दिल्लीका कप्तान रिषभलाई १२ लाख भारु जरिवाना

चेन्नईविरुद्ध निर्धारित समयमा २० ओभर बलिङ गर्न नसकेपछि दिल्लीका कप्तान रिषभ पन्तलाई कारबाहीस्वरूप भयो जरिवाना

मंगलबार, २० चैत, २०८०
डिजिटल संस्करण

इन्डियन प्रिमियर लिग (आइपिएल)ले दिल्ली क्यापिटल्सका कप्तान रिषभ पन्तलाई १२ लाख भारु जरिवाना तिराएको छ । १७औँ आइपिएलको आइतबार राति भएको चेन्नई सुपर किंग्सविरुद्ध दिल्लीले स्लोभ ओभर फ्याँकेको थियो । टोलीले निर्धारित समयमा २० ओभर बलिङ गर्न नसकेपछि दिल्लीका कप्तान पन्तलाई कारबाहीस्वरूप जरिवाना गराएको आइपिएलले जनाएको छ । 

दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित दर्ता गरेको थियो । चेन्नईले सिजनमा पहिलो हारको सामना गरेको छ । यस सिजनमा स्लो ओभर गर्ने टोली दिल्ली दोस्रो हो । आइपिएलको कोड अफ कन्डक्टमा नियमविपरीत जानेलाई न्यूनतम १२ लाख भारु जरिवाना राखेको छ । यसअघि चेन्नईविरुद्धकै खेलमा गुजरात टाइटन्सले स्लो ओभर गरेका कारण नै कप्तान सुभमन गिललाई पनि १२ लाख भारु जरिवाना तिराएको थियो । सो खेलमा चेन्नईले गुजरातलाई ६३ रनले हराएको थियो । 

धोनीले बनाए रेकर्ड 
चेन्नईका पूर्वकप्तान महेन्द्रसिंह धोनीले टी–२० फम्र्याटमा तीन सय खेलाडीलाई विकेट पछाडिबाट आउट पारेको रेकर्ड बनाएका छन् । दिल्लीविरुद्धको प्रतिस्पर्धामा उनले एक क्याच लिएका थिए । उनले तीन सय ६७ इनिङ्समा यो रेकर्ड राखेका हुन् । टी–२० फम्र्याटमा पाकिस्तानका कमरान अकमल दोस्रो स्थानमा छन् । उनले दुई सय ८१ इनिङ्समा दुई सय ७४ खेलाडीलाई आउट गरेका छन् । भारतकै दिनेश कार्तिकले तीन सय २५ इनिङ्समा दुई सय ७४ खेलाडीलाई विकेट पछाडिबाट आउट पारे । शीर्ष चारमा दक्षिण अफ्रिकाका क्विन्टन डिकक छन् । उनले दुई सय ९० खेलमा दुई सय ७० खेलाडीलाई आउट पारे । 

वानरको ६२औँ अर्धशतक
आइपिएलमा दिल्लीका पूर्वकप्तान डेभिड वानरले ६२औँ अर्धशतक बनाएका छन् । साथै, आइपिएलमा ६ हजार ५ सय रन पूरा गर्ने उनी पहिलो विदेशी खेलाडी बनेका छन् । वार्नरले समग्रमा टी–२० खेलमा एक सय १० पटक अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले वेस्ट इन्डिजका क्रिस गेलको नाममा रहेको रेकर्ड बराबरी गरे । आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरका विराट कोहलीको नाममा ५२ अर्धशतक इनिङ्स रहेका छन् । विराटले समग्रमा एक सय एक अर्धशतक बनाएका छन् । 

सुझावित समाचार