१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

न्यौपानेलाई तीन वर्ष कैद र २५ करोड जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:o९:oo

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समिति अध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ । आइतबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य रामबहादुर थापाको इजलासले सम्पत्ति शुद्धीकरण कसुरमा फैसला तथा सजाय निर्धारण गरेको हो ।

न्यौपानेमाथि २५ चैतमै कसुर कायम भए पनि आइतबार सजाय सुनाइएको हो । यसै मुद्दाका अन्य आठ प्रतिवादीले भने सफाइ पाइसकेका छन् । न्यौपानेले कलेजको नाममा हुनुपर्ने १२ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको भेटिएको थियो । उनले कलेजको रकमबाट आफू र सञ्चालक समितिका अन्य सदस्यलाई तलब, भत्ता, गाडी र अन्य सुविधासमेत दिएको पुष्टि भएपछि सजाय सुनाइएको विशेषले जनाएको छ । यसरी ठूलो रकमले आफूसमेतलाई लाभ दिलाएको विशेषको ठहर छ । साथै, उनले आफ्नो आयस्रोतका आधारमा कर नतिरेको भेटिएको छ । 

कसुर कायम गर्दा विशेषले गरेको संक्षिप्त आदेशअनुसार ‘हक नपुग्ने संस्थाको सम्पत्ति कुनै अभिलेख नराखी निजी सम्पत्तिका रूपमा परिणत गरेको पाइएको, आर्जित सम्पत्तिको स्रोत खुलाउन नसकेको, आफ्नो कार्यकालमा सञ्चालक समितिबाट निर्णय गराई संस्थाको स्वामित्व नै विवादमा रहेको अवस्थामा उल्लिखित कलेजको स्रोतबाट’ उनले विभिन्न शीर्षकमा खर्च गरेको भेटिएको थियो । कलेजका सञ्चालक समिति अध्यक्ष रहेका न्यौपानेले कम्पनी रजिस्ट्रारको कार्यालयमा आफ्नो नाममा कलेजको नाम मिल्ने गरी प्राइभेट कम्पनी दर्ता गरेका थिए ।  

न्यौपानेले विभिन्न बैंकमा आफ्नो नाममा खाता खोली कलेजको रकम स्थानान्तरण गरेको मिसिल संलग्न प्रमाणले पुष्टि गरेको विशेषको संक्षिप्त फैसलामा छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २७ माघ ०७८ मा न्यौपानेसमेत नौविरुद्ध मुद्दा दायर गरेको थियो । यो मुद्दाका प्रतिवादीहरू रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लवराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमकुमारी केसी, इल्या दीक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा उपाध्यायलाई भने विशेषले सफाइ दिएको थियाे । 
 

ad
ad