१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रेसुंगा विमानस्थलमा जहाजको टिकट पाउनै मुस्किल

१४ सीट क्षमताको जहाजमा ५४ भन्दा बढी टिकटको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४o:oo

सम्झौताअनुसार हप्ताको दुईपटक अनिवार्य उडान नहुँदा यात्रु मर्कामा

गत शुक्रबार गुल्मीको रेसुंगा विमानस्थलबाट पहिलो व्यावसायिक उडान भयो । चार दशकको जहाज चढ्ने सपना पूरा भएपछि गुल्मेली नागरिक खुसी नहुने कुरै भएन । अर्को उडान ठीक एक हप्तापछि आज भयाे ।

नेपाल वायुसेवा निगमले रेसुंगाको लागि साताको दुईपटक उडान अनुमति पाएको छ। निगमसँग नगरले एउटा उडान सम्झौता गरेको छ। निगमका अनुसार मंगलबार र शुक्रबार उडानको योजना छ। अहिले शुक्रबार मात्र उडान भएको छ। निगमले यात्रुको चाप हेरेर बिस्तारै दुई उडान गर्ने जनाएको छ। 

नगरपालिकाले यात्रुको चाप बढेकाले दुई उडानको लागि निगमसँग समन्वय गरिरहेको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए। हप्तामा एकपटकको मात्र उडानले नागरिकलाई जहाजको टिकट पाउनै मुस्किल परेको छ।

रेसुंगा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले भने, ‘शुक्रबारको उडानका लागि ५४ जनाभन्दा बढीले नगरमा टिकटका लागि आग्रह गरेका थिए । जहाजको सिट क्षमता १४ जनाको मात्रै छ ।  मंगलबार उडान नभएका कारण नगरले नागरिकलाई जवाफ दिन सकिरहेको छैन ।’

मालिका गाउँपालिका– ८ का दीपक केसीले जहाजलाई चाहिने यात्रु हुँदा पनि उडान रोक्नु दुःखद भएको बताए । उनले तीन साताअघि टिकट बुक गर्दा पनि नपाइने अवस्था भएकाले सबै कुराको व्यवस्थापन गर्न जरुरी रहेको बताए । ‘जहाज हेर्ने मात्र भइयो । टिकट पाउन नसकिने रहेछ,’ उनले भने, ‘सम्झौताअनुसार हप्तामा दुई दिन नै जहाज सञ्चालन नहुँदा यात्रु मर्कामा परे ।’ 

समाचार प्रभाव : नगरद्वारा व्यवस्थापन सुधार

नयाँ पत्रिका दैनिकमा केही दिनअघि रेसुंगा विमानस्थलमा भद्रगोल व्यवस्थापन शीर्षकको समाचार प्रकाशन भएको थियो । समाचारको प्रभावले विमानस्थलको व्यवस्थापन सुधार भएको छ । प्राधिकरणबाट विमानस्थलको व्यवस्थापनको काम नभएपछि बिहीबार रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आफैँ विमानस्थल पुगेर व्यवस्थापन सुधार र दुर्घटना जोखिम न्यूनीकरणका काम गरेका छन् । 

टावरमा एयर ट्राफिक कक्षका लागि आवश्यक टेबुल, कुर्सी, यात्रुका लागि प्रतीक्षालय, शौचालयमा पानी व्यवस्थापन र यात्रुहरू प्रस्थान र आगमनका लागि सहज व्यवस्थापन गरिएको मेयर पन्थीले बताए । 

त्यस्तै उडानको वेला सम्भावित जोखिम न्यूनीकरणका लागि दमकल र एम्बुलेन्सको व्यवस्थापन गरिएको पन्थीले बताए । उनले विमानस्थल व्यवस्थापनका लागि एक महिनाअगाडि नै आवश्यक समन्वय र ध्यानाकर्षण भए पनि केही ढिला भएका कारण नगरले सक्ने कामहरू आफैँ गरेको बताए । उनले नागरिकको जहाज चढ्ने चाहना अत्यधिक भएकाले हप्तामा दुईपटक उडानका लागि थप पहल भइरहेको जानकारी दिए ।


 

ad
ad