
विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा दोस्रो हाफमा गोल खाँदै १-१ को बराबरी खेलेको हो । यससँगै दुवै टोली १३औँ चरणको खेलमा १-१ अंक बाँड्दै पहिलो राउन्डको लिगमा बिट मारेका छन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले स्पष्ट तीन अंकका लागि खेलेका थिए । सुरुवातबाट नै ललितपुरे टोली फ्रेन्ड्समाथि आक्रामक रणनीति अपनाउँदै खेलेको एपिएफले २७औँ मिनेटमा प्रदीप लामाको पासमा अग्रता निकालेको थियो ।
कप्तान नवीन लामाले पेनाल्टी बक्सबाहिर अनमार्क रहेका प्रदीपलाई दिएका थिए र उक्त अवसरलाई प्रदीपले गोलमा परिणत गर्न सफल भएका थिए । त्यसपछि पनि पहिलो हाफको खेल अवधिभर बारम्बार प्रयास गरेको एपिएफले थप गोल गर्न सकेन ।
दोस्रो हाफमा फ्रेन्ड्सले सुधारिएको प्रदर्शन गर्यो । ५२औँ मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काए । बाँकी समयमा पनि थप गोलका लागि प्रयास गरेको फ्रेन्ड्सबाट थप सफल हुन सकेन र दुवै टोलीले निर्धारित ९० मिनेटको खेल १–१ बराबरी खेल्दै अंक बाँडेका हुन् ।
यससँगै विभागीय टोली एपिएफले जारी लिगमा तेस्रो बराबरी खेलेको छ । एपिएफले १३ खेल खेल्दा १८ अंक जोडेको छ भने अर्को टोली फ्रेन्ड्सले समान १३ खेलबाट १५ अंक बनाएको छ ।
लिगमा शुक्रबार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेल एन्फा मुख्यालयमा न्युरोड टिम (एनआरटी) र थ्री स्टार क्लबबीच हुनेछ भने दोस्रो खेल दशरथ रंगशालामा हिमालयन शेर्पा र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।