परिवारका योग्य सदस्यलाई रोजगारी, भाई बहिनीको नि:शुल्क शिक्षा
सिरहाको गोलबजार-४ क्याम्पस चोक नजिक बिहीबार भएको प्रदर्शनमा घाँटीमा गोली लागेर मृत्यु भएका सिरहाको औरही गाउँपालिका-२ तुलसीपुरका करिब १७ वर्षीय गणेश यादवका परिवार र सरकारबिच ७ बुँदे सहमति भएको छ ।
सिरहाका सांसद्हरु बब्लु गुप्ता, शिवशंकर यादवसहित गएराती अबेर तुलसीपुर गाउँ पुगेका गृहमन्त्री सुधन गुरुङ् र मृतकका परिवारबिच सात बुँदे सम्झौता भएको हो । मृतकका बाबु रामवृक्ष यादव र गृहमन्त्री गुरुङले हस्ताक्षर गरेको सम्झौता अनुसार सरकार पक्षले सम्बन्धित परिवारले राखेका मागहरु यथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाे छ ।
सम्झौता अनुसार सरकारबाट सहिद घोषणा गर्ने प्रकृया तत्काल अघि बढाउने, मृतकका परिवारलाई नेपाल सरकारकातर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, गोलबजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उपर प्रचलित कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि तत्काल अगाडि बढाइने उल्लेख छ ।
त्यस्तै, मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरु प्रचलित कानुन बमोजिम यथाशिघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने, मृतक गणेश यादवको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क तथा आवास निर्माणका लागि आवश्यक पहल गर्ने सहमति भएको छ ।
सहमति अनुसार मृतकका भाई बहिनीको नि:शुल्क शिक्षा र नेपाल सरकारका तर्फबाट बाबुआमाको सरकारी अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था मिलाउने र मृतकको शनिबार बिहान १० बजे अन्तिम संस्कार गरिने उल्लेख छ । गोलबजारमा बिहीबार प्रदर्शनको क्रममा गोली लागेर गणेशको मृत्यु भएको दोस्रो दिन शुक्रबार दिउँसो गृहमन्त्री तुलसीपुर जाने थाहा पाएपछि स्थानीय बासिन्दा दिउँसो १ बजदेखि मध्यातसम्म पर्खिएका थिए ।
लहान र गोलबजारमा कर्फ्यु जारी
जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणको आधारमा आन्दोलन वा हुलदंगा भई शान्ति सुरक्षा भंग हुने देखिएको भन्दै बिहीबार दिउँसो २ र ४ बजेदेखि सिरहाको गोलबजार र लहान क्षेत्रमा जारी गरेको अनिश्चितकालीन कर्फ्यु अहिले पनि जारी छ । जिल्ला सुरक्षा समितिको बैठक बसेर अर्को निर्णय नहुन्जेलसम्म कर्फ्यु यथावत् रहेको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
अहिले पनि यहाँ स्थानीय हाटबजार, पसल पूर्णतः बन्द रहेका छन् भने मुख्य बजार क्षेत्रहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गोलबजार क्याम्पस चोकमा भएको झडपमा एक जनाको मृत्यु भएसँगै धनुषाको धनुषाधाम नगरपालिका-७ का करिब १८ वर्षीय सुवाष ठाकुर घाइते भएपछि आक्रोशित समूहले प्रदर्शनकारीहरुले सिरहा सुपर मार्केटद्वारा संचालित एबी मलसहित करिब एक दर्जन निजीघर, पसल, २० थान मोटरसाइकल र एउटा विद्युतीय टेम्पोमा आगजनी गरेका थिए । प्रदर्शनकारीको तर्फबाट भएको आक्रमणमा नेपाल प्रहरीका दुई डिएसपीसहित १५ र सशस्त्र प्रहरीका एक डिएसपीसहित सात गरी २२ जना सुरक्षाकर्मी घाइते भएका थिए ।
स्थानीय करिब ५७ वर्षीय कलाम खान निर्घात कुटपिटमा परेर घाइते भएका थिए । नेपाल प्रहरीका हबल्दार नागद परियारको दायाँखुट्टामा गोली लागेर घाइते भएपछि धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सिरहा प्रहरीले जनाएको छ । प्रहरीको खुट्टामा लागेको गोली कुन पक्षबाट लागेको हो भन्ने केही खुलेको छैन ।