१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १३:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

रेसुंगा विमानस्थलमा ताराको ‘प्रुभिङ’ उडान सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:१५:oo

गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरले सफलतापूर्वक प्रमाणीकरण (प्रुभिङ) उडान सम्पन्न गरेको छ। रेसुंगा नगरपालिकासँगको सहकार्यमा तारा एअरले आइतबार प्रमाणीकरण उडान गरेको हो।

आज बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्विनअटर–४०० वायुयान रेसुंगा– १० स्थित सिमीचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा १२ बजे अवतरण भएको थियो। यसअघि पनि २०७५ ज्येष्ठ २५ गते तारा एयरले नै यहाँ टेस्ट फ्लाइट गरेको थियो।

उक्त वायुयानलाई तारा एयरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सञ्जीव श्रेष्ठले उडान भरेका तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। उनका अनुसार जहाजमा गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेश सभा सदस्य धनेन्द्रबहादुर कार्की, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलगायतका राजनीतिक व्यक्तित्व, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीसहित तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू रहेका थिए।

प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार प्रुभिङ उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया थालिनेछ। नियमित उडानका लागि भने कम्तीमा दुईदेखि तीन साता लाग्नेछ। यो विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुंगा नगरपालिकासँगको समन्वयमा उडान गर्ने भएको हो।

दुर्गममा नियमित उडान भर्न समस्या

दुर्गम क्षेत्रमा उडान गर्ने वायुसेवा कम्पनीहरूलाई राज्यबाट कुनै पनि किसिमको प्रोत्साहन नहुँदा सधैँ यी क्षेत्रका उडानहरू अनियमित हुने गरेका छन्। हवाई इन्धन अत्यधिक महँगो हुनु, दुईतर्फी यात्रुको अभाव, छिटो मौसम परिवर्तनका कारण गन्तव्य नपुगी उडान फर्कनुपर्ने अवस्था तथा राज्यको तर्फबाट कुनै पनि किसिमको सहुलियत नहुँदा यी क्षेत्रका उडान महँगो पर्न गएकाले यात्रु तथा वायुसेवा दुवैलाई आर्थिक भार पर्ने गरेको छ।

 

दुर्गम क्षेत्रमा बनेका कतिपय विमानस्थलहर पनि पूर्ण रूपले भौतिक पूर्वाधारयुक्त छैनन्। ती विमानस्थलमा हुनुपर्ने आवश्यक नेभिगेसन उपकरण, यात्रु टर्मिनल भवन तथा तारबार नहुँदा सुरक्षा जोखिम बढेको छ भने विमानस्थल तथा इनरुटको मौसमको जानकारी दिने आधुनिक उपकरण नहुँदा उडानका लागि पर्याप्त जानकारीको अभावमा जोखिमपूर्ण उडान गर्नुपर्ने अवस्था रहेको छ। राज्यले दुर्गम क्षेत्रको उडान नियमित गर्न अल्पकालीन र दीर्घकालीन योजना नबनाउने हो भने यो क्षेत्रको उडान सधैँका लागि बन्द हुने अवस्था आउनेमा स्थानीयको चिन्ता छ।

 

 

ad
ad