मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण ४ बिहीबार
  • Friday, 14 August, 2026
२o७९ फाल्गुण ४ बिहीबार १७:४४:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

‘विश्वको समुद्री ताप उच्च बिन्दुमा’

जलवायु परिवर्तनको मापनका लागि महासागरीय तापक्रम वृद्धि प्रमुख सूचक हाे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ४ बिहीबार १७:४४:oo

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ। उक्त वर्षले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ।

अन्तर्राष्ट्रिय जर्नल एड्भान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित भएको चीन, संयुक्त राज्य अमेरिका र इटालीका १६ वटा इन्स्टिच्युटका २४ जना वैज्ञानिकको टोलीले गरेको अध्ययनले सामुद्रिक तापमानमा उच्च वृद्धि भएको देखाएको हो। 

‘सन् २०२१ को तुलनामा पृथ्वीको महासागरको माथिल्लो दुई हजार मिटरको भागले ठूलो मात्रामा ताप सोसेको छ। यो तापक्रमले १.५ लिटर पानी भएका ७० करोड केटल उमाल्न पर्याप्त हुन्छ,’ अध्ययनका लेखक तथा चाइनिज एकेडेमी अफ साइन्सेजअन्तर्गतको इन्स्टिच्युट अफ एटमोस्फेरिक फिजिक्सका अनुसन्धाता चेङ लिजिङले भने।

विश्वव्यापी तापको ९० प्रतिशतभन्दा बढी महासागरमा समाप्त हुने भएकाले जलवायु परिवर्तनको मापनका लागि महासागरीय तापक्रम वृद्धि एक प्रमुख सूचक हो। समुन्द्रभित्र गर्मी बढ्नु नै ग्लोबल वार्मिङको थप प्रमाण भएको वैज्ञानिकको विश्वास छ। 

सन् २०१७ देखि हरेक वर्ष समुद्री तापक्रम वृद्धिको रेकर्ड तोडिएको छ। विश्वव्यापी तापक्रम वृद्धिका लागि महासागरको ढिलो प्रतिक्रियाका कारण समुद्रको तापक्रमको प्रवृत्ति दशकौँसम्म कायम रहने चेङले उल्लेख गरे।

उनले भने, ‘तापमानको अलावा, अध्ययनले समुद्रको पानीको लवणताको पनि गणना गरेको थियो। अध्ययनले उच्च नुनिलोपन भएका क्षेत्रमा लवणतामा थप वृद्धि भएको देखाएको छ। यद्यपि, कम नुनिलो भएको क्षेत्रमा नतिजा ठीक विपरीत छ। लवणमा थप नुनिलोपन थपिन्छ भने ताजा पानी भएको क्षेत्र थप ताजा हुन्छ भन्ने प्रवृत्ति पनि सन् २०२२ मा रेकर्डकै उच्चस्तरमा पुगेको छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ।

अध्ययनअनुसार महासागरमा हुने तापक्रम वृद्धिले समुद्रको सतह बढाउँछ र शक्तिशाली आँधी र तुफानको रूपमा अधिक उग्र मौसमलाई निम्त्याउँछ। तिनीहरू कार्बन अवशोषित गर्न पनि कम कुशल हुन्छन्, जसले गर्दा अधिक मानव–उत्सर्जित कार्बन डाइअक्साइड वायुमण्डलमा रहन्छ र यसले विश्वव्यापी तापक्रमलाई बढाउँछ।

‘समुद्रको ताप र लवणतामा हुने परिवर्तनको बारेमा राम्रो जागरुकता र ज्ञान जलवायु परिवर्तनसँग जुध्ने कार्यको लागि एक आधार हो,’ चेङले अध्ययनको महत्वको व्याख्या गर्दै थपे। वैज्ञानिकले चिनियाँ संस्थान र अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासनले गत वर्ष रेकर्ड गरेको समुद्री तथ्यांक पनि अध्ययनमा सार्वजनिक गरेका छन्। रासस