मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १५ शुक्रबार
  • Friday, 01 December, 2023
२०८० असोज ८ सोमबार १४:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दरबार हत्याकाण्डको अनुसन्धान र कारबाही प्रधानमन्त्री प्रचण्डले गर्नुपर्छ : सांसद शाही

Read Time : < 1 मिनेट
२०८० असोज ८ सोमबार १४:४७:००

राप्रपाका युवा नेता तथा जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले दरबार हत्याकाण्डको विषयमा अनुसन्धान गर्नुपर्ने बताएका छन्। 

गृहजिल्ला आएका शाहीले यो घटनाका विषयमा अहिलेका बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै अनुसन्धान अगाडि बढाएर  कारबाही गर्नुपर्ने बताएका हुन्। 

उनले पटक–पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई राजदरबार र मदन भण्डारी हत्याकाण्डको अनुसन्धान गर्न र कारबाही गर्न कसले रोकेको छ भन्दै प्रश्न गरे।

मुलुकको नेतृत्व गर्न अर्थमन्त्री बनाउन भन्दै भोट मागेर जितेपछि राजसंस्था ल्याउँछु भनेर बोल्नु जनतमको अपमान भएन र ? भन्ने पत्रकारको प्रश्नमा शाहीले व्यवस्था परिवर्तनपछि जनताको अवस्थामा कति परिवर्तन भयो भन्ने कुरा मुख्य बहसको विषय भएको बताए।

उनले भने, ‘चुनाव लड्दा म कुनै पार्टीको उम्मेदवार हाेइन।  साझा उम्मेदवार भए पनि मैले राप्रपाको हलोबाटै चुनाव जितेँ। राजसंस्था ल्याउँछु भनेर संसदमा बोल्नु जनमतको अपमान हाेइन। र, राष्ट्रको नेतृत्व गर्न असम्भव छैन। अर्थमन्त्री हुने चाहना नै थियो। तर भागमा खेलकुदमन्त्री पर्‍याे। त्यो स्वीकार गरिनँ।’ 

सांसद शाहीले जिल्लाको विकास गर्नु आफ्नो दायित्व भएकाले सामाजिक सञ्जालमा यति योजना र बजेट ल्याए भन्दै प्रचार गर्न जरुरी नरहेको बताए।

उनले भने, ‘जुम्लालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनु थियो। चिनाएँ। जिल्लामा जति पनि बजेट आएको छ। योजना परेका छन्। त्यो कसैको सम्पत्ति बेचेर अर्थात व्यक्तिगत लगानीमा आएको छैन। सबैको साझा पहल छ। सबै दल, नागरिक समाज, पत्रकार, सांसद सबैको भूमिकाले मात्रै जिल्लाको विकास सम्भव छ। अहिलेको बजेट पनि त्यसको परिणाम हो।’ 

जुम्ला विमानस्थलको विस्तार, विद्युतीकरण, कर्णाली राजमार्गको स्तरवृद्धि, वैकल्पिक राजमार्ग निर्माण र जुम्लाको कृषि वस्तुको उत्पादन वृद्धि र बजारीकरण गरी पाँच क्षेत्रमा आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ थियो।