताको सेयर किन्ने क्षमता बढ्ने, बजारको तरलता वृद्धि हुने, कारोबार बढ्ने, बजार दक्षता अभिवृद्धि हुने र सेयरको सही मूल्य निर्धारण प्रक्रिया प्रभावकारी बन्ने सेबोनको अपेक्षा छ ।
दोस्रो सेवा : सापटी सेयर
धितोपत्र सापटी तथा उधारो प्रणाली (सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ, एसएलबी)ले बजारमा सक्रिय रूपमा कारोबार नभई वर्षौँसम्म थन्किएर बसेका धितोपत्रलाई सुरक्षित र नियमनयुक्त वातावरणमा अस्थायी रूपमा सापटी उपलब्ध गराउने अवधारणापत्रमा उल्लेख छ । यसबाट संस्थागत तथा दीर्घकालीन लगानीकर्ताले आफ्नो थन्किएको धितोपत्रबाट ब्याज वा शुल्क कमाएर अतिरिक्त प्रतिफल प्राप्त गर्नेछन् ।
तेस्रो सेवा : सर्ट सेलिङ
कभर्ड सर्ट सेलिङले धितोपत्र बिक्री गर्नुअघि सम्बन्धित धितोपत्र कानुनी रूपमा सापटी लिएको सुनिश्चित भएपछि मात्र बिक्री गर्न अनुमति दिनेछ । यसमा लगानीकर्ताले आफूसँग सेयर नभए पनि बजार घट्ने अनुमान गरेर पहिले कसैबाट सेयर सापटी लिई बजारमा बेच्न सक्नेछन् । पछि सेयरको मूल्य घटेपछि सस्तोमा किनेर साहुलाई फिर्ता गरी बिचको रकम नाफाका रूपमा राख्न सक्नेछन् । यसले बजार घट्दा पनि नाफा कमाउने बाटो खोल्ने अवधारणा हो ।
सबै कम्पनीले पाउनेछैनन् यस्तो सुविधा
मार्जिन लेन्डिङ, धितोपत्र उधारो वा सापटी र सर्ट सेलिङको सुविधा सबै कम्पनीले पाउनेछैनन् । लगानकर्ताको लगानी सुरक्षाका लागि यस्ता सुविधा पाउने कम्पनीको योग्यता तोकिएको छ । तीनवटै सुविधाका लागि न्यूनतम सूचीकरण अवधि वा कारोबार इतिहास भएको, पर्याप्त कारोबारका आधारमा तरलता भएको, निश्चित सीमाको बजार पुँजीकरण भएको, सर्वसाधारणका लागि पर्याप्त सेयर उपलब्ध भएको र कानुन परिपालनाको अवस्था नियमित रहेको धितोपत्र मात्र छनोट हुने व्यवस्था छ ।
नयाँ सुविधा लागू गर्न सबै निकायलाई तोकियो जिम्मेवारी
धितोपत्र बोर्ड : यस प्रक्रियामा सहभागी हुने निकायहरूको भूमिका र विशिष्टीकृत जिम्मेवारीलाई प्रस्ट पारेको छ ।
नेप्से : कारोबार पूर्वाधार सञ्चालन, बजार निगरानी तथा व्यवस्थापन गर्ने ।
सिडिएस एन्ड क्लियरिङ : धितोपत्र अभिलेख, तरलता व्यवस्थापन र सेटलमेन्ट मोडेल सञ्चालन गर्नेछ ।
धितोपत्र दलाल : लगानीकर्ताको साख मूल्यांकन, मार्जिन गणना, मार्जिन स्तर र बजार जोखिमको निरन्तर अनुगमन, जोखिम व्यवस्थापन, अनुगमन र मार्जिन नपुग्दा धितोपत्र बिक्री वा लिक्विडेसन गर्ने जिम्मेवारी सम्हाल्नेछन् ।
बैंक तथा वित्तीय संस्था : धितोपत्र दलाललाई ऋण प्रदान गर्ने, क्रेडिट जोखिम मूल्यांकन, सीमा निर्धारण र निगरानी गर्ने तथा प्रणालीगत र आपत्कालीन तरलता सहायता र क्लियरिङ वा सेटलमेन्टमा सहयोग गर्नेछन् ।
लगानीकर्ता : लगानीअघि जोखिम प्रोफाइल र सम्भावित घाटा लाभ बुझ्ने, आवश्यक मार्जिन कायम राख्ने, मार्जिन कल आउँदा पूरा गर्ने र वित्तीय दायित्वहरू समयमै भुक्तानी गर्नुपर्नेछ ।