मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
पवन बराइली काठमाडाैं
२o८३ श्रावण १६ शनिबार o९:३३:oo
Read Time : > 7 मिनेट
फिचर प्रिन्ट संस्करण

मौलिकता गुमाउँदै नेपाली लोकगीत

Read Time : > 7 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार o९:३३:oo
  • वनपाखा, मेलापात, चौतारी, देउरालीमा गुन्जिने नेपाली मौलिक भाका यतिवेला अस्तित्व बचाउन एआईसँग संघर्ष गरिरहेको छ

युट्युब, टिकटक र इन्स्टाग्रामका रिल्स स्क्रोल गर्दा आजभोलि ‘रेशम फिरिरी’, ‘झम्के गुलेली’, ‘माथिमाथि त्यो काली लेक’, ‘बाल जोबन’, ‘वारि जमुना पारि जमुना’, ‘आमा रुँदै गाउँबेसी मेलैमा’, ‘आमाले सोध्लिन नि’, ‘पानको पात’ ‘ढुङ्गे धारामा’, जस्ता नेपाली लोकगीत अनगिन्ती नयाँ स्वरमा सुनिन्छन् । अधिकांश एआई (कृत्रिम बुद्धिमत्ता)ले ताल, लय र शब्द भताभुंग पारेर गाएका गीत हुन्छन् । ती गीत अचेल अनौठो भंगीमा धेरै मानिसमाझ पुगिरहेका छन् । प्रविधिले लोकगीतलाई नयाँ स्वरूपमा ढालेर विश्वभर पुर्‍याइरहेको छ भन्ने तर्क गर्ने पनि छन् । वनपाखा, मेलापात, चौतारी देउरालीमा गुन्जिने नेपाली मौलिक भाका यतिवेला एआईसँग अस्तित्व बचाउन संघर्ष गरिरहेको छ ।

ती लोकगीत केवल मनोरञ्जनका माध्यम थिएनन्, नेपाली समाजको स्मृति, भूगोल, भाषा, संस्कृति र सामूहिक जीवनका अभिलेख थिए । पूर्वको पालाम, हाक्पारेदेखि मध्यको सेलो, पश्चिमको डेउडा, सालैजोदेखि पहाडको ख्याली, तराईको मैथली, भोजपुरी गीत सांस्कृतिक सम्पदा हुन् । यस्तो लाग्छ, एआईले यतिवेला नेपाली सांस्कृतिक सम्पदालाई इन्टरनेटको दुनियाँमा नाङ्गेझार पारेर घिसारिरहेको छ ।

लोकगीतको जग
नेपाली लोकगीत कुनै एक दिनमा बनेको सांगीतिक विधा होइन । यो गाउँघरको जीवन, श्रम, संस्कार, पर्व, प्रेम र पीडासँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा हो । यो सम्पदा निर्माण गर्न कैयन् स्रष्टाले जीवन सुम्पिएका छन् । झलकमान गन्धर्व, धर्मराज थापा, एलपी जोशी, कुमार बस्नेत, हिरण्य भोजपुरे, हरिदेवी कोइराला, कल्याण शेरचन, पाण्डव सुनुवार, पूर्ण नेपाली, लोकबहादुर क्षेत्री, प्रेमराजा महत, चन्द्रकला शाह, राम थापा, बमबहादुर कार्की, जयनन्द लामा, नारायण रायमाझी, वासुदेव मुनाल, बुद्धिकृष्ण लामिछाने, सावित्री शाहलगायतका अग्रजले लोकगीतको बलियो जग निर्माण गरे । रेडियो नेपालमा नसुनिएका गाउँका स्रष्टा झन् कति थिए कति । त्यसपछि पुरुषोत्तम न्यौपाने, बिमाकुमारी दुरा, कोमल वली, रेखा शाह, विष्णु माझी, तुलसी पराजुली, नवीन खड्का, भगवान भण्डारी, बद्री पंगेनी, राजु परियार, शर्मिला गुरुङ, पुरुषोत्तम न्यौपाने, कलकान्ती भेटवाल, खड्ग गर्बुजालगायतको योगदान स्मरणीय छ ।

लोकगायक पुरुषोत्तम न्यौपानेका अनुसार नेपाली लोकसंगीतलाई व्यवस्थित रूपमा संरक्षण, अभिलेखीकरण र पुस्तान्तरण गर्ने कामको आधारशिला रेडियो नेपालले तयार गरेको हो । रेडियो नेपालमा लोकगीत रेकर्ड हुन थालेपछि अग्रज कलाकारले गाउँ–गाउँ पुगेर स्थानीय भाका, भाषा, संस्कृति र जीवनशैली झल्किने गीत संकलन गरे, जसले नेपाली लोकसंगीतलाई राष्ट्रिय पहिचान दिलायो ।

स्रष्टाहरूले विभिन्न भूगोलका मौलिक गीत खोज्दै गाउँ–बस्ती डुले । उनीहरूले सारंगीमा गाइने कर्खादेखि लाहुरेका पीडा, खेतीपाती, पर्व–उत्सव र जनजीवनका कथा लोकगीतमार्फत अभिलेख गरे । त्यही परम्परालाई पछिल्ला पुस्ताले निरन्तरता दिँदै आएको न्यौपाने बताउँछन् । 

रेडियो नेपालले दसैँ–तिहारका देउसी–भैलो, सोरठी, मारुनी, तिज, असारे तथा अन्य सांस्कृतिक गीतको संरक्षणमा ऐतिहासिक योगदान पुर्‍याएको छ । पछि निजी क्षेत्रको प्रवेशसँगै क्यासेट, सिडी र डिजिटल माध्यमबाट लोकगीतको विस्तार भयो । 

संकटमा लोकगीतको आत्मा !
नेपाली लोकगीतको सबैभन्दा ठुलो विशेषता केवल यसको भाका वा शब्दमा थिएन, त्यसलाई जीवन्त बनाउने गायक–गायिकाको मौलिक गायिकीमा पनि थियो । संगीत अन्वेषक बुलु मुकारुङका अनुसार यी कलाकारको गायिकीमा केवल स्वरको भिन्नता मात्र थिएन, उनीहरूको शब्द उच्चारण गर्ने शैली, लय समात्ने तरिका, भाव सम्प्रेषण र लोकभाकाको प्रस्तुति पनि एक–अर्काभन्दा फरक थियो । कुनै कलाकारले पूर्वी पहाडको भाका बोकेका थिए भने कसैले गण्डकी वा पश्चिम नेपालको लोकलयलाई आफ्नो स्वरमार्फत जीवन्त बनाएका थिए । त्यसैले, रेडियोमा गीत बज्नासाथ श्रोताले गायकको नाम नहेरी स्वरबाटै कलाकार चिन्थे । यही मौलिक पहिचान नेपाली लोकसंगीतको सबैभन्दा ठुलो सम्पत्ति थियो । 

अहिलेको डिजिटल र कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा आइपुग्दा नेपाली लोकगीतको मर्म तीव्र रूपमा फेरिएको छ । गीत उत्पादनको गति बढेको छ, दृश्य आकर्षक बनेका छन्, प्रविधिले सिर्जनालाई सहज बनाएको छ । तर, यही सहजतासँगै एउटा गम्भीर प्रश्न पनि उठेको छ– के हामीले लोकगीतको आत्मै गुमाउँदै त छैनौँ ?

वरिष्ठ लोकगायक कुमार बस्नेत अहिलेका धेरैजसो लोकगीत सुन्दा छक्क पर्छन् । उनको चिन्ता गीतको लोकप्रियताभन्दा यसको मौलिकताप्रति छ । बस्नेत भन्छन्, ‘मौलिक भाका, ठेट शब्द र स्थानीयताको सुगन्ध नै नेपाली लोकगीतको पहिचान हो । अहिले लोकगीतको नाममा जे उत्पादन भइरहेको छ, त्यसमा त्यो गन्ध हराउँदै गएको छ । व्यवसायीकरणको हावाले लोकगीतको मौलिकता उडाइदिएको छ ।’

बस्नेतको बुझाइमा अहिले लोकगीतको नाममा आएका धेरै सिर्जनामा न क्षेत्रीय भाका चिनिन्छ, न स्थानीय बोली, न त लोकजीवनको अनुभूति । लोकगायक खड्ग गर्बुजाका अनुसार सालैजो भाका मगर समुदायबाट विकसित भएको मौलिक सांस्कृतिक सम्पदा हो । इतिहासकार र अग्रज कलाकारले पनि यही मान्यता स्थापित गरेका छन् । उनले आफूले गाउँका अग्रजबाट सालैजो सिकेको स्मरण गरे । आफ्नो चर्चित गीत ‘पानी खायो बाजाले’ सार्वजनिक भएपछि सालैजोले राष्ट्रियस्तरमा व्यापक लोकप्रियता पाएको उनको भनाइ छ । तर, पछिल्लो समय सालैजोको नाम मात्र प्रयोग गरेर त्यसको लय, संरचना र सांस्कृतिक मर्मसँग असम्बन्धित गीत सिर्जना गर्ने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘केही गीतमा सालैजो शब्द राखिएको हुन्छ, तर त्यसको बनोट र आत्मा भने सालैजोको हुँदैन । चर्चा कमाउने उद्देश्यले मौलिक भाकाको स्वरूप परिवर्तन गर्नु गलत हो,’ उनले भने । लोकभाकालाई आधुनिक बनाउने नाममा त्यसको मौलिक स्वरूप नै परिवर्तन गर्न नहुने उनको भनाइ छ ।

एआईले यही मौलिक पहिचानलाई चुनौती दिएको बुलु मुकारुङको भनाइ छ । उनका अनुसार धर्मराज थापाको गीत होस् वा कुमार बस्नेत, राम थापा, पाण्डव सुनुवार वा बुद्धि परियारको, एआईले गाएको संस्करणमा सबैजसो गीत एउटै प्रकारको स्वर, उस्तै लय र समान प्रस्तुति शैलीमा सुनिन्छन् । कलाकारको आफ्नै स्वरको बनोट, भाव, आरोह–अवरोह र गायकीको विशिष्टता हराउँदै गएको उनको गुनासो छ ।

मुकारुङका अनुसार लोकगीतको संरक्षण भनेको गीतका शब्द वा धुन मात्र जोगाउनु होइन, त्यसलाई जीवन दिने कलाकारको मौलिक गायिकी, उच्चारण, क्षेत्रीय लवज र सांस्कृतिक पहिचानलाई पनि जोगाउनु हो । यी विशेषता हराउँदै गए भने लोकगीत सुन्न त पाइएला, तर त्यसले बोकेको सांस्कृतिक आत्मा भने बिस्तारै हराउँदै जानेछ ।

संगीतविद् रामशरण दर्नालले नेपाली लोकसंगीतको यही मौलिक विशेषतालाई ‘संगीत परिक्रमा’ पुस्तकमा स्पष्ट रूपमा व्याख्या गरेका छन् । उनका अनुसार नेपालको भौगोलिक बनोट र जनजीवन नै लोकसंगीतको सबैभन्दा ठुलो स्रोत हो । उनी लेख्छन्, ‘मेचीदेखि महाकालीसम्मको नेपालका अधिकांश भूभाग पहाडैपहाडले घेरिएका छन् । यसैले पहाडी भेग नेपाली लोकसंगीतमा अत्यन्त समृद्धशाली छ । यहाँ मान्छे बोल्दा संगीत बोल्छ । हिँड्दा नाचको पदचालन भाव प्रकट हुन्छ । जीवनका यावत् कर्ममा यहाँ संगीतले महत्वपूर्ण ठाउँ ओगटेको छ । यहाँ अनेकौँ परम्परागत गीत, संस्कारगीत, धार्मिक गीत, मेलापातका गीत, जात्रा–मात्राका गीत, खुसीयालीमा उफ्रने गीतदेखि शोकमा डुबेर व्यथा व्यक्त गर्ने गीत जनजन गलामा भरिएर रहेका छन् ।’

दर्नालको यो विश्लेषणले लोकगीत कुनै मनोरञ्जनको विधा मात्र नभई नेपाली समाजको जीवनचक्रसँग गाँसिएको सांस्कृतिक सम्पदा भएको पुष्टि गर्छ ।

पहिले भाका गाउँबाट, अहिले स्टुडियोबाट
लोकगीत कुनै संगीतकारको कोठामा बसेर बनाइएको सिर्जना थिएन । ती गाउँका खेतबारी, गोठ, मेलापात, जन्ती, रोपाइँ, पर्व, प्रेम, पीडा र श्रमसँगै जन्मिएका थिए । कलाकार गाउँगाउँ पुगेर ती गीत संकलन गर्थे । त्यसपछि मात्रै रेडियो नेपालसम्म पुग्थे । तर, अहिले समय बदलिएको छ । अधिकांश गीत काठमाडौंका स्टुडियोमा तयार हुन्छन् । युट्युबको ट्रेन्ड हेरेर धुन बनाइन्छ ।

कुमार बस्नेतका अनुसार नेपाली लोकगीत आज प्रविधिको विकाससँगै सहज रूपमा उत्पादन हुन थाले पनि त्यसको मौलिकतामा भने गम्भीर ह्रास आएको छ । उनको अनुभवमा पहिले लोकगीत स्टुडियोमा होइन, गाउँबस्ती, खेतबारी र जनजीवनबाट जन्मिन्थे । एउटा मौलिक भाका खोज्न कलाकार महिनौँसम्म गाउँगाउँ डुल्थे, भोकै बस्थे र स्थानीय जनजीवनसँग घुलमिल हुन्थे । अहिले भने सामाजिक सञ्जाल र स्टुडियोमै गीत तयार हुने प्रवृत्तिले लोकगीतको आत्मा हराउँदै गएको उनको निष्कर्ष छ ।

उनका अनुसार पहिले एउटा गीत सार्वजनिक हुँदा नेपालभर त्यसको चर्चा हुन्थ्यो, कलाकारलाई सम्मान मिल्थ्यो र त्यस्तो गीत पछिसम्म गाइन्थ्यो । अहिले गीत एक महिना ‘भाइरल’ हुन्छ, अर्को महिना बिलाउँछ । त्यसको कारण उनी मौलिकता, लोकभाका र सामाजिक आधार हराउँदै जानुलाई मान्छन् । बस्नेत भन्छन्, ‘नयाँ पुस्ताले लोकगीत र लोकसंस्कृतिको मर्म बुझ्यो भने हराएका भाका फर्किन सक्छन्, नत्र यत्तिकै हराउँदै जान्छन् ।’ उनका अनुसार लोकगीतको सबैभन्दा ठुलो संकट प्रविधि होइन, लोकसंस्कृतिप्रतिको बेवास्ता हो ।

भूगोलले जन्माएका भाका
नेपाली लोकसंगीतको सबैभन्दा ठुलो विशेषता यसको क्षेत्रीय विविधता हो । नेपालको हरेक भेगले आफ्नै भाका, आफ्नै लय, आफ्नै भाषा र आफ्नै गायनशैली जन्माएको छ । त्यसैले, नेपाली लोकगीतलाई एउटै ढाँचामा बुझ्न सकिँदैन । बुलु मुकारुङका अनुसार एउटै जिल्लाभित्र पनि पहाड र तराईको भाका उस्तै हुँदैन । भूगोल फेरिएसँगै भाषा फेरिन्छ, भाषा फेरिएसँगै शब्द फेरिन्छन्, शब्दसँगै गायिकी र संगीतको बनोट पनि बदलिन्छ । ताप्लेजुङ, भोजपुर वा धनकुटाको लोकभाका सुनिँदा त्यहाँको पहाडी जीवन झल्किन्छ भने मोरङ, सुनसरी वा सप्तरी पुग्दा त्यही लोकगीतमा मधेशको लवज, शब्द र लय मिसिएको पाइन्छ । यही क्षेत्रीय विशेषताले नेपाली लोकसंगीतलाई बहुरंगी बनाएको मुकारुङको भनाइ छ । उनी भन्छन्, ‘लोकगीत केवल कलाकारको स्वर होइन, एउटा भूगोलको सामूहिक संस्कृति र जीवनपद्धतिको अभिव्यक्ति पनि हो ।’

हरिदेवी कोइरालाको ‘पाइन खबर’ले नेपालको लोकभाकालाई राष्ट्रियस्तरमा चिनायो । त्यस्तै, बमबहादुर कार्कीका ‘खोली पारि निरमाया’ र ‘हावा सरर’ जस्ता गीतले ग्रामीण जीवनको सरलता र मौलिकतालाई जीवन्त बनाए । राम थापाका लोकगीत, कृष्णबहादुर थापाको ‘सिन्धुलीगढी घुमेर हेर्दा’, ‘भटमास फुल्यो’ र ‘चौतारी छाया’ जस्ता गीतले भूगोललाई मात्र होइन, इतिहास, यात्रा संस्कृति र गाउँघरको सामूहिक जीवनलाई पनि संगीतमा सुरक्षित गरे । तीर्थकुमारी थापाका ‘म त खाँदिनँ कुवाको पानी’ र ‘दाइ काँको’ जस्ता गीतले नेपाली महिलाको अनुभूति, सम्बन्ध र सामाजिक परिवेशलाई लोकभाकामा अभिव्यक्त गरे । 

५० को दशकपछि खेम गुरुङको लोकगीत ‘वारि जमुना पारि जमुना’ ले नयाँ उचाइ लियो । त्यसपछि ‘काफलगेडी कुटुक्कै, ‘कान्छीको छाता ढल्काइदेऊ यता, ‘सरर पानी घट्टमा’, ‘डाँफे नाचेर’ जस्ता गीतले नेपाली लोकसंगीतलाई व्यावसायिक रूपमा पनि बलियो बनाए ।

०५८ देखि ०६४ सम्मको समय नेपाली लोकगीतको स्वर्णिम काल मानिन्छ । त्यसवेला लोकगीत गाउने कलाकारको लोकप्रियता पप स्टारको भन्दा कम थिएन । तर, यही सफलतासँगै प्रतिस्पर्धा बढ्यो । बजार विस्तार भयो । दर्शक बढे । बिस्तारै मौलिकताको ठाउँ बजारले लिन थाल्यो । 

७० को दशकपछि लोकगीतमा विचलन 
बुलु मुकारुङका अनुसार नेपाली लोकगीतको मौलिक स्वरूपमा आएको परिवर्तन कुनै एकाएक भएको होइन । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको विस्तारसँगै लोकगीतको प्रस्तुति शैली बदलिन थाल्यो । मुकारुङका अनुसार २०७० सालपछि विशेषगरी लोकगीतको मौलिक भाका, स्वर र गायिकीमा क्रमशः विचलन देखिन थाल्यो । एआई सुरु भएपछि लोकगीतको मौलिक संरचना नै पूरै भत्किन थालेको उनको भनाइ छ । ‘०७० सालपछि सामाजिक सञ्जाल, युट्युब र डिजिटल प्लेटफर्मको तीव्र विस्तारसँगै लोकगीतले आफ्नो परम्परागत स्वरूप बिस्तारै गुमाउन थाल्यो । एआईले त झन् भताभुंगै पार्न थाल्यो,’ उनी भन्छन् । 

अहिले धेरै गीत लोकप्रिय हुने उद्देश्यले छिटो उत्पादन गरिन्छ । पुराना लोकभाकालाई नयाँ ताल, नयाँ संगीत र कृत्रिम स्वरमा पुनः प्रस्तुत गर्ने क्रम बढेको छ । एआईबाट तयार गरिएका स्वर, जथाभावी कभर संस्करण र सामाजिक सञ्जालका छोटा भिडियोका लागि बनाइएका प्रस्तुतिले मौलिक गायिकीलाई ओझेलमा पारेको छ । एआईले धर्मराज थापा, झलकमान गन्धर्व, बुद्धि परियारका गीतलाई एउटै ढाँचाको आवाजमा प्रस्तुत गर्न थालेपछि कलाकारको आफ्नै स्वर, लय, भाव र गायकीको पहिचानै मेटिँदै गएको छ । उनका अनुसार प्रविधिले गीतलाई अवसर दिएको छ, तर त्यसको प्रयोग मौलिकता जोगाउनेभन्दा भत्काउने दिशामा भयो भने नेपाली लोकसंगीतको पहिचान नै संकटमा पर्न सक्छ । त्यसैले प्रविधिसँगै लोकगीतको मौलिक भाका, क्षेत्रीय विशेषता, भाषिक शुद्धता र सांस्कृतिक सन्दर्भ जोगाउने प्रयास पनि उत्तिकै आवश्यक रहेको उनको बुझाइ छ ।

भाका होइन, भाइरल प्राथमिकता 
युट्युब, टिकटक र फेसबुकबाट आम्दानी हुने व्यवस्था आएपछि धेरै सिर्जनाकर्ता मौलिक लोकभाका खोज्नुभन्दा छिटो लोकप्रिय हुने सामग्री बनाउनतर्फ केन्द्रित देखिन्छन् । त्यसैले, अहिलेका धेरै लोकगीतमा जीवन, समाज र संस्कृतिको गहिराइभन्दा बजारको आकर्षण बढी देखिन थालेको मुकारुङको भनाइ छ । प्रविधि आफैँमा समस्या होइन । तर, लोकगीतलाई त्यसको इतिहास, क्षेत्रीयता, भाषा र मौलिक भाकासहित संरक्षण गर्ने कि केवल एआई र सामाजिक सञ्जालका लागि पुनः उत्पादन गर्ने ? अहिलेको सबैभन्दा ठुलो चुनौती मान्छन् उनी ।

मौलिक भाका जोगाउने कसले ?
कुमार बस्नेत राज्यको सांस्कृतिक नीतिप्रति असन्तुष्ट देखिन्छन् । शिक्षा प्रणालीदेखि सञ्चार माध्यमसम्मले नेपाली भाषा, लोकसंस्कृति र मौलिक भाकालाई आवश्यक महत्व नदिएको उनको आरोप छ । कलाकारले मात्रै होइन, राज्य र आमनागरिक सबैले लोकपरम्परा जोगाउने साझा जिम्मेवारी लिनुपर्ने उनी बताउँछन् । ‘धर्म, भाषा, संस्कृति र लोकपरम्परा नै नेपालीको जीवनरेखा हो’, बस्नेत भन्छन्, ‘यी हराए भने नेपाली हुनुको अर्थ नै कमजोर हुँदै जान्छ ।’

आज डिजिटल प्लाटफर्मले विश्वभरका नेपालीलाई एउटै हत्केलामा जोडेको छ । एआईले संगीत निर्माणका लागि अवसर पनि दिएको छ । तर, यदि प्रविधि लोकसंस्कृतिको जगमाथि उभिएनन् भने भविष्यमा लोकगीत नाम मात्र रहने र लोकभाका इतिहासका पुस्तकमा मात्रै सीमित हुने खतरा बढ्दै जाने लोकसंगीतकर्मीको चिन्ता छ ।

लोकगीत जोगाउने जिम्मेवारी अग्रज कलाकारको मात्रै होइन । नयाँ पुस्ता, संगीत निर्माता, सांस्कृतिक संस्था र राज्य सबैको साझा दायित्व हो । नयाँ प्रविधि अपनाउनु आवश्यक छ, तर त्यससँगै मौलिक भाका, स्थानीय भाषा, समुदायको स्मृति र लोकजीवनको आत्मालाई पनि जोगाउन सक्नुपर्ने उनीहरू बताउँछन् ।

लोकगायक खड्ग गर्बुजाले नेपाली लोकसंगीतका मौलिक भाका संरक्षण गर्न कलाकार, श्रोता र सम्बन्धित निकाय सबैको साझा जिम्मेवारी हुनुपर्ने बताउँछन् । विशेषगरी सालैजो, झ्याउरे, रोइला, ख्यालीजस्ता परम्परागत भाकाको नाम मात्र प्रयोग गरेर त्यसको संरचना र आत्मा परिवर्तन गर्ने प्रवृत्तिले लोकसंगीतको मौलिक पहिचान संकटमा पारेको उनको भनाइ छ ।

उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) आफैँ समस्या होइन, यसको दुरुपयोग नै अहिलेको मुख्य चुनौती हो । एआई प्रयोग गरेर अरूका गीत नक्कल गर्ने, अनधिकृत रूपमा सार्वजनिक गर्ने र आर्थिक लाभ लिने प्रवृत्ति बढ्दै गएको भन्दै उनी यस्तो कार्य रोक्न तत्काल कानुनी नियमन आवश्यक ठान्छन् । उनी भन्छन्, ‘प्रविधिले आफैँ गीत बनाउँदैन, त्यसलाई प्रयोग गर्ने मानिसको नियतले परिणाम निर्धारण गर्छ ।’