१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७९ पौष २५ सोमबार ०७:४०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रेसुंगा विमानस्थलमा ‘प्रुभिङ फ्लाइट’

पाँच दशकदेखिको गुल्मेलीको सपना पूरा, नियमित उडानको आशा

Read Time : > 1 मिनेट
२०७९ पौष २५ सोमबार ०७:४०:००

रेसुंगा नगरपालिका–१०, सिमिचौरकी ४९ वर्षीया वसन्ता पुनले विमानस्थल निर्माण हुने भनेर १५ वर्षअघि आफ्नो घर र बारी छाडिन् । सातजनाको परिवारसहित घरबारी छाड्न पुनलाई सजिलो थिएन । तर, जिल्लाकै गौरवको योजना बन्ने भएपछि पुनसहितका १७ घरपरिवारले घरवास र बारी छाडे ।

शिलान्यास भएको लामो समयसम्म विमानस्थल अलपत्र परेपछि विस्थापित परिवारसँगै गुल्मेलीहरूको मन अमिलो बन्यो । तर, आइतबार आफ्नो थातथलोमा जहाज अवतरण हुँदा उनका आँखामा खुसीका आँसु बगे । ‘आज आफ्नै आँखाअगाडि जहाज बस्दा खुसी नहुने कुरै भएन । बीचमा काम रोकिएपछि आस हराएको हो,’ उनले भनिन्, ‘नेता बोलेको सही नै लाग्यो, नियमित जहाज आउँछ भन्ने विश्वास छ ।’

आँखाअगाडि जहाज बसेपछि रेसुंगा नगरपालिका–११ की ६१ वर्षीय छमकला केसी पनि दंग परिन् । उनले आकाशमा उडेकोबाहेक नजिकबाट जहाज देखेकी थिइनन् । आइतबार साढे १० बजेदेखि विमानस्थलमा जहाजको प्रतीक्षामा थिइन् केसी । ‘सुरुमा डर मानेँ । नजिकै बसेर जहाजबाट आफ्ना नेता झरेर हात हल्लाएपछि मन साहै्र खुसी भयो,’ उनले भनिन्, ‘नेता मिलेपछि राम्रो हुने रहेछ ।’ 

 पाँच दशकभन्दा बढीको सपना
रेसुंगा विमानस्थल निर्माणको परिकल्पना ०३७ सालमा भए पनि ०६३ सालमा शिलान्यास भएको थियो । ०७१ सालबाट नियमित काम भएर ०७५ सालमा धुले धावनमार्गमा परीक्षण उडान हुँदै अहिले ‘प्रुभिङ’ उडान गरिएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब ३३ करोड खर्च भएको छ ।

विमानस्थल निर्माण समितिका संस्थापक अध्यक्ष ७१ वर्षीय जयप्रसाद अर्यालका अनुसार ०३७ सालमा तत्कालीन निर्माण तथा यातायातमन्त्री कासीनाथ गौतमले विमानस्थलका लागि तोक आदेश गरे । तर, काम अगाडि बढेन । त्यसको साढे दुई दशकपछि ०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेको विमानस्थलले ०७१ सालबाट मात्रै निर्माणमा निरन्तरता पायो ।

स्थानीय १७ परिवारको बसाइँ सारिएको छ । ४१ जनाको जग्गा अधिकरण गरेर एक सय १६ रोपनी विमानस्थल निर्माण गरिएको संस्थापन अध्यक्ष अर्यालले जानकारी दिए । जग्गा अधिकरण, प्राप्ति र मूल्य निर्धारणमा थुपै्र चुनौती समितिले खेपेका छन् ।  

 चार वर्षपछि ‘प्रुभिङ फ्लाइट’
गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा आइतबार ‘प्रुभिङ फ्लाइट’ भएको छ । क्याप्टेन सन्दीप शाह नेतृत्वको टोलीले तारा एयरको ट्विनअटर जहाज काठमाडौंबाट रेसुंगा विमानस्थलमा अवतरण गराएका हुन् । धुले उडान भएको चार वर्षपछि पक्की धावनमार्गमा ‘प्रुभिङ फ्लाइट’ गरिएको हो । ‘प्रुभिङ फ्लाइट’को खर्च रेसुंगा नगरपालिकाले व्यहोर्ने निर्णय भएको छ । करिब ५० मिनेटको उडानपछि रेसुंगा विमानस्थलमा अवतरण गरिएको क्याप्टेन सन्दीप शाहले बताए । हावाको गति केही बढी भए पनि जहाज उडानका लागि चाहिने सबै पूर्वाधार राम्रो र व्यवस्थित रहेको उनले बताए ।

 नियमित उडानमा जोड
‘प्रुभिङ फ्लाइट’का लागि गुल्मीका  नेताहरू रेसुंगा विमानस्थलमा उपस्थित थिए । गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले विमानस्थलमा जहाज नियमित हुनेबित्तिकै समृद्धिका बाटाहरू खुल्ने बताए । त्यस्तै, पूर्वमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जहाज चढ्ने गुल्मेलीको वर्षौँको चाहना पूरा भएको बताए । त्यस्तै, पूर्वमन्त्री रामकुमारी झाँक्रीले जिल्लाको विकासमा कसैले राजनीतिक पूर्वाग्रह राख्न नहुनेमा जोड दिइन् ।