
जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि एक सांसदलाई निष्कासन गरिएको छ। सांसदमा निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थित नभएका उनलाई मंगलबार संसदबाटै निष्कासन गरिएको हो।
गत जुलाईमा निर्वाचित योसिकाजु हिगासितानी अनिवार्य रूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवं अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि निजलाई जापानको माथिल्लो सदनले मंगलबार निष्कासन गरेको हो। सदनको हिजोको उक्त निर्णय आजदेखि लागू भएको छ।
गासी उपनामले चिनिने योसिकाजु ७० वर्षपछि जापानको संसदबाट निष्कासित हुने पहिलो सांसद भएका छन्। यसअघि सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमायाचना गर्न आदेश दिएको थियो, तर उनले त्यसको बेवास्ता गरेका थिए। ५१ वर्षीय उनको दलबाट दुईजना सांसद निर्वाचित भएका थिए।
दुबईमा बसोवास गरिरहेका उनी पूर्वव्यापारी हुन्। जापान फर्केमा उनी पक्राउ पर्ने बताइएकाे छ। उनले मानहानिको आरोपमा सोधपुछका लागि पक्राउ गर्न सक्ने बताएका छन्। जापानको सार्वजनिक प्रसारण संस्थामा परिवर्तनको अभियान चलाएको उनको दल एनएचके पार्टीका रूपमा परिचित छ।