मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १९ मंगलबार
  • Tuesday, 05 December, 2023
२०८० मङ्सिर ४ सोमबार ११:५६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘गाजामा मानवीय संकट रोक्न विश्वले तुरुन्त कदम चाल्नुपर्छ’ 

Read Time : < 1 मिनेट
२०८० मङ्सिर ४ सोमबार ११:५६:००

चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताएका छन्। 

‘गाजाको स्थितिलाई चाँडै शान्त पार्न र मध्यपूर्वमा चाँडोभन्दा चाँडो शान्ति पुनर्स्थापना गर्न मिलेर काम गरौँ,’ बेइजिङमा प्यालेस्टिनी प्राधिकरण, इन्डोनेसिया, इजिप्ट, साउदी अरब र जोर्डनका विदेशमन्त्रीहरूलाई उनले भने, ‘गाजामा मानवीय विपत्ति देखापरेको छ। त्यहाँको अवस्थाले विश्वका सबै मुलुकलाई असर गर्छ, यसले मानवीय भावनाको सही र गलत तथा मानवताको तल्लो अवस्थामाथि प्रश्न उठाउँछ, विश्व समुदायले यो त्रासदीलाई बढ्नबाट रोक्न प्रभावकारी उपायमार्फत तत्काल कदम चल्नुपर्छ।’

हमासले अक्टोबर ७ मा हमला गरेपछि इजरायलले गाजाको शासक हमासलाई नष्ट गर्ने वाचा गरेको छ। इजरायलमाथि हमासले गरेको अहिलेसम्मको सबैभन्दा भयानक उक्त हमलामा एक हजार दुई सय सर्वसाधारण मारिएका थिए। त्यस्तै हमासले दुई सय ४० जनालाई बन्धक बनाएको छ। 

इजरायलको लगातारको हवाई हमला र स्थल कारबाहीमा कम्तीमा १३ हजार मारिएको गाजास्थित हमास सरकारले बताएको छ। दुवै पक्षका मारिनेमा अधिकांश सर्वसाधारण छन्। चीनले आइतबार राति विदेशमन्त्रीहरूको प्रतिनिधिमण्डलको घोषणा गरेको थियो जसमा इस्लामिक सहयोग संगठनका महासचिव पनि संलग्न छन्। 

बेइजिङले हालको प्यालेस्टिनी–इजराइल संघर्षको न्यूनीकरणलाई प्रवर्द्धन गर्ने, सर्वसाधारणको सुरक्षा गर्ने र प्यालेस्टिनी मुद्दाको न्यायोचित समाधान गर्ने वार्ताको लक्ष्य रहेको बताएको छ। 

‘अरब र मुस्लिम मुलुकहरूको चीन असल मित्र र भाइ हो,’ विदेशमन्त्री वाङले भने, ‘हामीले सधैँ अरब र मुस्लिम मुलुकहरूको वैध अधिकार र हितको दृढताका साथ रक्षा गरेका छौँ, साथै प्यालेस्टिनी जनताको वैध राष्ट्रिय अधिकार र हित पुनर्स्थापित गर्ने प्रयासलाई सधैँ दृढताका साथ समर्थन गरेका छौँ।’