१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:३५:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सेयर कमिसन १० प्रतिशतले घट्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:३५:oo

सेयर लगानीकर्ताको प्रत्येक कारोबारबाट धितोपत्र बोर्ड र ब्रोकरले लिने कमिसनदर १० प्रतिशतले घटाउन अर्थमन्त्री वर्षमान पुनले स्वीकृति दिएका छन् । धितोपत्र बोर्डको कमिसन घटाउने प्रस्तावलाई अर्थमन्त्री पुनले सदर गरेका हुन् । बोर्डको आगामी बैठकले ब्रोकर कमिसन घटाउने विषयमा निर्णय गर्ने उच्च सम्भावना छ ।

एक वर्षअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा ब्रोकर कमिसन घटाउने विषयमा अध्ययन भएको थियो । सो समितिले हाल कायम कमिसन दर बढी भएको भन्दै १० प्रतिशतका दरले घटाउन सुझाव दिएको थियो । ‘अध्ययन समितिको प्रस्तावअनुसार नै ब्रोकर कमिसन घटाउने गरी स्वीकृत भएको छ । त्यसलाई आउँदो बोर्ड बैठकबाट पास गरेपछि कार्यान्वयनमा लैजाने हो,’ बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले भने ।

बोर्डका अनुसार सेयर कारोबारमा रहेको अधिकतम ०.४० प्रतिशतको माथिल्लो सीमालाई घटाएर ०.३६ प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशतलाई पनि घटाएर ०.२४३ प्रतिशत कायम गर्ने प्रस्ताव छ । यसअघि १० पुस ०७७ मा ०.४० प्रतिशतदेखि ०.२७ प्रतिशतसम्म कमिसन दर निर्धारण गरिएको थियो । यो व्यवस्थाअनुसार हाल ५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क तोकिएको छ । त्यस्तै, २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.३० प्रतिशत र एक करोडमाथिको कारोबारमा ०.२७ प्रतिशतसम्म कमिसन ब्रोकरले लिन पाउँछन् ।   

बोर्ड बैठकले नयाँ दर लागू गरेपछि भने ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३०६ प्रतिशत कमिसन लाग्नेछ । त्यस्तै, २० लाखदेखि एक करोड रुपैयाँसम्म ०.२७ प्रतिशत र एक करोडभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन तोकिने बोर्डले जनाएको छ ।

 धितोपत्र बोर्डको कमिसन पनि १० प्रतिशतले घट्ने 
धितोपत्र बोर्डले प्रत्येक कारोबारमा लिँदै आएको कमिसन पनि १० प्रतिशतले घट्ने भएको छ । बोर्डले सेवा शुल्कबापत ०.६ प्रतिशत नियमन शुल्क लिने गरेकोमा ०.५४ प्रतिशत मात्रै पाउने भएको हो । लगानीकर्ताले गर्ने कारोबारबापत धितोपत्र बोर्डले प्राप्त गर्दै आएको कमिसन ७ प्रतिशत घटाएको छ । बोर्डले लगानीकर्ताले गर्ने कारोबार रकमको ०.०१५ प्रतिशत कमिसन बोर्डले प्राप्त गर्दै आएको छ । अब प्रस्तावअनुसार कार्यान्वयनमा आएमा बोर्डले ०.०१४ प्रतिशत कमिसन प्राप्त गर्नेछ । 

अर्थमन्त्री पुनले तीनवटै निकायसँग गत २६ फागुनमा पुँजी बजार सुधारका लागि कार्ययोजना मागेका थिए । धितोपत्र बोर्डले पुँजी बजारसँग सरोकार राख्ने निकायसँग सुझाव मागेर अर्थ मन्त्रालयमा पेस गरेको थियो । उक्त सुझावमा ब्रोकर कमिसन घटाउनुपर्ने विषयलाई बोर्डले प्राथमिकताका साथ पेस गरेको थियो । लगानीकर्ताले पनि ब्रोकर संख्या थपिएपछि कमिसन घटाउनुपर्ने माग राख्दै आएका थिए ।

तर, अहिलेको बजारलाई हेरेर ब्रोकर कमिसन घटाउन नहुने भन्दै ब्रोकर कम्पनीहरूले भने विरोध जनाएका छन् । नेप्से सूचक दुई वर्षदेखि माथिल्लो विन्दुमा पुग्न नसकेको र औसत दुई अर्बभन्दा बढीको कारोबार हुन नसकेको अवस्थामा ब्रोकर कमिसन घटाउन नहुने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए । 

 नेप्से सूचक १४ अंकले बढ्यो 
साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक १४ दशमलव ३३ अंकले बढेको छ । अघिल्लो साताभरिको कारोबारमा ६ अंकले घटेको नेप्से सूचक बढेर एक हजार नौ सय ८० दशमलव २७ विन्दुमा आइपुगेको छ । 
सरकारले ब्रोकर कमिसन घटाउने निर्णय गरेसँगै सेयर बजारमा सुधार आएको लगानीकर्ता ताराप्रसाद फुँयालले बताए । उनले भने, ‘लामो समयदेखि उठाउँदै आएको विषयमा सम्बोधन हुन लागेको छ, यसले लगानीकर्तालाई उत्साहित बनाएको बजारबाटै देखियो ।’

आइतबार तीन सय आठ कम्पनीको ६८ लाख ७८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ । फाइनान्स समूहको सूचकमा लगानीकर्ता आकर्षित भएका छन् । नाफा कमाएका कम्पनीहरूको सेयर किनबेच बढेको छ । जसमा सर्वाधिक कारोबार गर्ने कम्पनीमा पोखरा फाइनान्स रहेको छ । कम्पनीको सेयर मूल्य नौ दशमलव शून्य २ प्रतिशतले बढ्दा सबैभन्दा धेरै कम्पनीको १३ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, मल्टी प्रपोज फाइनान्स कम्पनीको करिब ११ करोड रुपैयाँको कारोबार भएको छ । पिपुल्स पावर लिमिटेडको नौ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । गोर्खाज फाइनान्स लिमिटेडको आठ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । 

सर्वाधिक बढ्ने कम्पनीमा पोखरा फाइनान्स, प्रोगे्रसिभ फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, वेस्ट फाइनान्स कम्पनी र किसान लघुवित्त वित्तीय संस्थाको पाँच दशमलव ८३ प्रतिशतदेखि नौ दशमलव शून्य २ प्रतिशतसम्म बढेको छ । 

ad
ad