१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार २१:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आइसिसी अध्यक्ष नेपालमा, क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २१:१८:oo

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का  अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताएका छन्। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङसँग आज भेटवार्ता गर्दै आइसिसी अध्यक्ष बारक्लेले सीमित स्रोत र साधनका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए। उनले नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

राखेप सदस्यसचिव घिसिङले अध्यक्ष बारक्लेसँगको भेटवार्तामा खेल पूर्वाधारका विषयमा चासो व्यक्त गरेका थिए। भेटका अवसरमा उनीहरूबीच नेपालको क्रिकेटको अवस्था, सम्भावना र आइसिसीले नेपालको क्रिकेट विकासका लागि गर्न सक्ने सहयोगलगायत विषयमा छलफल भएको थियो। 

सदस्यसचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राखी राख्न प्रयासरत रहेको उल्लेख गर्दै पूर्वाधार विकासमा सरकारले चासो दिएर लगानी गरिरहेको बताए।

यस्तै, सदस्यसचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रंगशाला, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको आइसिसी अध्यक्ष बारक्लेलाई अवगत गराएका थिए।

उनले नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रूपमा आयोजना गर्ने यू–१९ महिला टी–२० विश्वकपका लागि आइसिसीबाट सहयोगका लागि आग्रह गर्दै विश्वकप आयोजनाका लागि स्वीकृति दिएकामा अध्यक्ष बारक्लेमार्फत आइसिसीलाई धन्यवाद दिए। 

घिसिङले अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप पुरुष टी–२० प्रतियोगिताका लागि आइसिसीले राम्रै सहयोग गरेको आफूले जानकारी पाएको उल्लेख गर्दै नेपालले पनि आइसिसीबाट यू–१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेको बताए। 

नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहने गरेको स्मरण गराउँदै उनले धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातावरण बनाइदिन आइसिसी अध्यक्ष बारक्लेसँग आग्रह गरेका थिए। यस्तै, नेपाललाई प्राविधिक पक्ष, खेल सामग्री, हाई पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगका लागि पनि उनले आग्रह गरे।

भेटमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशनबहादुर सिंह, सचिव पारस खड्कालगायत सहभागी थिए। (रासस)

ad
ad