
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप अहिले पनि क्यानको निलम्बनमा छन्, राष्ट्रिय खेलकुद परिषद् र न्यायाधिवक्ता कार्यालयले हाल स्वीकृति नदिएकाले उनलाई बन्द प्रशिक्षणमा नराखिएको क्यानको भनाइ
नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणबाट बाहिर राखेको छ । क्यानले २ फागुनमा हुने आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि शुक्रबार २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा पूर्वकप्तान लामिछाने बाहिर परेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्द तथा कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले सन्दीपलाई बन्द प्रशिक्षणमा राख्ने बताएका थिए । ‘सन्दीपजतिको खेलाडीलाई मौका दिनुपर्छ, हामी उनलाई बन्द प्रशिक्षणमा राख्छौँ,’ केही समयअघि चन्द र मल्लले नयाँ पत्रिकालाई बताएका थिए ।
तर, सिरिजका लागि २७ खेलाडी बोलाउँदा सन्दीपलाई बाहिर राख्नुको कारण देखाएको छ । सन्दीपमाथिको बलात्कार मुद्दा पूर्ण रूपमा नटुंगिएको र कानुनी झन्झट रहेको जनाउँदै क्यानले तत्कालका लागि बन्द प्रशिक्षणमा नबोलाएको कारण देखाएको छ । दुई साताअघि पाटनको उच्च अदातलले २० लाख धरौटीमा सन्दीपलाई थुनामुक्त फैसला सुनाएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँगै खेलविज्ञहरूले सन्दीपको मुद्दा नसकिएका कारण टोलीमा राख्न नहुने बताउँदा क्यान पछि हटेको हो ।
सन्दीपको करिअर
सन्दीपले सन् २०१८ को १८ अगस्टमा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनले सन् २०२२ को १७ जुलाईमा स्कटल्यान्डविरुद्ध अन्तिमपटक एकदिवसीय खेल खेले । एकदिवसीय खेलमा उनले ३० खेलमा २१ इनिङ्समा एक सय ७० रन बनाएका छन् । यसैगरी, सन् २०१८ को ३१ मेमा उनले आइसिसी विश्व–११ बाट प्रतिनिधित्व गर्दै वेस्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय टी–२० मा डेब्यु गरे । सन् २०२२ को १७ जुलाईमा उनले स्कटल्यान्डविरुद्ध अन्तिमपटक टी–२० खेले । सन्दीपले अन्तर्राष्ट्रिय टी–२० मा ४४ खेलबाट ८५ विकेट तथा एकदिवसीयमा ६९ विकेट लिएका छन् । सन्दीपले लिस्ट एमा ५४ खेलमा एक सय १५ विकेट हात पारेका छन् । टी–२० खेलमा उनले एक सय ३६ खेलमा एक सय ९३ विकेट लिएका छन् ।
शरदको पुनरागमन
३४ वर्षीय मध्यक्रमका ब्याट्सम्यान शरद भेसवाकर टोलीको प्रशिक्षणमा फर्किएका छन् । शरद पछिल्लो समय टोलीबाहिर रहँदै आएका छन् । बढ्दो उमेरसँगै युवा पुस्ताको आगमनपछि शरद टोलीमा स्थान बनाउन संघर्ष गरिरहेका छन् । प्रधानमन्त्री कपमा औसत प्रदर्शन गरेका शरदलाई छनोट समितिले टोलीमा बोलाएको छ । टोलीमा स्थान बनाउन शरदले प्रशिक्षणमा निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । यसैगरी, शरद भेसवाकर, सन्दीप जोरा, अभिनाश बोहरा, कुशल मल्ल, अनिल शाह, विक्रम सोब र भुवन कार्की टोलीको प्रशिक्षणमा फर्केका छन् ।
प्रशिक्षकको टुंगो लागेन
टोलीको घोषणा गरे पनि क्यानले मुख्य प्रशिक्षकको टुंगो लगाउन सकेको छैन । गत मंसिरमा मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका थिए । भारतीय नागरिक प्रभाकरले चार महिनाभित्रै नेपाली टोलीबाट अलग्गिने निर्णय लिएका थिए । यसपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन छ । क्यानका कार्यवाहक सचिव मल्लले शनिबार नै मुख्य प्रशिक्षकको टुंगो लगाउने जानकारी दिएका छन् । ‘शनिबारसम्म प्रशिक्षकको टुंगो लाग्नेछ,’ मल्लले भने, ‘खेलाडीले आइतबारबाट प्रशिक्षण सुरुवात गर्नेछन् ।’ क्यानले २४ प्रशिक्षकबाट अन्तिम पाँचजनालाई ‘सर्ट लिस्ट’मा राखेको छ । जसमा पूर्वप्रशिक्षक डेब ह्वाटमोरदेखि भारतीय मोन्टी देसाईसम्म छन् । मोन्टी र ह्वाटमोरसँगै क्यानले न्युजिल्यान्डका ग्लेन पोकनल, दक्षिण अफ्रिकाका रुसेल डोमिंगो र श्रीलंकाका धम्मिका प्रसादसँग अन्तर्वार्ता लियो ।
नेपाली टोली
कुशल भुर्तेल, आसिफ सेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, गुलसन झा, करण केसी, सोमपाल कामी, शरद भेसवाकर, ललितनारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अभिनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम सोब, भुवन कार्की, अंकित सुवेदी
निलम्बन फुकुवा भएको छैन : मल्ल
क्यानका कार्यवाहक सचिव प्रशान्तले सन्दीप क्यानकै निलम्बनबाट फुकुवा नभएकाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा नबोलाएको बताएका छन् । ‘सन्दीप हाल क्यानको निलम्बनमा छन् । त्यसैले उनलाई टोलीमा बोलाएका छैनौँ, यद्यपि हामी सन्दीपसँग सकारात्मक छौँ,’ मल्लले सन्दीपलाई बन्द प्रशिक्षणमा नराख्नुको कारण खुलाए ।
नाबालिका बलात्कारको अभियोगमा २० असोजमा सन्दीप अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । ५ भदौमा तिलगंगास्थित एक होटेलमा नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध २१ भदौमा प्रहरीवृत्त गौशालामा जाहेरी परेको थियो । जाहेरी पर्दा सन्दीप नेपाली टोलीसँगै केन्यामा थिए । केन्याबाटै सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जमैका पुगेका थिए । लिग चलिरहँदा उनी नेपाल फर्किए । यसबीच क्यानले सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गर्यो ।
धरौटीमा बाहिरिएपछि सन्दीपलाई बन्द प्रशिक्षणमा राख्न क्यानले राखेप र महान्यायाधिवक्ताको कार्यालयमा राय र सुझाव पठाएको छ । यी दुवै निकायबाट आएको सुझावअनुसार क्यानले सन्दीपको हकमा थप निर्णय गर्नेछ । साथै, सन्दीपको विषयमा क्यानको बोर्ड बैठकले निर्णय लिने मल्लले बताए । ‘हामी राय–सुझाव राखेप र महान्यायाधिवक्ताको कार्यालयमा पठाएका छौँ । साथै, बोर्ड बैठकमा पनि निलम्बन फुकुवाको विषय हुनेछ,’ उनले भने, ‘सबैबाट सकारात्मक सन्देश आए सन्दीप प्रशिक्षणमा फर्कनेछन् ।’
सोसल मिडियामा सन्दीपको प्रतिक्रिया
क्यानले घरेलु मैदानमा आयोजना हुने त्रिदेशीय एकदिवसीय सिरिजका बन्द प्रशिक्षणमा बोलाएका खेलाडीको सूचीमा आफू नपरेपछि सन्दीपले सोसल मिडियामा प्रतिक्रिया दिएका छन् । ‘प्रत्येक क्षणका लागि आभारी छु । उज्यालोअघि सधैँ अँध्यारो हुन्छ,’ सन्दीपले आफ्नो स्टाटस लेखेका छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘प्रत्येक क्षणका लागि आभारी छु । उज्यालोअघि सधैँ अँध्यारो हुन्छ’ भन्दै स्टाटस लेखेका हुन् ।
अंकित, सूर्य र मौसम ‘क्लोज क्याम्प’मा
क्यानले प्रारम्भिक प्रशिक्षणमा २८ खेलाडीलाई बोलाउँदा तीनजनाले पहिलोपटक स्थान बनाएका छन् । ओपनर अंकित सुवेदी, स्पिनर सूर्य तामाङ र मौसम ढकालले पहिलोपटक राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षण गर्ने मौका पाएका छन् । १८ वर्षीय अंकित प्रदेश १ बाट खेल्ने गर्छन् । अंकितले प्रधानमन्त्री कपमा एक शतक बनाएका थिए । २१ वर्षीय सूर्यले नेपालको यू–१९ टोलीबाट खेलिसकेका छन् । उनले घरेलु क्रिकेटमा बागमती प्रदेश र विराटनगर सुपर किंग्सको प्रतिनिधित्व गरेका थिए ।
नेपाल टी–२० लिगमा सूर्यले आठ खेलमा कुल १२ विकेट लिएका थिए । यसैगरी, विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफमा आबद्ध मौसमले पहिलोपटक प्रशिक्षणमा स्थान बनाएका हुन् । मौसमले प्रधानमन्त्री कपमा ६ खेलबाट १५ विकेट लिएका थिए । यसैगरी, नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सबाट उत्कृष्ट प्रदर्शन गरे ।